दार्चुला । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बोलाएको पूर्ण बैठक अर्थात फुल कोर्टमा १४ न्यायाधीश सहभागी नहुने भएका छन् । एजेन्डाबारे छलफलै नगरि प्रधानन्यायाधीशले बैठक बोलाएको भन्दै न्यायाधीशहरुले बहिष्कार गर्ने निर्णय गरेका हुन् ।
फुल कोर्ट बैठक बहिष्कार गर्ने निर्णय गरेका सर्वोच्चका १४ जना न्यायाधीशले आज बिहान ११ बजेदेखि प्रधानन्यायाधीशका कामकारबाहीबारे आफ्नो छलफललाई निरन्तर दिने भएका छन् । छलफल नसकिएसम्म आज तोकिएका इजलासमा नबस्ने उनीहरूले बताएका छन् । न्यायाधीशहरू हिजो छलफलमा रहेकै बेला प्रधानन्यायाधीश जबराले आज १ बजे बारका पदाधिकारीसँगै फुल कोर्ट बस्ने सूचना पठाउनु भएको थियो।
न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने र कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि वितरण गर्नेबारे एजेण्डासहित फुल कोर्ट बस्ने प्रधानन्यायाधीशको सूचनाले न्यायाधीशहरूलाई थप आक्रोशित बनाएको छ ।
न्यायालयको गरिमा र स्वतन्त्रताबारे सर्वत्र बहस हुँदा सहकर्मी न्यायाधीशहरूसँग एक पटक पनि छलफल नगरेका प्रधानन्यायाधीशले वरिष्ठ अधिवक्ताको उपाधि बाँडेर विषयान्तर गर्न खोजेको भन्दै न्यायाधीशहरूले फुल कोर्ट बहिष्कार गर्ने निर्णय गरेका हुन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया