विजया दशमीः बिहान १०ः०२ मिनेटमा टीकाको उत्तम साइत

दार्चुला । आज विजया दशमी मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर मनाइँदैछ । आज टीकाको उत्तम साइत १० बजेर दुई मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विजया दशमीमा साइत खोजेर टीका लगाउनेका लागि बिहान १० बजेर २ मिनेटको साइत शुभ रहेको जनाएको छ ।

यद्यपि आज दिनभर नै टीका ग्रहण गर्न मिल्ने समितिले जनाएको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । आज मान्यजन, अग्रज र आफूभन्दा ठूला व्यक्तिबाट दुर्गा भवानीको प्रसादको रुपमा टीका र जमरा लगाउने र आशीर्वाद लिने चलन छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तीको प्रतीकका रुपमा मनाइने विजयादशमी दशैँको महत्त्वपूर्ण दिन हो । यस्तै आज बिहान ७ बजेर एक मिनेटमा तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराउने साइत छ । तुलजा भवानीलाई बिहान ८ बजेर ३२ मिनेटमा स्थिरासन गराइने साइत रहेको समितिले जनाएको छ ।

विजया दशमीले नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्नेछ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा देशविदेशमा रहनुभएका सबैमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले विजया दशमीले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको हो।

उहाँले कोरोना महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दशैँ पर्व मनाउनका लागि पनि सबैमा आग्रह पनि गर्नुभएको छ।

दशैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसादस्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेषरूपमा मनाउने चाड भएको उल्लेख गर्दै उहाँले नकारात्मक प्रवृत्तिका विरुद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशमी पर्वको विशेष महत्त्व रहेको जनाउनुभएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?