दार्चुला । नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने भएको छ । यसअघि ३ उपाध्यक्ष भनिएकोमा सहभागीको सुझावअनुसार विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने निर्णय भएको उपमहासचिव बिष्णु पौडेलले बताउनुभयो । यसअघि १३ पदाधिकारी रहेकामा अब १५ पदाधिकारी हुने भएका छन् । त्यस्तै यसअघि विधानबाट हटाइएको उपमहासचिव पद फिर्ता भएको छ । तर, यसअघि दुई उपमहासचिव रहेकामा अब एकमात्र उपमहासचिव हुनेछन् ।
नेकपा एमालेले ७० वर्षे उमेर हद कायम राख्दै त्यसको थप व्याख्या गरेको छ । ७० वर्ष पूरा भएपछि कार्यकारी पदबाट बिदा हुने कि नहुने भन्ने विधान महाधिवेशनका सहभागीहरूको प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले ७० वर्ष पूरा नहुँदसम्म कुनै पनि पदमा उम्मेदवार बन्न पाउने बताउनुभयो । कुनै व्यक्ति कार्यकारी पदमा निर्वाचित भएपछि बीचमै ७० वर्ष पुगेमा पनि उसले सो कार्यकाल भरी जिम्मेवारी निर्वाह गर्ने पौडेलले जानकारी दिनुभयो । उदाहरणका लागि अध्यक्ष केपी शर्मा ओली फेरि अध्यक्ष निर्वाचित भएमा यसबीचमा ७० वर्ष पूरा भए पनि उहाँले पूरै ५ वर्ष अध्यक्षको जिम्मेवारी सम्हाल्न पाउँनेछन् ।
यस्तै नेकपा एमालेले पार्टीको लोगोमा परिमार्जन गरेको छ । विधान महाधिवेशनबाट पार्टीले यसअघि प्रयोग गर्दै आएको लागोमा परिमार्जन गरेको हो । अब एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा थियो । अब यो लोगो नै पार्टीको आधिकारिक हुने पौडेलले बताउनुभयो ।
नेकपा एमालेको केन्द्रीय सदस्य हुनका लागि तोकिएको योग्यता संशोधन भएको छ । यसअघि तोकिएको पार्टी सदस्य भएको १५ वर्ष हुनुपर्ने भन्ने प्रावधान हटाएर १० वर्ष कायम गरिएको छ । त्यस्तै केन्द्रीय सदस्य बन्नका लागि केन्द्रीय निकायको सदस्य भएको वा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भएको व्यक्ति योग्य हुने भएको छ । त्यस्तै केन्द्रीय विभागको सचिव वा सदस्य, जिल्ला कमिटीको पदाधिकारी वा दुईपटक सदस्य भएको तथा प्रदेश कमिटी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्यको उम्मेदवार बन्न योग्य हुनेछन् ।
पौडेलले विधान महाधिवेशन हलमा जानकारी दिँदै महिला, दलित, सीमान्तकृत र अपांगता भएका व्यक्तिको हकमा ७ वर्ष सदस्य भएको र एकपटक जिल्ला कमिटी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्यको लागि योग्य बन्नेछ । उपमहासचिव पौडेलले सहभागीको सुझावलाई ध्यान दिँदै नयाँ पुस्तालाई पनि नेतृत्वमा विकास गर्न ४५ सदस्यीय स्थायी कमिटी बनाइने बताउनुभयो । यसअघि ४१ सदस्य भनिएको थियो ।
नेकपा एमालेले केन्द्रीय कमिटीबाहेक मातहतका कमिटीमा रहने सदस्यहरूको सिलिङ तोकेको छ । ठूला र भद्दा कमिटीहरूले गर्दा पार्टी संगठन लथालिंग भएको भन्दै विधान महाधिवेशनबाट सदस्यको सिलिङ तोकिएको उपमहासचिव पौडेलले बताउनुभयो । अब एमालेका सबै कमिटीको आधार संख्या ५० हुनेछ । प्रदेश कमिटीमा ५० सदस्य आधार रहने र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्रबराबर ५ जनाको दरले थपिने पौडेलले बताउनुभयो ।
उदाहरणका लागि कर्णाली प्रदेशमा आधार संख्या ५० हुनेछ भने १२ निर्वाचन क्षेत्रबाट पाँच पाँच जनालाई थपेर ११० जनाको कमिटी बन्नेछ । जिल्ला कमिटीमा पनि आधार संख्या ५० राखेर प्रदेशसभा निर्वाचन क्षेत्रबाट १५ जनाको दरले थपिनेछन् । यो हिसाबले एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा अब एमालेको जिल्ला कमिटी ८० सदस्यीय हुनेछन् । पालिका कमिटीको हकमा पनि ५० आधार संख्या रहने र प्रत्येक वडाबाट ५ जनाको दरले थपिनेछन् । अब त्योभन्दा बढी संख्यामा कमिटी गठन हुन नपाउने पौडेलले बताउनुभयो ।
एमालेको केन्द्रीय कमिटी २२५ सदस्यीय रहनेछ । सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने व्यवस्थासमेत विधानमै राखिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया