सरकारले कालापानी, लिपुलेकमा गरेन घरपरिवार सूचीकरण

दार्चुला । राष्ट्रिय जनगणनाका लागि सुरपरिवेक्षक पठाउनै आनाकानी गर्दा मुलुकको नयाँ ‘चुच्चे नक्सा’ मा परेका कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन सकेन । पहिलो चरणको सूचीकरणका लागि उक्त क्षेत्रमा जान नेपालबाटै बाटो नभएको र भारतको बाटो भएर जानका लागि सरकारले नअह्राएको भन्दै जिल्ला तथ्यांक कार्यालयले सुपरिवेक्षक नै नपठाएको बताएको छ ।

दार्चुलाको व्यास गाउँपालिका–१ को छाङरु र तिंकरमा घरपरिवार सूचिकरण भएपनि त्योसँगै जोडिएको भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन । ‘घरपरिवार सूचीकरण हुन सकेन, अब समन्वय भएमा मूल गणना होला एकैचोटि,’ केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डिराज लामिछानेले भन्नुभयो, ‘त्यसका लागि कूटनीतिक पहल सुरु गर्ने भनेका छौं । त्यसको पहल परराष्ट्र मन्त्रालयले गर्छ । यता अन्य विधि तयारी गर्दै गर्नेछौं ।’ मूल गणनासँगै घरपरिवारको विवरण लिन सकिने उहाँले बताउनुभयो, केहि दिन पहिले लिपुलेक, कालापानीमा जनगणना गछौँ भनेर सरकारले प्रचारवाजी गरेपनि त्यो अनुसार तयारी र गतिविधि भने अगाडी बढाएको देखिदैन ।

दार्चुलाका दुई नगरपालिका र सात गाउँपालिकामा दुईवटा स्थानीय जनगणना कार्यालय छन् । जिल्लाभरी ४९ जना सुपरिवेक्षक खटाइएका छन् । एक सुपरिवेक्षकको भागमा चारवटा जति गणना क्षेत्र परेको छ । ‘चुच्चे नक्सामा परेको क्षेत्रमा नेपाली भूमि भएरै जान सुपरिवेक्षकका लागि बाटो भएन । असुरक्षाका कारण हामीले त्यता सुपरिवेक्षक नखटाएका हौं, दार्चुला जिल्ला जनगणना कार्यालय प्रमुख पदमराज पाण्डेले भन्नुभयो, नेपाली भूमिमा नेपालबाटै पुग्ने बाटो नभएसम्म गणनाको लगत संकलन सजिलो छैन ।

राष्ट्रिय जनगणना पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण सोमबार सकिँदै छ । २० दिनदेखि खटिँदै आएका सुपरिवेक्षकले प्रत्येक घरमा बस्ने एकै भान्सामा खानपान गर्ने परिवारको मुलीसँग परिवारको विवरण सोध्छन् । घर वा अन्य प्रकारका घरको प्रयोग कसरी भएको छ ? कृषियोग्य जग्गाजमिन र परिवारले पालन गरेको पशुपन्छी कति छन् ? परिवारले सरकारी अनुदानअन्तर्गत आवासीय घर निर्माण गरेको छ वा छैन ? घरका सदस्यमध्ये कति जनाको नाममा बैंक वा वित्तीय संस्थामा खाता छ वा छैन ? परिवारमा प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका व्यक्ति छन् वा छैनन् ? बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधा लिएको छ वा छैन ? जस्ता विवरण लिनुपर्छ ।

यी प्रश्नको विवरण लिन देशभरिका ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् । विभागका निर्देशक लामिछानेका अनुसार हालसम्म ५० लाख घरपरिवारको सूचीकरण विवरण प्राप्त भएको छ । ‘अन्तिम विवरण आउन अझै केही दिन लाग्नेछ,’ उहाँले भन्नुभयो । देशभरिमा ७० लाख घरपरिवार रहेको पूर्वानुमान गरिएको छ । दोस्रो चरणमा हुने मुख्य जनगणना कार्यका निम्ति करिब ३९ हजार गणक तथा कर्मचारी खटिने छन् । जनगणनामा शरणार्थीको परिचयपत्र लिएकाहरू समेत छुटेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?