दार्चुला । बर्षा र बाढीपहिरोका कारण दार्चुलाका सबैजसो ग्रामीण सडक अवरुद्ध भएका छन् । दुहुँ र व्यास क्षेत्र जोड्ने प्रमुख सडकमार्ग दार्चुला–तिकंर सडक लामो समयदेखि अवरुद्ध हुँदा स्थानीयबासीन्दाले सास्ती भोग्न बाध्य छन् । दार्चुला तिकंर सडकको लास्कुखोलादेखि कलौन भिर, श्रीबगड र माथिल्लो क्षेत्रमा समेत ठाउँठाउँमा सडक अवरुद्ध भएपछि स्थानीय पैदल हिडेर सदरमुकाम खलंगासम्म आवतजावत गरिरहेका छन् । सडक सञ्चालन नभएकै कारण यात्रा गर्न, निर्माण र खाद्यान्न सामाग्री ढुवानी गर्न समेत समस्या भइरहेको स्थानीय जयबहादुर बमले बताउनुभयो । दुहुँ र व्यास गाउँपालिकाका मासिनहरुले सडक अभावमा निकै समस्या भोग्न बाध्य रहेको उहाँको भनाई छ । ठाउँठाउँमा सडक भासिएको, भत्किएको र पहिरोले पुरिएको अवस्थामा रहेकोले यातायातका साधनहरु सञ्चालन गर्न अझै समय लाग्ने यातायात व्यावसायीहरु बताउछन् ।
दार्चुला सदरमुकामलाई जोड्ने बैकल्पीक सडकका रुपमा रहेको गोकुलेश्वर-देथला-खार-खलंगा सडक समेत ठाउँठाउँमा अवरुद्ध छ । छोटो दुरीमा जीपहरु चलेपनि विभिन्न ठाउँमा पहिरो खसेर नियमित यातायातका साधनहरु चल्न नसकेको स्थानीय प्रकाश धामीले बताउनुभयो । गोकुलेश्वरदेखि रिठाचौपाता जोड्ने सडक समेत विगत डेढ हप्तादेखि बन्द हुदा स्थानीयले सास्ती भोग्नुपरेको स्थानीय दिपक जोशीले बताउनुभयो । सडक अवरुद्ध भएका कारण गाउँमा खाद्यान्न अभाव हुन थालेको उहाँको भनाई छ । बाढी, पहिरोका कारण दार्चुलाका अधिकासं ग्रामीण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यातायात अभावमा सास्ती भोग्नुपरेको भन्दै स्थानीयहरुले मर्मतका लागि स्थानीय तहहरुलाई अनुरोध गरेका छन् । नयाँ काटिएका ग्रामीण सडकहरु क्षतविक्षत अवस्थामा रहेको पाइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया