दार्चुला । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले न्यायालयमा देखिएको हालको समस्या छिट्टै समाधान हुनेमा सरकार विश्वस्त रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ वडा कार्यालय भवन तथा सामुदायिक स्वास्थ्य इकाइ भवनको शनिबार उद्घाटन गर्दै उहाँले न्यायालयको विवाद ‘स्वयं स्वतन्त्र ढङ्गले’ समाधान हुनेमा सरकार विश्वस्त रहेको बताउनुभयो । न्यायलयभित्र कतिपय सुधारका विषय रहेकाले बार र बेञ्चबीचको आपसी विवाद टुङ्गिएर सद्भावतर्फ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
“जनताले न्याय पाउने बाटो धेरै दिन अवरुद्ध हुनुहुँदैन, सरकारको आग्रह र अपेक्षा छ, लामो समय यो विवाद नबल्झियोस्”, मन्त्री बडूले भन्नुभयो, न्यायसम्पादनमा समस्या देखिँदै आएकाले यस क्षेत्रमा सङ्घीयता लागू भइनसकेको प्रभाव देखिएको उहाँले उल्लेख गर्नुभयो । “न्याय क्षेत्रमा सङ्घीयता लागू भए सर्वोच्चमा आएर मुद्दा थन्किने, चाप बढ्ने र न्याय ढिला हुने अवस्था आउने छैन, अब उच्च अदालत र जिल्ला अदातलमा मुद्दालाई विकेन्द्रीकरणतर्फ लाग्नुपर्छ”, बडूले भन्नुभयो, न्याय क्षेत्रमा सङ्घीयता लागू गर्दा पुस्तौनी न्याय खोज्नेलाई राहत मिल्ने उल्लेख गर्दै मन्त्री बडूले वर्तमान संविधानअनुसार जनतालाई छिटोछरितो र सर्वसुलभ न्याय प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अब मुद्दा दायर भएपछि कति समयमा छिनोफानो हुने भन्ने बनाउनुपर्छ, उहाँले भन्नुभयो ।
फरक प्रसङ्गमा मन्त्री बडूले बृहत् शान्तिसम्झौता पूर्ण नभएकाले सरकारले यस विषयलाई पहिलो दायित्वअन्तर्गत प्राथमिकतामा राखेको बताउनुभयो । सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिनुपर्छ, अब यो समय थपेर जाने विषय हैन, मुलुकमा पीडित र पीडकबीच मेलमिलापको वातावरण बनाउनुपर्छ । समाजमा मेलमिलापको आवश्यकता खड्किएको उल्लेख गर्दै मन्त्री बडूले आन्दोलनका दौरान कसले पीडा दियो, को पीडित बन्यो छानविन भई परिपुरणसहित मेलमिलाप हुनुपर्ने धारणा राख्नुभयो ।
“राज्य पक्षबाट वा आन्दोलनरत पक्षबाट जसबाट पीडित भएपनि पीडा पाउने आँखिर नेपाली नागरिक नै थिए”, उहाँले भन्नुभयो, बेपत्ता भएका परिवारको पीडा दर्दनाक भएको उहाँको भनाइ थियो। उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसद्प्रति इमान्दार नभएको आरोप लगाउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया