दार्चुला । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आज दार्चुलाको सातौँ जिल्ला अधिवेशन सुरु हुदैछ । मंगलबार (आज) विहान ११ बजे सदरमुकाम खलंगास्थित खुल्ला मञ्चमा अधिवेसन उद्घाटन गर्ने गरी तयारी गरिएको कांग्रेश दार्चुलाका सचिव हरक विष्टले जानकारी दिनुभयो । अधिवेसन उद्धाटनका लागि नेपाली कांग्रेशका केन्द्रिय सदस्य एबं कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू आइतबार राती नै गृहजिल्ला दार्चुला आइपुग्नुभएको छ । खलंगामा उद्घाटन सत्र सकेर कार्यसमिति र महाधिवेसन प्रतिनिधि चयनका लागि कांग्रेश पार्टी कार्यालयमा बन्द सत्र सुरु हुनेछ ।
यसअघि कांग्रेशले जिल्लाका ६१ वटै वडा, ९ वटै पालिका र २ वटै क्षेत्रीय अधिवेशन सम्पन्न गरी सकेको छ । नेताहरुले सहमतिमै नेतृत्व चयन गर्नुपर्ने बताइरहदा तल्ला कमिटीहरुमा समेत निर्वाचन भइसकेको र जिल्ला पदाधिकारीमा आकाक्षिं नेताहरु बढी भएकोले सहमतिको सम्भावना न्यून देखिन्छ । मन्त्री दिलेन्द्रप्रसाद बडूले सहमतिमै नेतृत्व चयनका लागि नेताहरुलाई निर्देशन दिनुका साथै आफुले प्रयास गरेपनि कतिपय वडा, पालिका र दुबै प्रदेशसभा क्षेत्रमा निर्वाचन भएको बताइएको छ । जिल्ला सभापति पदका लागी वर्तमान सभापति ललित सिंह बोहरा र उपसभापति अमरसिह धामी प्रमुख दाबेदार देखिएका छन् । सभापति बोहराले अपिहिमाल गाउँपालिका पुगेर केहि समय पहिले उम्मेदवारी घोषणा गर्नुभएको थियो । उपसभापति तथा शैल्यशिखर नगरपालिकाका मेयर अमर सिंह धामीले मालिकार्जुन मन्दिरमा पुगेर यसअघि नै उम्मेदवारी घोषणा गर्नुभएको छ । अन्य पदाधिकारीहरुमा समेत दुई दर्जनबढी नेताहरु आकाक्षिं देखिएका छन् । उम्मेदवारी मनोनयनको समय बाँकी भएपनि धेरैजसो नेताहरुले सामाजिक सञ्जाल र आन्तरिक टिममा प्रचारप्रसार तिब्र पारेका छन् ।
कांग्रेशको जिल्ला अधिवेशनबाट जिल्लामा सभापति १ जना, उपसभापति २ जना, सचिव २ जना र सहसचिव २ जना निर्वाचित हुने व्यवस्था छ । नेपाली कांग्रेसको केन्द्रिय महाधिवेसन यहि मंसिर २४, २५ र २६ गते काठमाण्डौंमा गर्ने तयारी रहेकोमा नेताहरु जिल्लामा समेत आफु अनुकुलका प्रतिनिधि छनोट गर्न लबिङमा लागेको बताइन्छ । कांग्रेशमा प्रमुख रुपमा देखिएका देउवा र पौडेल गुटमध्ये दार्चुलामा दुबै गुट नजिकका नेताहरु आफुअनुकुल प्रतिनिधि छनोटको कसरतमा लागेका छन् । भोलि जिल्ला अधिवेसन उद्धाटन हुनेभएकोले अधिकासं नेताहरु जिल्ला सदरमुकाम केन्द्रित भएका छन् ।
जिल्ला सभापतिमा ललितसिह बोहरालाई पौडेल पक्षको उम्मेदबारका रुपमा हेरिएको छ । पौडेल पक्षकै भनेर चिनिने उपसभापति अमरसिह धामीले भने यसपटक शेरबहादुर देउवा निकट भएर निर्वाचन लड्ने तयारी गरेको राजनीतिक बजारमा चर्चा चलेको छ । यद्धपी नेताहरुले बाहिरी रुपमा कुन गुटको भनेर खुलासा गरिसकेका छैनन। मन्त्री दिलेन्द्र प्रसाद बडू पौडेल पक्षमा भएपनि सुदूरपश्चिममा अधिवेसनको जिम्मेवारी दिएपछि देउवालाई सहयोग गर्ने सर्तमा सम्झौता भएको हो की भनेर समेत कार्यकर्ताहरुले आकलन गर्न थालेका छन् । देउवा पक्षका केहि नेताहरुले मन्त्री बडूले समेत अधिवेसनमा देउवालाई सघाउने प्रतिबद्धता जनाएको बताइरहेका छन् । केन्द्रमा पौडेल सभापति बन्ने माहोल कमजोर बन्न थालेकोले जिल्लाको राजनीतिमा समेत केहि फेरबदल हुनसक्ने नेताहरुको दाबी छ ।
स्रोतका अनुसार दार्चुलामा विगतदेखि देउवा गुट कमजोर रहेकोमा पछिल्लो समय पौडेल पक्षमा गनिएका केहि नेताहरु समेत देउवा गुटमा नजिकिन थालेका छन् । क्षेत्रीय अधिवेसनमा समेत केन्द्रको राजनीतिक छाया देखिएको स्रोतको दाबी छ । क्षेत्रीय अधिवेसनको मत विश्लेषण अनुसार बोहरा र धामीबिच सभापतिमा निर्वाचन भए कडा प्रतिस्पर्धा हुने देखिएको छ । यद्धपी मन्त्री बडूले खेल्ने भूमिकाले सभापति को बन्ने भन्ने कुरामा प्रभाव पार्नसक्ने कांग्रेशका जिल्लास्तरीय नेताहरु बताउछन् ।
प्रदेशसभा अधिवेसन अन्तरगत आइतबार सम्पन्न निर्वाचनबाट (क) क्षेत्रमा मन्दिरसिह धामी र (ख) क्षेत्रमा केशवबहादुर सिंह सभापती चयन भएका छन् । सबै वडा र पालिकामा समेत नेतृत्व यसअघि नै चयन भइसकेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया