दार्चुला । हिन्दू नेपालीहरुको महान चाड बडादशैं विहिबारदेखि शुरु भएको छ । दशैंको पहिलो दिन घटस्थापनासंगै बडादशैं शुरु भएको हो । दशैं शुरु भएसंगै दार्चुला, बैतडी लगायत सुदूरपश्चिमका जिल्लाहरुमा चहलपहल बढेको छ ।
देशका विभिन्न ठाउँमा घरघरमा जमरा राखेर घटस्थापना गर्ने चलन रही आएको भएपनि दार्चुला र बैतडी सहित सुदूरपश्चिममा सामूहिक रुपमा मन्दिरहरुमा जमरा राख्ने र नबरात्रा बस्ने चलन रही आएको मालिकार्जुन मन्दिर मैखोलीका भण्डारी गोबिन्दराज जोशीले जानकारी दिनुभयो । विहिबार बाजागाजा सहित नबजात्रा बस्ने भक्तजनहरु भन्दिरमा गएको र सोहि अवसरमा मन्दिरमै बिधिपुर्वक सामुहिक जमरा राखिएको उहाँले बताउनुभयो । मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन बर्षौं पहिलादेखि शुरु भएको र यसले सामाजिक सद्भावको विकास गरेको उहाँको भनाई छ ।
सोही चलन अनुसार जिल्लाका सबैजसो शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राखिएको छ । दार्चुलाको मालिकार्जुन, लटिनाथ, हुनैनाथ लगायत दर्जनौँ शक्तिपिठहरुमा सामुहिक जमरा राखिएको छ । बैतडीको त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली, कफलाशैनी, फाल्ङासैनी लगायतका भगवती मन्दिरहरुमा सामूहिक रुपमा जमरा राखिएको छ । यस्तै महारुद्र, उदयदेव, सिगास, दोगडाकेदार लगायतका मन्दिरहरुमा पनि सामूहिक रुपमा जमरा राखिएको भक्तजनहरुले बताएका छन् । दशैं सामाजिक सद्भावको पर्व भएकाले यो समयमा सामूहिक रुपमा मन्दिरमा जमरा राख्ने चलन रही आएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताउनुभयो ।
देवीदेवताका मन्दिरहरु जमरा राखेर सामूहिक रुपमै पूजाआजा गर्ने चलन रही आएको छ । घटस्थापनाका दिन राखिएको जमरालाई धेरै जसो ठाउँमा अष्टमीका दिन र केहि ठाउँमा दशैंका दिन काट्ने चलन रही आएको छ । जमरा राखिएका मन्दिरमा रातमा समेत जाग्राम बसेर पूजाआजा गर्ने चलन रही आएको छ । जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै जमरा लगाइने गरिन्छ । दशैंको अवसरमा नवरात्री उपसाना गरेर पूजाआजा गर्ने चलन रही आएको छ ।
दशैंको समयमा सामूहिक रुपमा पूजापाठ गरिने भएकाले घर बाहिर भएका, बसाईसराई गरेर गएकाहरु पनि फर्कने गरेका छन् । यसले गर्दा गाउँघरमा रमाइलो हुने गरेको छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्म चारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय मान्यता छ । दशैंपर्वलाई असत्यमाथि सत्यको बिजयउत्सबका रुपमा मनाउने गरिन्छ ।
भैरबनाथ मन्दिरमा छ लाखका मुर्ती चढाइयो
लेकम गाउँपालिका वडा नम्बर ६ सिरोडामा अवस्थित भैरबनाथ मन्दिरमा घटस्थापनाको अवसरमा छ लाख मुल्य बराबरका मुर्ती चढाइएको छ । भारतको जयपुरबाट ६ लाख मूल्य बराबरका मुर्तीहरु ल्याएर सोमबार मन्दिरमा पुर्याइएको थियो ।
स्थानीय चन्दादाता र देश विदेशमा बस्ने सहयोगी दाताहरुको आर्थिक सहयोगमा खरीद गरिएका मुर्तीहरु घटस्थापनाको शुभ साइतमा विशेष पुजाआजासहित मन्दिरमा चढाइएको हो । भारतबाट दार्चुला सदरमुकाम खलंगासम्म ल्याइएको थियो । खलंगाबाट बाजागाजासहित मन्दिरसम्म मुर्ती पुर्याइएको मन्दिरका भण्डारी गणेशसिंह खत्री र पतर्या मदन खत्रीलाई अद्धित गर्दै शिक्षक नबल खत्रीले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया