दार्चुला । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जीप गएराति रेसुङ्गा नगरपालिका १० अन्तर्गत पाँचरातेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा मुसिकोट नगरपालिका २ जलजलेका ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षकी राधिका थापा र मुसिकोट नगरपालिका ३ चुँदारीकी १९ वर्षकी सङ्गिता सुनार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराईले जानकारी दिनु भएको छ । उनीहरुको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा गएराति नै ज्यान गएको हो । जीप अनियन्त्रित भइ सडकबाट ५ सय मिटर लत खसेको प्रहरीले जनाएको छ ।
यसैबिच दशैँ सुरु भएसँगै दुर्घटना बढेका छन् । पछिल्लो पाँच दिनमा मात्रै दुर्घटनामा परेर कम्तिमा ५५ जनाको ज्यान गएको छ । मुगुमा मंगलबार भएको दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो भने सोमवार कास्कीको घान्द्रुकमा भएको दुर्घटनामा आठ जनाको ज्यान गएको थियो । तीन दिन पहिले अछाममा ४ जनाको मृत्यु भएको थियो । मंगलबार राती बैतडीमा दुर्घटनामा परेर एक युवकले ज्यान गुमाउनुभएको छ । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा हिजो एक पुरुषको ज्यान गएको छ । हरेक वर्षको चाडपर्वमा यस्ता दुर्घटना हुने गरेका छन् ।
चाडपर्वको समयमा यात्रुको आवतजावत धेरै हुने गरेकाले र यही समयलाई व्यवसायीले कमाउने राम्रो सिजनको रुपमा लिने गरेकाले चाडबाडको समयमा दुर्घटनाका घटना धेरै हुने गरेका ट्राफिक प्रहरीले जनाएको छ । यसरी गाडी दुर्घटना हुनमा अरु पनि थुप्रै कारण भएको विज्ञले बताएका छन् । क्षमताभन्दा धेरै यात्रु बोक्दा, उच्च गतिमा गाडी चलाउँदा, लामो दूरीमा पनि एउटै चालकले गाडी चलाउँदा दुर्घटनाको जोखिम हुने गरेको उनीहरुको भनाइ छ । यस्तै सडकको जीर्ण अवस्था, पहिरो खस्ने, जाँडरक्सी खाएर गाडी चलाउने जस्ता कारणले पनि दुर्घटना हुने गरेको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया