दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगाको तिकंरखेडास्थित प्रेमसिंह बुढाथोकीको घरमा प्रहरीले छापा हानेपछि ठूलो रकमसहित एक दर्जन जुवाडे पक्राउ परेका छन् । घरभित्र जुवा खेल भइरहेको सूचनाको आधारमा छापा हान्दा जनप्रतिनिधिसहितका जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोलीले जुवाघरमा छापा हान्दा जुवाखालबाट दुई लाख ३७ हजार ३९७ रकमसहित एक दर्जन जुवाडे पक्राउ परेको बताइएको छ । प्रहरीले दशै तिहारको पूर्वसन्ध्यामा जुवा घरमा छापा हानेको हो । पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन् । प्रहरी अधिकारीहरुलाई पक्राउ परेका जुवाडेहरुको परिचय खुलाउन अनुरोध गर्दा जुवाडेहरुले आफ्नो बेइज्जत हुने भन्दै नाम गलत बताउन सक्ने भएकोले नागरिकतासंग नाम र उमेर जुधाएर (टेलि गरेर) वास्तविक परिचय जानकारी भएपछि मात्रै सार्वजनिक गर्न सकिने जवाफ प्राप्त भएको छ ।
प्राप्त सूचना अनुसार जुवाखालमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरु, राजनीतिक दलका नेता कार्यकर्ता र व्यापारी रहेको बताइएको छ । दार्चुला सदरमुकाम खलंगामा विगतदेखि नै जुवाखेल हुने गरेको छ । प्रहरीले लामो समयदेखि निगरानी गर्दैै आएको र विस्वस्त सूचनाको आधारमा आइतबार छापा हानेको बताइएको छ । जुवाडेहरुसंग सोधपुछ तथा अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ । स्रोतका अनुसार खलंगा बजारको अन्य घर र पशलहरुमा समेत जुवाखेल हुनेगरेको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया