दार्चुला । भारत र नेपाल प्रहरीबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न एकजुटका साथ अघि बढ्ने सहमति भएको छ । भारतको नयाँ दिल्लीमा तीनसम्म चलेको बैठकमा नेपालतर्फबाट सशस्त्र प्रहरी बल र भारततर्फबाट सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बीच उक्त कार्यममा सहमति जुटेको हो ।
नयाँ दिल्लीमा तीन दिन चलेको दुई देशको बैठकपछि सीमा विषयमा समन्वय राख्ने १२ बुँदे सहमतिसहित सामूहिक तस्वीर पनि लिइएको छ । साथै, सहमतिअनुसार अब दुई देशका कमाण्डरले सीमा सुरक्षमा देखिने अपराध नियन्त्रणक लागि सूचना आदानप्रदान गरिरहनेछन् । वर्षैपिच्छे सीमा विषयमा हुने गतिविधिबारे बैठकमा यस वर्ष कोरोना महामारीका कारण दुई देशबिचको बैठक केही ढिलाइ हुन गएको थियो । तर, कोरोना केही साम्य भएलगत्तै दुई देशबिच बैठक बसेर छलफल गरिसकेको छ ।
दार्चुलाको तुइँन प्रकरण र सीमाबारे भएन छलफल
नयाँ दिल्लीमा दुई देशका सुरक्षा निकायबिच सीमामा देखिने अपराध न्यूनिकरणका विषयमा पहल भए पनि दार्चुलामा एसएसबीले तुइँन काँटेपछि बेपत्ता भएका जयसिंह धामीबारे भने बैठकमा केही प्रसंग ननिकालिएको बताइएको छ । अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पीयाधुरा तथा बेपत्ता जयसिंहको विषयमा छलफल नै नभएको स्रोतले जनाएको छ । मुख्य विषयमा कुराकानी नगरेरै सुरक्षा निकायबिचको बैठक सकिएको हो ।
दार्चुलाको तुइँन प्रकरणपछि गृहमन्त्रालयले छानविन समिति गठन गर्यो । समितिले एसएसबीकै संलग्नातामा धामी बेपत्ता भएको प्रतिवदेन मन्त्रालयलाई बुझाइदियो । त्यसपछि मन्त्रालयले भारतलाई त्यसबारे स्पष्टीकरण माग्यो । तर, अहिलेसम्म भारतले तुइँन प्रकरणबारे स्पष्टीकरण दिएको छैन । न्याय त टाढाको कुरा सरकारले घोषणा गरेको १० लाख राहत समेत पीडित परिवारसम्म पुगेको छैन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया