दार्चुला । मौलिक जरोकिलो पार्टी, सुदुरपश्चिम प्रदेश समितिले जयसिंह धामीको न्यायको माग गर्दै पाँच बुँदे माग सहित नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूलाई ज्ञापनपत्र बुझाएको छ । गृहजिल्ला दार्चुलाको भ्रमणमा रहनुभएका मन्त्री बडूलाई मौलिक जरोकिलो पार्टीका प्रदेश सदस्य एवम् शैल्यशिखर नगर संयोजक तोयराज जोशीले ज्ञापनपत्र बुझाउनुभएको हो ।
ज्ञापनपत्रमा जयसिंह धामीको न्यायको लागि गठित छानबिन समितिको प्रतिवेदन अस्पष्ट रहेको उल्लेख गरिएको छ । जयसिंह धामी बेपत्ता हुनुमा एसएसबीको संलग्नता छ भने निरन्तर हुने गरेको एसएसबीको ज्यादती विरुद्ध सरकारको तर्फबाट कडा प्रतिवाद हुनुपर्ने माग गरिएको छ । विदेशी प्रहरीले निर्दोश नागरिकको हत्या गर्ने र नेपाल सरकारले १० लाख दिएर मुख टाल्न खोज्ने हो भने नेपाली जनता सार्वभौमसत्ता सम्पन्न राष्ट्रका नागरिक होईन सिकार आरक्षका जनावर जस्तै हुन्छन्, ज्ञापनमा भनिएको छ, जयसिंह धामीका परिवार अझै पनि न्यायको प्रतीक्षामा छन् । दोषीलाई कारबाही गर्न आवश्यक कदम चालियोस् ।
पीडित व्यक्ति वैदेशिक रोजगारीको क्रममा थिए । उनका आश्रित परिवारलाई हातमुख जोर्न समस्या छ । पीडित आश्रित परिवारलाई स्थानीय निकाय मार्फत रोजगारीको व्यवस्था गरियोस् भनेर माग गरिएको मौलिक जरोकिलो पार्टीका प्रदेश सयोजक खिमानन्द जोशीले बताउनुभयो । शिलान्यास भएको ३ बर्षसम्म झोलुंगे पुल निर्माण अलपत्र छोड्ने ठेकेदारलाई कारबाहीको साथै यथाशीघ्र झोलुंगे पुल निर्माण गर्न समेत माग गरिएको छ ।
दुहुँ र व्यास गाउँपालिका लगायतको स्थानहरुमा नेपाल तर्फबाट जाने बाटो छैन। भारतको बाटो प्रयोग गर्दा एसएसबीको ज्यादती भोग्नुपर्ने अवस्था छ । बाटोको अभावमा अत्यावश्यक वस्तुको अभाव भोग्नुपरेको छ यसर्थ खलंगा–तिंकर सडक खण्डलाई छुट्टै राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गरि शिघ्र निर्माण गर्न माग गरिएको जोशीले बताउनुभयो । कोरोना संक्रमणको कारण विदेशमा रोजगारी गुमाएका युवाहरूलाई स्वदेशमै उद्यमीको रुपमा स्थापित गर्न सुदुरपश्चिम प्रदेशमा “स्टार्ट अप हेल्प डेस्क“ स्थापना गरेर आधारभुत तालिम र सहुलियतपूर्ण कर्जा सहज व्यवस्थापन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।
पढ्नुहोस मन्त्री बडूलाई बुझाइएको ज्ञापनपत्र

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया