कांग्रेशबाट दिलेन्द्र बडू मन्त्री बन्ने पक्का, आजै सपथ ग्रहण

दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषदलाई पूर्णता दिन लाग्नुभएको छ । स्रोतका अनुसार मन्त्री नियुक्त गर्नुअघि शितलनिवास पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ।

आज थप गर्न लागिएका मन्त्रालयमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई पनि समेट्न लाग्नुभएको छ । पौडेल पक्षबाट दिलेन्द्रप्रसाद बडू र मिनेन्द्र रिजाल मन्त्री बन्ने तयारीमा हुनुहुन्छ । पौडेल पक्षलाई रक्षा र कानुन मन्त्रालय दिने तयारी देउवाको छ। बडूलाई पौडेल र रिजाललाई महामन्त्री शशांक कोइरालाले मन्त्री बनाउनुपर्ने बताउनुभएको हो ।

यसअगाडि पौडेलले आफूहरूलाई कम्तिमा ३ मन्त्रालय दिइनुपर्ने माग प्रधानमन्त्री देउवासँग राख्नुभएको थियो । तर देउवाले दुई मन्त्री मात्र दिन सकिने बताएपछि पौडेल पक्ष दुई मन्त्रालय पाएपनि सरकारमा जाने भएको हो। पौडेल पक्षबाट तेजुलाल चौधरी पनि मन्त्री हुने चर्चा थियो। यस्तै अहिले कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनाउने तयारी प्रधानमन्त्रीको रहेको स्रोतले जानकारी दिएको छ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मीलाई पठाउने तयारी छ। रेग्मी सभापति देउवानिकट हुनुहुन्छ । पूर्वमहामन्त्री सिटौला पक्षबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी छ। भीमसेनदास प्रधान पनि मन्त्रीका लागि आकांक्षी छन्। सिटौला पक्षलाई युवा तथा खेलकूद मन्त्री दिने तयारी देउवाको छ। मन्त्री नियुक्त गर्ने बेलासम्म यी नामहरू हेरफेर पनि हुनसक्ने स्रोत बताउँछ।

कांग्रेसले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि आफैँसँग राखेको छ। यो मन्त्रालय प्रधानमन्त्री देउवाले आफैँसँग राख्ने तयारी गर्नुभएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रबाट २ जना मन्त्री बनाइससक्नुभएको छ । अरू मन्त्रालय प्रधानमन्त्री देउवाले आफैँसँग राख्नुभएको छ ।

यसबीचमा राजनीतिक दल सम्बन्धी अध्यादेश पनि सरकारले ल्याएको थियो। केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पनि दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याउँदा दुई दल विभाजन भएका थिए। त्यो अध्यादेशअनुसार नेकपा एमाले विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बन्यो भने जनता समाजवादी पार्टी विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ।

दल विभाजनपछि ती दलका सांसदलाई दल रोज्न २१ दिनको समय दिइएको थियो। सरकारले ल्याएको त्यो अध्यादेश निस्कृय बनाएपछि मात्रै अहिले मन्त्रिपरिषद विस्तार गर्न लागिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश खारेज भइसकेको छ। पछिल्लोपटक कांग्रेस नेता नारायण खड्का परराष्ट्र मन्त्री नियुक्त हुनुभएको थियो । त्यसबेला मन्त्रीको सपथसम्बन्धी कानुनी प्रश्न खडा भएको थियो। त्यसले पनि केहीदिन मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो।

गत असोज ११ मा बसेको मन्त्रिपरिषद बैठकले सपथ सम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश गर्न स्वीकृति दिइसकेको छ। सत्तारूढ दलहरूबाट मन्त्री हुनेको नाम आएपछि आज मन्त्री नियुक्त गर्ने र अपरान्ह ४ बजे मन्त्रीहरूको सपथ गराउने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?