दार्चुला । दार्चुला सदरमुकाम खलंगाको तिंकरखेडास्थित प्रेमसिंह बुढाथोकीको घरबाट आइतवार दिउँसो जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका १२ जनामाथि मुलूकी अपराध संहिता २०७४ अनुसार जुवातास खेल्न खेलाउन नहुने कसुरमा मुद्धा दर्ता गर्ने तयारी भइरहेको छ । मुद्धा दर्ता किताबमा चढि सकेको र १० बजेपछि दर्ता गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो । दार्चुला जिल्ला अदालतबाट सोमबार म्याद थप गरि अनुसन्धान थालिने उहाँको भनाई छ ।
प्रहरीले सार्वजनिक गरेको दशैँ तिहार लक्षित सुरक्षा योजना अन्तर्गत विस्वस्त सूचनाका आधारमा तिंकरखेडास्थित बुढाथोकीको घरमा छापा हान्दा नेता, व्यापारीसहित १२ जनालाई जुवाखालबाट पक्राउ गरिएको छ । जुवाखालबाटै दुई लाख ३७ हजार ३९७ रुपैयाँ, ११ थान मोबाइल सेट, १३ गड्डी तास, ७ थान खाली पर्स, ६ थान कुर्सी, ४ थान स्टुल, १ थान काठको टेबुल, १ थान गलैँचा, २ थान प्लेजर, १ थान कार्पेट बरामद गरिएको छ । पक्राउ परेकाहरुको नाम अहिलेसम्म प्रहरीले सार्वजनिक गरेको छैन् । उनीहरुको नाम नागरिकतासँग भिडाउने काम भइरहेको हुदा छिट्टै सार्वजनिक गरिने बताइएको छ ।
मुलूकी अपराध संहिता अनुसार पहिलो पटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिना कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई १ वर्ष सम्म कैद र ५० हजार जरिवाना हुनेछ भने त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।
दार्चुला सदरमुकाम खलंगामा विगतदेखि नै जुवाखेल हुने गरेको छ । प्रहरीले लामो समयदेखि निगरानी गर्दैै आएको र विस्वस्त सूचनाको आधारमा आइतबार छापा हानेको बताइएको छ । जुवाडेहरुसंग सोधपुछ तथा अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ । स्रोतका अनुसार खलंगा बजारको अन्य घर र पशलहरुमा समेत जुवाखेल हुनेगरेको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया