दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाका पशुहरुमा खोरेत रोग देखिएपछि सबै वडाका पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइदै छ । अहिलेसम्म छ वटै वडामा गरी ३७ सय १ डोज खोप लगाइएको छ भने ७५ पशुचौपायाको मृत्यु भइसकेको नौगाडबाट रेडियो लोकदर्पणका कृषि समाचारदाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।
नौगाडको वडा नम्बर १ मा ४९० डोज खोप लगाइएको छ भने ५० भेडाको मृत्यु भएको छ । वडा नम्बर २ मा २१५ डोज खोप लगाइएको छ भने ४ पाठापाठी, १ बोका, १ बाच्छि र १ पाडोको मृत्यु भएको छ । वडा नम्बर ३ मा ५७७ डोज खोप लगाइएको छ भने २ बाच्छाबाच्छि र एक पाडोको मृत्यु भएको छ। वडा नम्बर ४ मा ७५९ डोज खोप लगाइएको छ भने पशु चौपायाको अहिलेसम्म मृत्यु भएको छैन् । वडा नम्बर ५ मा ७१० डोज खोप लगाइएको छ भने २ पाठापाठी र १ बाच्छिको मृत्यु भएको छ । वडा नम्बर ६ मा ९५० डोज खोप लगाइएको छ भने १२ छतेउरा छतौरीको मृत्यु भएको नौगाड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रितम सिह ठगुन्नाले जानकारी दिनुभयो ।
नौगाड गाउँपालिकाका छ वटै वडामा ५४० गाइ, २३१ गोरु, १६१ भैँसी, ५५ पाडापाडी, १४७ बाच्छाबाच्छि, ३२६९ भेडा, ६७१ बाख्रा र ९६ छतौरा छतौरी रहेको उहाँले बताउनुभयो ।

खोरेत रोगबाट आफ्ना गाई र भैंसी तथा पशुचौपायालाई बचाउन आवश्यक सचेतना अपनाउन पशुपालक किसानहरुलाई नौगाड गाउँपालिकाले अनुरोध गरेको छ । अहिले नौगाडका सम्पुर्ण वडाहरुमा खोरेत रोगको लक्षण देखिएकोले सचेतना अपनाउन अनुरोध गरिएको कृषि तथा पशुपन्छी विकास शाखा अधिकृत महेन्द्र सिह धामीले जानकारी दिनुभयो । रोगको लक्षण देखिए र खोपले राम्रोसँग काम नगर्ने हुँदा विभिन्न सावधानी अपनाउन किसानहरुलाई अनुरोध गरिएको हो । खोरेत रोगका लक्षणहरुमा गाई भैंसीमा ज्वरो आउने, खुरको बीच, मुख तथा गिजामा घाउ आउने, खुट्टा खोच्याउने, ¥याल चुहाउने, दूध घटाउने, तुहिने र प्रायः बाच्छाबाच्छी पाडापाडी मर्ने हुन्छ । रोगबाट पशुहरुलाई मुक्त गराउन विभिन्न सावधानीका उपायहरु अपनाउन किसानहरुलाई गाउँपालिका कार्यालयले अनुरोध गरेको छ । संक्रमित पशुलाई खुला चरन र पानीका स्रोतमा नलैजान गाउँपालिकाले अनुरोध गरेको छ । संक्रमित क्षेत्रबाट अनावश्यक पशु ओहोरदोहोर नगर्न र फर्ममा अनावश्यक मानिसहरुको आवतजावत नगर्न आग्रह गरिएको छ ।
संक्रमित पशुको दूध पाडापाडी तथा बाच्छाबाच्छीलाई नचुसाउन, संक्रमित दूध राम्रोसँग उमालेरमात्र प्रयोग गर्न पनि गाउँपालिकाले अनुरोध गरेको छ । संक्रमित क्षेत्रबाट पशु खरिद नगर्न अनुरोध गर्दै प्रकोप देखापरेको ६ महिनापछि मात्र खरिद गर्न भनिएको छ । जिल्लाको सबै ठाउँमा देखिँदै आएको र घरपालुवा पशुमा मुख्य रोगका रुपमा मानिएको खोरेत नियन्त्रणका लागि भ्याक्सिनको व्यापकतासँगै जनचेनता जरुरी देखिन्छ । मुख्यतः यो रोगका लागि भ्याक्सिनको ठूलो महत्व भएकाले सरकारले अहिले खरिद गर्दै आएको संख्यामा वृद्धि गर्नुपर्ने पशु स्वास्थ्य प्राविधिकको जोड छ ।
प्रभावकारी औषधी अझै नबनेको र भ्याक्सिन पनि पूर्ण प्रभावकारी नहुँदा खोरेत नियन्त्रणमा चुनौती देखिएको कृषि प्राविधिकहरुले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया