दार्चुला । असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ। बडा दसेँ पर्व सुरु हुनुअघि पितृ (दिवङ्गत आफन्त) लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो। पितृपक्षमा पितृलाई तर्पण र पिण्ड दिने श्राद्ध गर्ने परम्परा छ।
दशैँ, तिहार र छठजस्ता महान् चाडवाडअघि पितृलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराको कर्मकाण्डका ज्ञाता बताउँछन्। वर्षका अन्य बेला गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने गरिने कामनाजस्तै दशैँ, तिहार र छठपर्वको मुखमा पितृहरुलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको हुनसक्ने ब्राह्मणहरु बताउछन् । हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यसपक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ। पितृपक्ष विसर्जनसँगै अब बडादशैँ पर्वको चहलपहल सुरु भएको देखिँदो छ।
औँसी श्राद्ध र पितृ विसर्जन
सोह्र श्राद्धको अन्तिम दिन, आश्विन कृष्ण पक्ष औँसीलाई सर्वपितृ मोक्ष औँसी भनिन्छ । यस दिन अगावैका तिथिहरूमा तिथि थाहा भएका पितृहरूको श्राद्ध गरियो भने आजका तिथिमा चाहिँ तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्र श्राद्धको सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ ।
यस दिनमा श्राद्ध गर्दा सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता छ । शुक्ल पक्ष वा कृष्ण पक्ष जुनैसुकै तिथिमा आफन्तहरू बितेका भएपनि प्रतिपदादेखि औंसीसम्मका पन्ध्र दिनमा गरिने श्राद्धलाई पितृ मोक्ष औंसीमा श्राद्ध गर्न सकिन्छ । पूर्णिमा तिथिमा गर्नुपर्ने श्राद्ध पनि यसै औँसीमा गर्ने परम्परा छ । हिन्दू परम्परा अनुसार छोरा तथा नातिले आफ्ना पितृहरूको श्राद्ध गर्नुपर्ने चलन छ । पितृ पक्षको अन्तिम दिन भएकाले वर्षभरि कुनै कारणले श्राद्ध गर्न असम्भव भएको खण्डमा अमावश्या औंसीका दिन श्राद्ध गरिन्छ ।
पितृहरूको उद्धारका लागि घर–घर र तीर्थस्थलहरूमा श्राद्ध गरी पितृहरूको सम्झना गर्ने धार्मिक प्रचलन छ । सर्वपितृ मोक्ष औंसीमा पनि अन्य श्राद्ध कर्ममा झैँ पितृहरूका नाउँमा श्राद्ध तर्पण गरिन्छ । श्राद्ध गर्नाले पितृहरूले आफ्ना सन्तानलाई ऋणमुक्त गरिदिने तथा चित्त शुद्ध गराउने मान्यता छ । दसैँ–तिहार लगायत नेपालीहरूका मुख्य चाडपर्वका अगाडि आउने पितृ पक्षमा पितृहरूको सम्झना र सम्मान गरिन्छ ।
सोह्र श्राद्धको अन्तिम दिन सर्वपितृ मोक्ष औंसीलाई पितृ विसर्जन गर्ने दिन भनिन्छ । यो औंसीमा श्राद्ध सम्पन्न गरेपछि मानिसहरू महान चाड बडादसैँको तयारीमा लाग्ने गर्छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया