सीमाक्षेत्रमा पूर्वमन्त्री ठगुन्नाको टोलीलाई दुर्ब्यवहार, एमालेको झण्डा र व्यानर बोक्न निषेध

दार्चुला । भारतको सशस्त्र सीमा बल (एसएसबी) ले दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री गणेश सिंह ठगुन्नासहितको टोलीलाई दुर्ब्यवहार गरेको छ । नेपालको नयाँ नक्सा जारी गरेको र तुइन प्रकरणमा एसएसबीको विरोध गरेको प्रतिशोधमा दुर्ब्यवहार गरेको नेकपा एमालेका एक जना जिल्लास्तरीय नेताले जानकारी दिनुभयो । कात्तिक ११ गते व्यास गाउँपालिकाको केन्द्र सुन्सेरामा एमालेको गाउँपालिका अधिवेशन सम्पन्न गरी सदरमुकाम खलंगा फर्किने क्रममा तिगरम पुलमा एसएसबीले पूर्वमन्त्री ठगुन्नाको टोलीलाई एक घण्टासम्म सोधपुछ गरेको ती नेताले बताउनुभयो ।

सुन्सेरामा गाउँपालिका अधिवेशन ढिलो सम्पन्न भएपछि प्रमुख जिल्ला अधिकारीमार्फत एमाले नेताहरुले तिगरमस्थित झोलुंगे पुल खोलेर रातिको समयमा खलंगा फर्किने व्यवस्था गर्न पहल गरेका थिए । तर तिगरम पुलमा एसएसबीको टोलीले एक घण्टासम्म एमाले नेताहरुको टोलीलाई रोकेर सोधपुछ गरेको हो । पूर्वमन्त्री ठगुन्नासँगै प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा र एमालेका केही जिल्लास्तरीय नेताहरु उक्त टोलीमा थिए । साँझ साढे ७ बजे तिगरम पुलमा पुगेको एमाले टोलीलाई एसएसबीले साढे ८ बजे मात्रै पुल खोलेर खलंगा फर्किन दिएको बताइन्छ । माथिको आदेश नभएको भन्दै एसएसबीले एक घण्टासम्म तिगरम पुलमा आफूहरुलाई रोकेको एमालेजनले दार्चुला सदरमुकाम आएपछि बताएका हुन् ।

एमालेको झण्डा र व्यानर बोक्न निषेध

भारतको धारचुलास्थित एसएसबीको सुरक्षा टोलीले एमालेको झण्डा र ब्यानरसहितको प्रचार सामग्री भारतीय भूमि हुँदै ढुवानी गर्नमा रोक लगाएको छ । कात्तिक ११ गते खलंगाबाट भारतको बाटो हुँदै व्यास गाउँपालिकाको केन्द्र सुन्सेरातर्फ झण्डा, ब्यानर र प्रचार सामग्री ढुवानी गर्ने क्रममा एसएसबीले अवरोध गरेको व्यास गाउँपालिकाका एक जना एमाले नेताले जानकारी दिनुभयो । पार्टीको गाउँपालिका अधिवेशनका लागि सदरमुकामबाट ब्यानर, झण्डा र पोष्टरहरु तयार गरी लग्ने क्रममा एसएसबीले धारचुलाको पुलघाटमा रोकेको उहाँले बताउनुभयो । एसएसबीको अवरोधपछि प्रचार सामग्रीबिना अधिवेशनमा सहभागी हुन आफूहरु खलंगाबाट भारतीय बाटो हुँदै सुन्सेरा गएको उहाँको अनुभव छ ।

‘खुलेर बिरोध गर्दा अघिपछि पनि भारतीय भूमि भएरै गाउँ जानुपर्ने बाध्यता छ,’ आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘कालापानीको विषय उठाएको र तुइन प्रकरणमा एसएसबीलाई दोषी देखाएकोमा एसएसबीले आक्रोश पोख्ने गरेका छन् ।’ ‘काङग्रेस पार्टीका होगा तो ले जा सकते हो, लेकिन कोइ भी कम्युनिष्ट पार्टीका सामग्री हमारे रास्ते नहीँ जायेगा’ धारचुलाको सीमापुलमा खटिएका एसएसबीका सुरक्षाकर्मीको भनाई उद्धृत गर्दै ती एमाले नेताले बताउनुभयो ।

अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा,लिपुलेक र कालापानीसहितको नयाँ नक्सा जारी भएपछि भारतीय सुरक्षा निकायहरुले सीमाक्षेत्रमा निगरानी बढाएका छन् । भारतीय सुरक्षा निकायहरुले नेपालतर्फको भौगोलिक अवस्थाका साथै व्यक्ति विशेषमाथि समेत निगरानी गर्दै आएका छन् ।

अतिक्रमित नेपाली भूमि नजिकका छाङरु र टिंकर गाउँ जाने स्थानीय बासिन्दा, सुरक्षाकर्मी र सरकारी कर्मचारीले भारतीय सुरक्षा निकायबाट अनुमति लिनुपर्ने बाध्यता छ । महाकाली नदी किनारको गोरेटो बाटो भत्किएपछि व्यासक्षेत्रमा पुग्न भारतीय भूमि टेक्नुपरेको छ । भारतीय भूमि भएर व्यास क्षेत्र जाने जो कोहीलाई पनि उताका सुरक्षा निकायहरुले निगरानीमा राख्ने गरेका छन् । भारतको छियालेकभन्दा माथि गर्ब्याङ, गुञ्जी,नाभी, कुटी, कालापानी, नाभीढाग क्षेत्रलाई नोटिफाइड क्षेत्र बनाइएको छ ।

दार्चुला सदरमुकामभन्दामाथि महाकाली नदी किनारमा भारतीय सुरक्षा उपस्थिति बाक्लो देखिन्छ । खलंगादेखि व्याससम्मको झण्डै ८० किलोमिटर लामो सीमाक्षेत्रमा दर्जनौँ सुरक्षा चौकीहरु राखिएका छन् । प्रत्येक किलोमिटरको दूरीमा राखिएका सुरक्षा चौकीहरुबाट महाकालीवारीको नेपाली भूगोल र त्यसक्षेत्रमा आवतजावत गर्ने सबैमाथि निगरानी हुँदै आएको स्थानीय बासिन्दा बताउँछन् ।

‘भारतको बाटो भएर हिँडडुल गर्दा सोधपुछ गर्नु त सामान्य कुरा हो । तर नेपालतर्फ कोही कसैले भ्रमण गर्दा पनि भारतीय सुरक्षाकर्मीले त्यसबारे विशेष चासो राख्ने गरेका छन्,’ व्यास गाउँपालिका १ छाङरुका एक स्थानीयले बताउनुभयो। को मान्छे कहाँ आयो,कहिले आयो,किन आयो, उसले के के गर्यो भन्नेबारे भारतीय सुरक्षाकर्मीले सबै जानकारी लिने गरेका छन् ।

नेपालको नयाँ नक्सासँगै केही महिनाअघिको तुइन घटनापछि भारतीय सुरक्षाकर्मीको निगरानी बढिरहेको स्थानीयको बुझाई छ । भारतीय बाटो भएर व्यासक्षेत्र जाने नेपालीलाई धारचुलास्थित पुलघाटमा कडा चेकजाँच गरेर अभिलेख राख्ने गरिएको छ । धारचुला पुलमा राखिएको अभिलेखलाई व्यासको सीतापुलसँगै जोडिएको गर्ब्याङ सुरक्षा चौकीले भिडाउने गरेको छ । कुन दिन, कति जना, कहाँ गए, कसरी गए भन्ने सबै जानकारी भारतीय सुरक्षाकर्मीले राख्ने गरेका छन् ।

स्थानीय नागरिकले देख्ने र बुझ्ने गरी एसएसबीले केही दिनदेखि सीमाक्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । यसका साथै एसएसबीसहित अन्य सुरक्षा निकायहरुले गुप्तचरमार्फत सीमाक्षेत्रमा सूचना संकलनलाई बढी महत्व दिएका छन् । नेपालतर्फ हुने सामान्य कार्यक्रम र गतिविधिबारे समेत भारतीय सुरक्षा निकायले सूचना संकलन गर्ने गरेको पाइन्छ । नेपालतर्फको राजनीतिक कार्यक्रमका साथै सामाजिक,सांस्कृतिक र विकाससम्बन्धी कार्यमा समेत भारतीय सुरक्षा निकायको चासो एकाएक बढेको हो ।

भारतले दशकौंदेखि घोषणा गरेको निषेधित क्षेत्र (नोटिफाइड एरिया) मा अतिक्रमित नेपाली भूमि कुटी, नाभी र गुन्जी पनि पर्दछन् । त्यसक्षेत्रमा कुनै पनि नेपालीको प्रवेश नहोस् भन्नेमा भारतीय सुरक्षाकर्मीले बढी सतर्कता अपनाएको देखिन्छ । नयाँ नक्सा आउनुअघि मजदुरी गर्न धेरै नेपाली त्यसक्षेत्रमा जाने गरेका थिए । तर नयाँ नक्सा जारीपछि त्यसक्षेत्रमा केही सीमित नेपाली मजदुरलाई कडा सुरक्षा निगरानीमा मात्र जान दिइएको छ । सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा मात्रै नेपाली मजदुरले त्यसक्षेत्रमा प्रवेश पाएका छन् । जीविकोपार्जनका लागि मजदुरी गर्न त्यसक्षेत्रमा पुगेका नेपालीलाई समेत भारतीय सुरक्षाकर्मीले शंकाको घेरामा राख्ने गरेका छन् ।

गाउँपालिका अध्यक्षलाई गाली
धारचुलास्थित नेपाल–भारत जोड्ने सीमापुलमा खटिएका एसएसबीका सुरक्षाकर्मीले नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीलाई गालीगलौज गरेका छन् । औषधि खरिदको निम्ति भारतीय बजार धारचुला जानेक्रममा गाउँपालिका अध्यक्ष धामीलाई एक हप्ता पहिले धारचुलास्थित सुरक्षाकर्मीले गालीगलौज गरेका हुन् ।

सगरमाथा टेलिभिजनमा अन्तर्वार्ता दिएर कालापानीको मुद्दा उठाएको भन्दै गाउँपालिका अध्यक्ष धामीलाई एसएसबीका सुरक्षाकर्मीले गाली गरेको बताइएको छ । ‘सगरमाथा टेलिभिजन मेँ अन्तर्वार्ता देनेवाले आप ही हो ना? ले जाव अपना कालापानी’ भन्दै एसएसबीका सुरक्षाकर्मीले अध्यक्ष प्रेमसिंह धामीलाई गाली गरेको उहाँ निकट एक नेताले बताउनुभयो । जनआस्थाबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?