दार्चुला । भारतीय एसएसबीले तुइन काटिदिएपछि महाकाली नदीमा बेपत्ता भएका जयसिह धामीको परिवारलाई फारबेस्टर्न राईडर क्लबमार्फत सुदूरपश्चिम समाज मेरिल्याण्ड अमेरिकाले दुई लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको हलमा बुधबार क्लबका अध्यक्ष भरतविक्रम शाहले बेपत्ता धामीकी धर्मपत्नी राजन्ती धामीलाई राहत रकम हस्तान्तरण गरेको पत्रकार हरिप्रसाद जोशीले जानकारी दिनुभयो ।
बेपत्ता जयसिह धामीका सात बर्षीय छोरा डेमियल धामी, श्रीमती राजन्ती धामी, छोरी मेलिना धामी, बुबा दिलिप धामी, आमा मैना देवि धामी, भाइ नरेन्द्र धामी लगायतको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको सुदूरपश्चिम समाज मेरिल्याण्ड बाल्टिमोर अमेरिकाका अध्यक्ष दमनविक्रम शाहले बताउनुभयो । गत साउन १५ गते गाउँबाट तुईनको साहारामा भारतीय बाटो हुँदै सदरमुकामतर्फ आउने क्रममा दार्चुलाको ब्यास गाउँपालिका–२ मालगाउँका धामी एसएसबीले तुइन काटिदिएपछि महाकालीमा बेपत्ता हुनुभएको थियो ।
जयसिह धामीलाई महाकालीमा खसाउने भारतीय एसएसबीलाई अहिलेसम्म कार्वाही हुन सकेको छैन् । जयसिह धामीको हत्यारा एसएसबीलाई कार्वाही गरिदिन परिवारका सदस्यहरुले माग गर्दै आएका छन् । नेपालतर्फ गाउँजाने छोटो र सजिलो बाटो नहुदा व्यास क्षेत्रका स्थानीय तुइनको साहारामा भारतीय मार्ग हुँदै गाउँसम्म जाने गरेका छन् । महाकाली क्षेत्रमा २०५० साल देखि २०७८ सम्ममा २६ जना नेपालीको तुइनबाट खसेर ज्यान गएको वडा कार्यालयले जनाएको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया