दार्चुलाको मार्मा गाउँपालिकामा साविकका पाँच वटा गाविसहरु शेरी, तपोबन, लटिनाथ, गुल्जर (वडा नम्बर २–९) र सितोला (वडा नम्बर १–४ र ९) लाई एकिकृत गरी ६ वटा वडाहरुमा विभाजन गरिएको छ । मार्माको पूर्वमा बझाङ्ग जिल्ला, पश्चिममा नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिका, उत्तरमा अपिहिमाल गाउँपालिका र दक्षिणमा बैतडीको डिलाशैनी गाउँपालिका र बझाङ्गको बुङ्गल नगरपालिका रहेका छन । २०६८ सालको जनगणना अनुसार मार्मा गाउँपालिकाको कुल जनसंख्या १४ हजार ९५६ र क्षेत्रफल २०८.०६ वर्ग किलोमिटर रहेको छ । दार्चुला सदरमुकामबाट लगभग १५ कोष टाढा रहेको मार्मा गाउँपालिकामा चौलानी नदी, पारीबगरमा नौगाड खोला, घट्टेगाड खोला, तपोबन मर्मतीमा मेलेगाड खोला, शेरीमा रहेको कचुलीगाड खोला, च्युरानीको दोगाडा खोला लगायत साना ठूला पानीका श्रोतहरु रहेका छन । परमचुली धाम, तपोबन तातोपानी, तलाईमाण्डौ लटिनाथ मन्दिर, मटेलाको मस्टा मन्दिर, शेरीको क्वाकट्टे मन्दिर, गुल्जरको दुर्गाभवानी मन्दिर, बिषु जात्रा जस्ता थुप्रै धार्मीक तथा पर्यटकीय ठाउँहरु पनि मार्मा गाउपालिका भित्र रहेका छन । नेकपा माओबादी केन्द्रको तर्फबाट स्थानीय तहको निर्वाचनमा मार्मा गाउँपालिका अध्यक्ष पदमा निर्वाचित जमनसिंह धामी प्रखरवक्ता र नेकपा माओबादी केन्द्र दार्चुलाको बौद्धिक नेताको रुपमा चिनिनुहुन्छ । यतिबेला प्रस्तुत छ, मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीसंग लोकेन्द्रप्रसाद जोशीले गर्नुभएको संक्षिप्त कुराकानीः

मार्मा गाउँपालिकामा यहाँहरु निर्वाचित भइसकेपछि भएका प्रमुख कामहरु के के हुन ?
मार्मा गाउँपालिका दार्चुलाको असाध्धै विकट क्षेत्र हो । स्थानीय तह निर्वाचन पूर्व मार्मा गाउँपालिकाको सर्वागिण विकासमा राज्यको खासै ध्यान केन्द्रीत हुन सकेको थिएन । हामी आइसकेपछि विविध जटिलताका बिच केहि महत्तपुर्ण कामहरु गरेका छौँ । अहिले पनि मार्माको मुख्य समस्याका रुपमा यातायात रहेको छ । सबै वडामा सडकको पहुँच पुग्न सकेको छैन । यातायाता विस्तारका लागि बिटुले पारिबगर सडक खण्डलाई निरन्तरता दिएका छौँ । पारिबगर गुल्जर सडक ८ किलोमिटर ट्र्याक खोलेका छौँ । सार्सी बजानी सडक अहिले साढे ४ किलोमिटर बजारीसम्म ट्र्याक खोलिएको छ । तपोवन मुरै निम्ठा भएर नौगाड जोड्ने सडकको गतबर्षबाट सुरुवात भएको छ । मार्माका सबै वडामा छिट्टै यातायातको पहुँच विस्तार गर्ने गरी कामहरु भइरहेका छन् । यस्तै मार्मा स्वास्थ्यको दृष्टिकोणले पछाडी परेको क्षेत्र हो । स्वास्थ्य सेवामा जनताको पहुँच स्थापित नभएको सबै मानिसले सिटामोल समेत सहज रुपमा पाउन नसकेको अवस्थामा हामीले अहिले नौँ वटा स्वास्थ्य संस्था थप गरेर जनशक्ति व्यवस्थापन र भौतिक पुर्वाधार स्तरोन्नती गरेका छौँ । लटिनाथ स्वास्थ्य चौकीबाट गाउँपालिकाकै स्रोतमा विशेषज्ञ डाक्टर सहित स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ । मार्मावासीको दैनिक जीवन सहज बनाउन कृषि र पशुमा पकेट क्षेत्र निर्धारण गरेर काम गरिरहेका छौँ । शिक्षामा हामी असाध्यै पछाडी थियौँ । एउटा मात्रै नीजि स्रोतबाट सञ्चालित क्याम्पस रहेको अवस्था र एउटा नीजि स्रोतबाट सञ्चालित उमाबि रहेको अवस्थामा थप केही विद्यालयलाई कक्षा ११ र १२ को पठनपाठन गर्ने अनुमती प्रदान गरेर २४ वटा विद्यालयमा दरबन्दी नभएको अवस्थामा शैक्षिक क्षेत्र सुधार कार्यक्रम सञ्चालन गरेर ठूलो लगानी लगाएका छौँ । नीजि स्रोतबाट सञ्चालित विद्यालयमा विषयगत दरबन्दी र ठूलो आर्थिक लगानी गरेका छौँ ।

मार्मा क्षेत्रमै जलविद्युत आयोजनाहरु निर्माण भएरपनि मार्मावासी अन्धकारमा छन ? गाउँपालिकाभरी विद्युतिकरण कहिलेसम्म हुन्छ ?

विगतमा हामी निर्वाचित हुनुपुर्व कुनै पनि क्षेत्रमा विद्युतिकरण भएको थिएन । अहिले गाउँपालिका केन्द्र र त्यसको परिपरिका केहि गाउँहरुमा विद्युतिकरण भएको छ । विद्युत प्राधिकरण र हामीले एउटा संयुक्त गुरु योजना बनाएका थियौँ । त्यसमा ग्रामिण विद्युतिकरण स्थानीय तहले गर्ने र मेन लाइन र ट्रान्सफर्मरको काम प्राधिकरणले गर्ने सहमती भएपनि हामीले ग्रामीण शाखा लाइनहरु विस्तार गरेपनि विद्युत प्राधिकरणले अहिलेसम्म मेन हाइटेन्सन लाइन निर्माण र ट्रान्सफर्मर उपलब्ध गराउन नसक्दा अधिकासं क्षेत्रमा विद्युतको पहुँच पुग्न सकेको छैन् । विद्युतिकरणमा ढिलाइ हुनुमा कोरोना महामारी, ठेकेदारको लापरवाही र विद्युत प्राधिकरणको झन्झटिलो प्रकृयाका कारण लक्ष्य अनुसार काम नभएको कुरा सत्य हो । सबै मार्माबासीको पहुँचमा विद्युत पुग्न अझै दुई वर्ष लाग्ने देखिन्छ ।

शैक्षिक बेरोजगारी बढ्दो छ, युवा स्वरोजगारीका लागि गाउँपालिकाले के के काम गर्यो ?

विगत वर्षहरुमा हामीले विकास निर्माणलाई मात्रै प्राथमिकतामा राख्दा रोजगारीको क्षेत्रमा धेरै कामहरु गर्न सकिएन । कोरोना महामारीपछि रोजगारीको क्षेत्र प्राथमिकताको विषय बनेको छ । यसका लागि अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम र गाउँपालिका अध्यक्ष युवा स्वारोजगार कार्यक्रमलाई संयुक्त रुपमा लागु गरेर साढे चार सय बेरोजगार युवालाई कम्तिमा दुई महिनाको रोजगारीमा लगायौँ । चालु आर्थिक बर्षमा पनि बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने उद्धेश्यले बजेट विनियोजन गरेका छौँ । गाउँपालिकाभित्रका चार/पाँच सय युवाहरुले यो वर्ष रोजगारी पाउछन र अगामी दिनमा रोजगारी सिर्जना र स्वरोजगारी प्रोत्साहनमा ठोस कार्यक्रमका साथ अगाडी पढ्नुपर्ने आवश्यकता छ ।

मार्मामा धार्मीक पर्यटनका थुप्रै सम्भावनाहरु छन । पर्यटन विकासमा के के कामहरु भए ?

मार्मामा दुई हिसाबले पर्यटकहरु भित्रिने सम्भावनाहरु छन् । एउटा धार्मीक हिसाबले पर्यटकीय महत्तको क्षेत्र हो मार्मा । लटिनाथ मन्दिर, तपोवनको तातोपानी, गुल्जर क्षेत्रको बिशु जात्रा, बझाङ, दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने परमचुला धाम लगायत क्षेत्रलाई पर्यटकीय करिडोरको रुपमा अगाडी बढाउन खोजिरहेका छौँ । प्रदेश सरकारसंगको साझेदारीमा लटिनाथ मन्दिरको गुरुयोजना बनाएर काम गरिरहेका छौँ । गुल्जरको बिशु जात्रा र धार्मीक पर्यटनको विकास गर्ने उद्धेश्यले संघीय सरकारसंगको साझेदारीमा कामहरु भइरहेका छन् । परमचुला जाने कोरिडोरको काम गतवर्षदेखि नै भइरहेको छ । एकातिर हामीले धार्मीक क्षेत्रमा त्यसरी का गरिरहेका छौँ भने अर्को पर्यटनको सम्भावना भनेको बाह्य पर्यटकहरु आगमन हुने उर्जा क्षेत्रको विकास, हाइड्रोपावरका ड्याम साइटहरु छन् । मार्माको समृद्धिको आधार भनेको जलविद्युतहरुको विकास पनि हो । जलविद्युत निर्माणमा नीजि क्षेत्रसंग पनि सहकार्य गरिरहेका छौँ ।

सडक, जलविद्युत लगायत पुर्वाधारको विकासले कतै विनासजन्य जोखिम त निम्त्याइरहेको छैन की ? जोखिम न्यूनिकरणका लागि यहाँहरुले कसरी ध्यान दिनुभएको छ ?

हामीले यो विषयलाई गम्भीरतापुर्वक हेरेका छौँ । निश्चय नै सडक, यातायातको आवश्यकता तट्कारो रुपमा छ । यातायात अभावमा मार्मा गाउँपालिकाको केन्द्रबाट चामल लगायत कुनैपनि सामाग्री बोकेर लैजानुपर्यो भने मार्माको अन्तिम गाउँसम्म पुर्याउन सामानको मुल्यभन्दा बढी भाडा तिर्नुपर्ने अवस्था छ । त्यसकारण जनताको समस्या समाधानका लागि विकास गर्नैपर्ने अवस्था छ भने सडक निर्माणकै कारणले बाढी, पहिरो, भूक्षयले समस्यापनि सिर्जना गरेको छ । विद्युतमा पनि बाह्य बातावरणमा पर्ने असरहरु होला तर बाह्य वातावरणमा पर्ने प्रभाव अनुसार त्यो क्षेत्रमा प्रभाव न्यूनिकरण र विकासका अन्य कामहरु पनि गर्ने सम्झौता गरेका छौँ । कामको गुणस्तरका सन्दर्भमा हामीले पनि बेला बेला अनुगमन गर्ने काम गरिरहेका छौँ ।

मार्मा गाउँपालिकाको बार्षिक बजेट र आन्तरिक आम्दानी कति छ ?

संघ र प्रदेशबाट प्राप्त हुने सशर्त, समपुरक, विशेष अनुदान समेत जोड्दा मार्मा गाउँपालिकाको बार्षिक बजेट ४६ करोड हाराहारीमा छ । बार्षिक आन्तरिक आम्दानी झण्डै ५० लाख हुन्छ । आन्तरिक आम्दानी बढाउन आर्थिक आयस्रोत व्यवस्थापन हुने थप आधारहरु छैनन । खासगरी एक घर एक धारा कार्यक्रम अन्तरगत खानेपानी योजनाहरु निर्माण, सडक, विद्युत विस्तार, औद्योगिक ग्राम, तपोवन खेलमैदान, लटिनाथ मन्दिरको जमिन संरक्षण, शिक्षा र स्वास्थ्यको क्षेत्रमा पुर्वाधार निर्माणका कामहरु र स्वरोजगारीको क्षेत्रमा हामीले बजेट खर्च गर्दै आएका छौँ ।

मार्मा गाउँपालिकामा सुशासनको अवस्था कस्तो छ ?

अहिले स्थानीय तहमा व्यापक अनियमितता भयो भनेर पनि बहस भइरहेको छ । तर कुनै स्थानीय तहले गल्ती गर्यो भन्दैमा व्यवस्थाकै विरोधमा बहसहरु चलाउनु उपयुक्त हुदैन । यो व्यवस्थाका हिमायतीहरुले गल्ती नगर्ने प्रतिज्ञा गर्नैपर्छ । सुशासनका लागि हामीले विभिन्न माध्यमहरुबाट सूचना प्रवाह गर्ने, सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमहरु गर्ने र जनतालाई सेवा प्रवाह दृढतापुर्वक गरिरहेका छौँ । हाम्रो सिमित जनशक्ती र स्रोत साधनको कारण जनअपेक्षा अनुसार काम नभएको हुनसक्छ तर गलत नियतका साथ कुनैपनि काम गरेका छैनौँ । स्थानीय तहहरुले सुशासनका लागि कमजोरीहरु सुधार गरेर अगाडी बढ्नुपर्छ।

संघ र प्रदेश सरकारसंघ सम्बन्ध र समन्वय कस्तो छ ?

तीनै तहका सरकारका बिचमा कतिपय नीतिगत जटिलताका कारणले समस्याहरु छन । साथै एकले अर्काको अस्तीत्तलाई स्वीकार नगर्ने प्रबृतिका कारणले पनि कतिपय समस्या देखिएका छन् । केही जनप्रतिनिधिहरुका चिन्तन र व्यवहारका कारणपनि समन्वयमा अभाव देखिन्छ । तर मार्मा गाउँपालिकाको हकमा समन्वयात्मक ढंगले अगाडी बढिरहेका छौँ । संघ र प्रदेशको समन्वयमा थुप्रै कामहरु भइरहेका छन् । कतिपय कानुनी जटिलताहरु समाधानमा संघीय सरकार र प्रदेश सरकारले ध्यान दिनुपर्ने आवश्यकता भने महसुस भएको छ ।

अन्त्यमा, मार्माको विकासका लागि अल्पकालिन र दिर्घकालिन योजनाहरु के के छन ?

हामीले निर्वाचनमा जादा जनतासमक्ष गरेको प्रतिबद्धता अनुसार सबै कामहरु पूरा गर्न सकेको अवस्था छैन । दुई वर्ष कोरोना महामारीले अस्तव्यस्तता सिर्जना गरेर केही कामहरुमा अवरोध भयो । तर सुरुवात भएका सबै कामहरु पुरा गर्न सके मार्माको विकासले फड्को मार्ने अवस्था छ । अल्पकालिन रुपमा सडक, विद्युत, सञ्चार, खानेपानी लगायत विभिन्न क्षेत्रमा पुर्वाधार निर्माणमा बढी जोड छ । भने दिर्घकालिन विकासका लागि सामाजिक विकासका क्षेत्रहरु स्वरोजगारी, सामाजिक परिवर्तन, उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्यको विकास र गुणस्तर सुधार लगायत क्षेत्रमा हामीले ध्यान दिइरहेका छौँ । पुर्वाधार विकास र सामाजिक विकास दुबै क्षेत्रमा हामीले तत्काल गर्न सकिने कामहरु वर्तमानमा र केहि दुरगामी महत्तका योजना तथा कार्यक्रमहरु दिर्घकालिन ढंगले अगाडी बढाइरहेका छनैँ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?