दार्चुला । गयराती साढे आठ बजे जन्ती बोकेको जीप दुर्घटना हुँदा बैतडीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा सात सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । घटनास्थलमै ५ जनाको मृत्यु भएकोमा दुर्घटनामा परी गम्भीर घाइते भएका जीप चालक डडेल्धुराका ४० बर्षीय चालक दीपक मालीको उपचारका लागि धनगढी लैजाँदै गर्दा आइतबार राती बाटोमै मृत्यु भएसंगै मृतको संख्या ६ पुगेको प्रहरी प्रवक्ता खड्काले बताउनुभयो ।
जीप दुर्घटना हुँदा दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ बर्षीय धनबहादुर चन्द, ६५ बर्षीय प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका र उनलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । दर्दनाग दुर्घटनामा चालक दिपक माली सहित ६ जना अस्ताउदा बैतडी शोकमा डुबेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया