दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका जोड्ने पारिवगर मकरीगाड सडकखण्डमा मर्मत तथा निर्माणको काम यहि असोज ३१ गतेदेखि हुने भएको छ । विगत लामो समयदेखि पारिवगर मकरीगाड सडकखण्ड अन्तरगत अपिहिमाल गाउँपालिका वडा नम्बर ५ तिम्लामा पहिरोका कारण अवरुद्ध सडकको निर्माण कार्य असोज ३१ गते देखि सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
पारिवगर मकरीगाड सडकखण्ड अन्तरगत अपिहिमाल गाउँपालिका वडा नम्बर ५ तिम्लामा पहिरोका कारण अवरुद्ध सडक खुलाउन अपिहिमाल गाउँपालिका गाउँकार्यपालिकाले गत भदौ ३१ गते नै निर्णय गरेको भएपनि स्थानीयहरुसंग पटकपटक छलफल गर्दा समेत सहमती नजुटेपछि असोज २३ गते प्रहरी प्रशासनसंग छलफल गरेर सडक निर्माणको काम गर्ने निर्णय गरिएको बताइएको छ । अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल, उपाध्यक्ष उर्मीला बोहरा, प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशी, जिल्ला प्रहरी प्रमुख, सडक डिभिजन कार्यालय बैतडीका कार्यालय प्रमुख र वडा नम्बर ५ का वडाअध्यक्ष दिलिपसिह धामीसहित स्थानीय बुद्धिजिविहरुबिच भएको छलफल पछि असोज ३१ गतेदेखि निर्माण कार्य सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
दार्चुलाको अपिहिमाल गाउँपालिकालाई सडकमार्गसंग जोड्ने एकमात्र पारिवगर मकरीगाड सडकखण्ड अवरुद्ध भएपछि यात्रुहरुलाई समस्या भइरहेको छ । अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीसम्म सडकमार्गको पहुँच अझैपनि पुगेको छैन् । मकरीगाडसम्म सडक सञ्चालन भएपनि पहिरोका कारण विगत केहि महिनायता सडक अवरुद्ध भएपछि अपिहिमालबासीले पारिबगरसम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । अपिहिमालको केन्द्र जोड्नका लागि निर्माणाधिन पारिवगर मकरीगाड खण्डेश्वरी सडकबाट वर्तमान सरकारले बजेट कटौती गरेपछि स्थानीयहरु आक्रोशित बनेको अपिहिमालका स्थानीय योगेन्द्र धामीले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया