दार्चुला । राष्ट्रिय जनगणना २०७८ अन्तरगत जनगणना गर्न दार्चुलाका १८३ गणक र ४९ जना सुपरिवेक्षकहरुलाई फिल्डमा खटाइएको छ । कात्तिक २५ गते आज देखि आउँदो मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि गणक र सुपरिवेक्षकलाई तालिम दिएर फिल्डमा खटाइएको जनगणना कार्यालय दार्चुलाका जनगणना अधिकृत पदमराज पाण्डेले जानकारी दिनुभयो ।
एक गणकले करिब एक सय पचास घरसम्म पुग्नुपर्ने दायित्व दिइएको जनगणना कार्यालयले जनाएको छ । यो जनगणनाले दिगो विकास लक्ष्य, समृद्धि र सुशासनका आधारका लागि खण्डीकृत तथ्याङ्क तयार गर्नेछ । विभागले मुख्य प्रश्नावलीमा आर्थिक काम, पेसा, वस्तु वा सेवाको उत्पादन अनुसारको विवरण, परिवारमा खानेपानी, इन्धन, सञ्चारसाधन, महिलाका नाममा सम्पति, घरेलु व्यवसाय, मातृमुत्यु दरको आकलन, विदेशमा रहेका व्यक्ति आदिबारे सोध्ने गरी प्रबन्ध गरेको छ । दार्चुलामा २०६८ को जनगणना अनुसार १ लाख ३३ हजार २३४ जनसंख्या रहेको छ, भने २४ हजार बढी घरपरिवार संख्या रहेका छन् । देशमा पहिलो जनगणना विसं १९६८ मा चन्द्रशम्शेर राणा प्रधानमन्त्री भएका बेला भएको थियो । दार्चुलामा पछिल्लो १० बर्षमा छ हजार घरपरिवार थपिएको अनुमान छ ।
जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक कार्यक्षेत्रमा खटिएका छन् । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । यसअघि कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
बिहीबार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणना सुरु गरिएको छ । प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिएको विभागले जनाएको छ । उहाँका अनुसार सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको थियो । सोको आधारमा जनगणना गरिनेछ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना हुने
केन्द्रीय तथ्याङ्क विभागले भारतको सिमाना जोडिएको नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्ने तयारी गरेको छ । त्यसका लागि विभागले कूूटनीतिक माध्यमबाट भारत सरकारसँग समन्वय गरिरहेको छ । सोही स्थानमा गणक जान नसके स्याटलाइटको माध्यमबाट सो क्षेत्रमा घरको गणना गर्ने र एउटा घरमा औसत रूपमा बसोबास गर्ने परिवारको सङ्ख्याका आधारमा भए पनि तथ्याङ्क निकालिने उहाँले बताउनुभयो ।
तीन महिना लाग्ने
कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म १५ दिन हुने जनगणनाको नतिजा आउन करिब तीन महिना लाग्ने अनुमान गरिएको छ । नेपालमा भएका कुल जनसङ्ख्या, महिला र पुरुषको मात्र तथ्याङ्क निकाल्न न्यूनतम तीन महिना लाग्ने विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिनुभयो । जनगणनाको पूरै विवरण आउन छदेखि नौ महिना लाग्नेछ । गणकले भरेको फारम कम्प्युटरमा प्रविष्ट गरी सबै तथ्याङ्क निकाल्नुपर्ने भएकाले पूरै विवरण आउन समय लाग्ने भएको हो । यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूलप्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली तयार गरिएको छ । उक्त प्रश्नावलीले समग्र कृषि क्षेत्रका विवरण , बैङ्कमा किसानको पहुँच, व्यक्तिगत विवरण, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, सामाजिक आर्थिक विषय, जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण आउनेछ ।
घरघरमा पुगेर गणकले सोधेका प्रश्नबाट व्यक्तिगत विवरण आउने र सो व्यक्तिगत विवरणलाई आधार मानेर सुपरिवेक्षकले स्थानीय तहका वडाध्यक्षसँग क्रस चेकिङ गर्नका लागि वडा तहमा सामुदायिक प्रश्न सोधिन लागेको लामिछानेले बताउनुभयो । यस वर्षको जनगणनाबाट ७५३ स्थानीय तहको छ हजार ७४२ वटै वडाको छुट्टाछुट्टै अभिलेख बन्ने भएको छ । नेपालमा हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया