दार्चुला । दार्चुला जिल्लामा १० बर्षको अवधिमा झण्डै छ हजार घरपरिवार थपिएका छन् । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार दार्चुला जिल्लाको कुल जनसंख्या एक लाख ३३ हजार २७४ र कुल घरधुरी संख्या २४ हजार ६१८ रहेको थियो । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्तर्गतको घरपरिवार गणनामा ३० हजार घरपरिवार सूचीकृत भएका छन् ।
अहिले ३० हजार घरपरिवार सूचिकरण भएपनि मूल गणनापश्चात् मात्रै कति जनसङ्ख्या र घरधुरी थपियो भन्ने यकिन हुने जिल्ला जनगणना अधिकारी पदमराज पाण्डेले जानकारी दिनुभयो । भदौ ३० गते देखि असोज १८ गतेसम्म राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत ४९ जना सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गर्ने क्रममा ३० हजार घरपरिवार सूचिकृत भएका हुन् । अहिले मूल गणनाका लागि जिल्लामा १८३ जना गणक छनोट भएका छन्। गणकहरुले कार्तिक २५ गते देखि अगामी मंसिर ९ गते सम्म दार्चुला जिल्लाका सम्पुर्ण घरधुरीमा पुगेर जनगणना गर्नेछन् ।
१९६८ सालदेखी नेपालमा जनगणना शुरु भएको थियो । राष्ट्रिय जनगणना २०७८ नेपालको बाह्रौँ जनगणना हो । गाउँघरमा खटिने गणकहरुलाई तालिम दिइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया