दार्चुला । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वकिलहरूको अवरोध छिचोल्दै सर्वोच्च अदालत प्रवेश गरेका छन् । उनी सर्वोच्च अदालतको १ नम्बर गेट हुँदै १० बजेर ५२ मिनेट जाँदा अदालत प्रवेश गरेका हुन् । नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको मुख्य गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि उनी चोरबाटो हुँदै अदालत प्रवेश गरेका हुन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलनमा उत्रिँदै आएका छन् । शुक्रबार कानुन व्यवसायीले प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिने भन्दै धर्ना दिएपछि प्रहरीले मुख्य गेट बन्द गरेर कानुन व्यवसायीमाथि हस्तक्षेप गरेको थियो । ११ बज्न लाग्दासम्म अदालत प्रवेश गर्न नसकेका प्रधानन्यायाधीश जबराले बालुवाटारस्थित निवासबाटै दैनिक पेशी सूची तयार पारेका छन् । करिब ११ बज्नै लाग्दा उनी अरु बेला बन्द रहने महान्यायाधिवक्ता कार्यालय छेउको गेट खोल्न लगाएर कानुन व्यवसायीको धर्नालाई छल्दै अदालत छिरेका हुन् ।
यसैबीच न्यायालयमा चर्किएको आन्दोलनले सेवाग्राहीसमेत मर्कामा पर्न थालेपछि राजनीति दल र सरकारले समेत अदालतको समस्याबारे चासो दिन थालेका छन् । यही क्रममा बिहीबार र शुक्रबार सिंहदरबार र बालुवाटारमा अदालतको संकटबारे सरकारी अधिकारीहरुले छलफल गरेका छन् । धर्नाकारीहरुलाई रोक्न सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मीहरु आधा घण्टाभित्र हटाउन आग्रह गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आन्दोलनरत छन् । नेपाल बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्च अदालतको मूल गेटमा नै धर्ना दिएका छन् ।
त्यसप्रति आपत्ति जनाउँदै वरिष्ठ अधिवक्ता कार्कीले धर्ना स्थलबाटै गृहमन्त्रीलाई फोन गरेका छन् । कानुन व्यवसायीहरुका कारण अदालत असुरक्षित नहुने भन्दै उनले गृहमन्त्रीलाई भनेका छन्, ‘आधा घण्टाभित्र सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मी हटाउनुस्, होइन भने राम्रो हुँदैन ।’
यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले कानून व्यवसायीको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले निरन्तर आन्दोलन गर्दै आएको छ । बारले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने गरी आन्दोलन गरेको छ । सर्वोच्चको गेट नै बन्द गरिएको छ भने आन्दोलित कानुन व्यवसायीलाई गेट बाहिर रोकिएको छ । प्रधानमन्त्री देउवाबाट गृहमन्त्री र प्रहरी महानिरीक्षलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन आएको बार महासचिव लिलामणि पौडेलले जानकारी दिनुभयो ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले प्रधानमन्त्रीसँग कुरा गरेर गृहमन्त्री र महानिरीक्षकलाई हस्तक्षेप नगर्न भनेको महासचिव पौडेलले बताउनुभयो । शान्तिपूर्ण आन्दोलन गर्न र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नहुने सरकारबाट प्रतिबद्धता आएको उहाँले बताउनुभयो । सर्वोच्चको गेट बन्द गरिएकोबारे सर्वोच्च प्रशासनलाई भनेर खोल्न लाउने मन्त्री बडूले प्रतिबद्धता व्यक्त गर्नुभयो । आन्दोलनलाई सम्बोधन गर्ने क्रममा महासचिव पौडेलले प्रधानन्यायाधीश जबरालाई चुनाव लडेर प्रधानमन्त्री र राष्ट्रपति बन्न चुनौती दिनुभयो ।
सम्बन्धित समाचारः प्रधानमन्त्री देउवाले बोलाए कानुनमन्त्री बडूलाई बालुवाटार
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया