दार्चुला । तिहारको मुख्य दिन भाइटिकाको अवसरमा शनिबार (आज) लटिनाथ मन्दिर मैखोली, बन्तोली, तलाईमाडौं मार्मा लगायत विभिन्न स्थानमा आज जात्रा लाग्दैछ । विगतदेखि राती जात्रा मनाइदै आएकोमा रात्री जात्राका कारण असुरक्षा बढेको र विभिन्न गैरकानुनी तथा असामाजिक गतिविधि हुनसक्ने भन्दै लटिनाथ मन्दिर मैखोली खर्कमा दिउँसो जात्रा लगाउने निर्णय गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष राधापल्लब जोशीले बताउनुभयो । आज दिउँसो पुजाआजा र विभिन्न धार्मीक गतिविधिका साथै दमाहा लगायत पाजाहरु बजाएर, डेउडा खेल खेलेर जात्रा मनाइदैछ । लटिनाथ मन्दिर बन्तोली लगायत स्थानमा समेत आज राती जात्रा लाग्ने बताइएको छ । जात्रालाई व्यवस्थित गर्न मदिरा र जुवातासलाई पूर्ण प्रतिबन्द गरिएको छ ।
“आगा हुल तोई दिउलो पाछा हुल मेरी दुत्या हुल तोई दिउलो चतुर्दशी मेरी” उल्लेखित उद्दरणहरु प्राचीन डोटी र कुमाउँ क्षेत्रका लोक प्रशिद्ध देवता लटिनाथको गाथा (झोडो) का हुन् । ठाउँ अनुसार लटिनाथलाई लटबाब, लट्या, लाटो आदि नामले पुकारिन्छ। लटिनाथलाई एक महान योद्धा र न्यायका देवताको रुपमा लिने गरिन्छ। पिता मलैनाथले हुणदेशका राजा छिपलाकि रानी भागाश्रीलाई आफ्नी आठौं रानीको रुपमा भित्र्याएपछि छिपलाले आफ्नो सैन्यबलका साथ मलैनाथ र भागाश्रीको निवासस्थान शिखरधुरामा आक्रमण गर्दा सो आक्रमणको प्रतिउत्तर दिन आफूसङ्ग कोही वीर योद्धा नभएको र जेठो छोरा लटिनाथलाई नदीमा बगाएकोमा पश्चाताप गरिरहेको समयमा मार्मा थलीबाट लटिनाथको प्रस्थान युद्धस्थलमा हन्छ।
शिखरधुरामा मलैनाथ र भागाश्री लुकेको स्थान पत्ता लगाउन छिपला पक्षले दह बाँधी सो दहबाट प्रकाश परावर्तन गराउन लाग्दा लटिनाथले १२ मन फलामको गोला प्रहार गरि उक्त दह भत्काईदिएको किम्बदन्ती पाईन्छ । साथै छिपला पक्षको आक्रमणबाट परेका पहिरोहरुलाई पिठ्यु थापेर माथितिर फर्काईदिएको कुरा पनि लटिनाथको गाथा(झोडो)मा सुन्न पाईन्छ । मलैनाथ पक्षको सेनापतिको भुमिकामा रहेका लटिनाथले युद्धमा छिपला पक्षलाई पराजित गरिसकेपछी मलैनाथ र लटिनाथको चिनजान भएको प्रसङ्ग आउँछ। कुराकानीका क्रममा आफुले अरु रानीहरु र ज्योतिषको कुरा सुनेर पिता लाई पिर्ने ग्रह परेको भनेर नदीमा बगाएको शोभाश्री पुत्र उनै लटिनाथ भएको प्रस्ट हुन्छ ।
एकातर्फ छिपलामाथीको विजय र अर्कोतर्फ बर्षौ पहिले शिशु अवस्थामा नदीमा बगाईएको पुत्र जवान भएर फर्कएको देख्दा मलैनाथ लाई औधी खुसी लाग्छ। खुसीकै माहोलमा मलैनाथले आफ्नो भन्दा पहिले पुजाआजा हुने र जात्रा लाग्ने घोषणा गर्नुहुन्छ । सोही अनुरुप कार्तिक शुक्ल द्वितियामा लटिनाथको र कार्तिक शुक्ल चतुर्दशीमा मलैनाथको जात्रा लाग्ने गर्दछ ।
लटिनाथको मुल बासस्थान दार्चुला जिल्लाको मार्मा क्षेत्रमा पर्ने तलाईमाडौं हो । लटिनाथले आफ्नो जीवनकालमा केही समय बसोबास गरेका अन्य सबै क्षेत्रहरुमा लटिनाथको मन्दीर रहेको छ । त्यसमध्ये शैल्यशिखर–८ दार्चुलामा पर्ने बन्तोली पनि एक हो । मुलथान तलाईमाडौं पछि बन्तोली, मैखोली खर्क, विजयपुर र चौडलाई विशेष महत्त्व दिने गरिन्छ । बन्तोली, मैखोली लगायत लटिनाथका मन्दिरहरुमा प्रत्येक बर्ष कार्तिक शुक्ल द्वितियाका दिन पुजा आराधना एवम् रात्रीकालिन भव्य जात्रा लाग्ने गर्दछ।
अब सधैं जात्रा दिनमा लगाउनु पर्छ भन्ने पक्षबाट वकालत गरिरहेकाहरुले रातमा विकृति बढेका कारण दिनमा जात्रा लगाउनु पर्ने तर्क अघि सारेका छन् । जाँडरक्सी, जुवातास, चोरी, अनैतिक कृयाकलाप, झैझगडा आदि रात्रीकालिन जात्रामा देखिएका विकृतिहरु हुन् । जात्रामा देवीदेवताको दर्शन गर्ने, आफन्तसङ्ग भेटघाट गर्ने, लोकगीत गाउने, लोक नृत्यहरु गर्ने, लोकबाजाहरु बजाउने आदि उद्देश्यभन्दा पनि नकारात्मक कुरा मनमा लिएर जाने र नकारात्मक कार्य गर्नमै आफ्नो सम्पुर्ण ध्यान केन्द्रीत गर्ने भएपछि विकृती फैलिन्छ नै । त्यसैले जात्राको समयमा मन्दिर पुग्नेहरु सबै स्वच्छ भावना लिएर जाने हो भने जात्रामा कुनै खालको विकृतिहरु देखा पर्दैनन् । दशैंदेखि नै दार्चुलाको लेकम क्षेत्रमा जात्राको रौनकता छाएको छ । पुर्णिमासम्म विभिन्न देबताका मन्दिरमा जात्रा लाग्ने गरेका छन् । लटिनान जात्राको सबैलाई शुभकामना ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया