गणकलाई छाङरु र तिंकर जान भारतले दिएन अनुमती

दार्चुला । व्यास गाउँपालिका वडा नम्बर १ छाङरु र तिंकर गाउँमा जनगणना सुरु गर्न सकिएको छैन । विहिबारदेखी देशभर जनगणना सुरु भएपनि अतिक्रमित नेपाली भूमि कालापानी नजिकको क्षेत्र छाङरु र तिंकर गाउँमा शनिबारसम्म जनगणना सुरु भएको छैन् । जनगणनाका लागि गणक पठाउन समस्या भएकाले जनगणना गर्न नसकिएको जिल्ला जनगणना कार्यालय दार्चुलाले जनाएको छ ।

ब्याँस क्षेत्र जाँदा भारतको बाटो प्रयोग गर्नुपर्ने भएकाले भारतले अनुमति नदिदाँ गणकलाई फिल्डमा पठाउन सकिएको छैन, जनगणना अधिकृत पदमराज पाण्डेले भन्नुभयो, भारतको छियालेक भन्दा माथिल्लो क्षेत्र नोटिफाइड एरिया घोषित गरिएकाले उक्त क्षेत्रमा यात्रा गर्दा अनिवार्य पास (अनुमति) माग्ने गरेको छ । ब्यास गाउँपालिकाको वडा नम्बर १ मा पर्ने पाँच गाउँहरु कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरु गाउँमध्ये कुटी, नाभी र गुञ्जी गाउँ भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेका बाहेक तिंकर र छाङरु गाउँमा नेपाल सरकारको प्रशासनिक अधिकार कायम भएपनि गाउँसम्म जाने बाटो नहुदा जनगणना गर्न समस्या भएको बताइएको छ ।

अतिक्रमित क्षेत्रमा समेत जनगणना गर्ने दाबी गरिरहेको सरकारले नेपालकै भोगचलन र स्वामीत्तमा रहेको गाउँहरुमा समेत जनगणना गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । ब्यास गाउँपालिकाको वडा नम्बर १ का गाउँहरु तिंकर र छाङरुमा जनगणनाको जिम्मेवारी राजेन्द्र कार्कीलाई दिइएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्ला अन्र्तगतको धार्चुला तहशिलका उपजिल्ला अधिकारीलाई गणकका लागि भारतीय बाटो प्रयोग गर्न अनुमति मागेको भएपनि हाल सम्म उक्त पत्रको कुनै जवाफ नआएको बताइएको छ ।

दार्चुला जिल्लाभरी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म ६१ वटै वडामा जनणना गर्नका लागि १८३ गणक खटाइएको छ । अरु वडाहरुमा कार्तिक २३ गते नै गणकहरु फिल्डमा गएको भएपनि व्यास गाउँपालिका वडा नम्बर १ मा गणक नपुगेको बताइएको छ । ब्यास क्षेत्रमा भ्रमणमा जाने अन्य नागरिकहरुलाई भारतीय प्रशासनले अनुमति दिइरहेको भएपनि गणकलाई अनुमति दिन भारतीय प्रशासनले आनाकानी गरिहेको बुझिएको छ ।

केही दिन भारतको अनुमती पर्खेर भारतले अनुमति नदिए नेपालको बाटोको अवस्था बुझेर गणकसंग एक जना पठाएर उक्त क्षेत्रमा जनगणना गरीने जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डेले बताउनुभयो । नेपालतर्फबाट व्यास गाउँपालिका वडा नम्बर १ सम्म पुग्ने बाटो निकै्र जोखिमपूर्ण रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?