दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ छाङरु र तिंकरमा जनगणना सम्पन्न भएको छ । नेपालको प्रशासनिक अधिकार भएका छाङरु र तिंकरमा जनगणना भएपनि अतिक्रमित क्षेत्रका नेपाली जनगणनामा समेटिएका छैनन् । ब्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने गाउँहरू कुटी, नाभी, गुञ्जी, नाभिडाङ, तिंकर र छाङरु मध्ये नाभिडाङ, कुटी, नाभी र गुञ्जी भारतले अतिक्रमण गरेको छ । जनगणना गर्ने समय सकिदा समेत भारतले अतिक्रमण गरेका गाउँको जनगणना गरिएको छैन । त्यहाँ भारतीय सुरक्षाकर्मी तैनाथ गरिएका कारण गणकलाई पठाउन जोखिम भएको हो । तर, त्यस क्षेत्रमा कसरी जनगणना गर्ने भन्ने बारेमा आन्तरिक छलफल गरेर निर्णय गर्ने विभागले जनाएको छ । तथ्यांक विभागका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुराबाहेकका ठाउँमा जनगणना सङ्कलन कार्य सकिएको छ ।

भारतीय पक्षको असहयोगका कारण तिंकर र छाङरु क्षेत्रमा जनगणना हुने नहुने अन्यौल बढेको थियो । नागरिकस्तरबाट सरकारलाई दबाब पनि थियो । अन्ततः जोखिम मोलेर छाङरु र तिंकर पुगेको जनगणना टोलीले तीन दिन लगाएर जनगणना सम्पन्न गरेको हो । भारतले आफ्नो क्षेत्रको सडकबाट जान नदिँदा स्वदेशको बाटो भएर जोखिमपूर्ण यात्रा गर्दै चार दिन हिँडेर जनगणना टोली उक्त क्षेत्र पुगेको थियो । मंसिर ३ गते शुक्रबार दार्चुला सदरमुकाम खलंगाबाट उक्त क्षेत्रतर्फ गएको जनगणना टोली मंसिर ६ गते छाङरु पुगेर जनगणना सुरू गरेको थियो । तीन दिनमा छाङरु र तिंकरगाउँमा जनगणना गरि बिहीबार खलंगा फिर्ता भएको जनगणना गर्न गएका जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकारी खगेन्द्रसिह कार्कीले जानकारी दिनुभयो । टोलीलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम खलंगा ल्याइएको छ । जनगणना गर्न जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकारी खगेन्द्रसिह कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर जानुभएको थियो । दुम्लिङबाट एक जना स्थानीय बाटो देखाउने मान्छे लगेर गएको कार्कीले बताउनुभयो ।

खलंगाबाट पहिलो दिन ब्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ, दोस्रो दिन थी र तेस्रो दिन बुदीमा बास बसेको र चौथो दिन छाङरु पुगेको कार्कीले बताउनुभयो। बाटो अधिकाशं क्षेत्रमा भत्किएकोले बुट्यानका मुना समात्दै केही ठाउँमा पहाड चढेर र कुनै ठाउँमा बाटो बनाएर यात्रा गरी छाङरुसम्म पुगेको कार्कीको भनाई छ । दुम्लिङभन्दा माथिल्लो क्षेत्रको मानवबस्ती छाङरुमा मात्र छ । दुई दिन राति भेडी गोठहरूमा बसेको कार्कीले बताउनुभयो । ‘थी’ र ‘बुदी’मा भेडी खर्कमा बसेको उहाँको भनाइ छ । जादाँ जोखिमपुर्ण यात्रा गरी चार दिन हिँडेर गएका थियौँ, आउँदा विभागले हेलिकोप्टरको व्यवस्था गरिदिएर २० मिनेटमै सदरमुकाम पुर्याइएको कार्कीले बताउनुभयो ।

उक्त क्षेत्रमा चिसो बढेपछि तिंकरका केही परिवार जनगणना टोली पुग्नुभन्दा पहिला नै खलंगा झरेका छन् । सदरमुकाम झरेकाहरूको गणक परिचालन गरेर सदरमुकाममै जनगणना गरिएको जनगणना कार्यालय दार्चुलाका खरिदार हरिस पन्तले बताउनुभयो । बाटो जोखिमपूर्ण भएकाले गणना टोलीलाई फिर्ता गर्नका लागि विभागलाई हेलिकोप्टरको व्यवस्था गर्न जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले अनुरोध गर्नुभएको थियो । छाङरु र तिंकर गाउँमा रहेका ११३ घरपरिवार तथा त्यहाँस्थित एउटा सशस्त्र प्रहरी गुल्म र प्रहरी चौकीमा जनगणना गरिएको पाण्डेले बताउनुभयो ।

नेपालमा हिँड्नै नसकिने बाटो भएकाले महाकाली नदीमा तुइनको प्रयोग गरि भारतीय बाटो भएर जनणना टोली जान सक्ने भन्दै भारतले सुरक्षा निगरानी बढाएको थियो । ब्यास गाउँपालिका क्षेत्रमा महाकाली नदीमाथि लगाइएका तुइनहरूमा भारतीय सुरक्षा निकायले निगरानी बढाएको बुझिएको कार्कीले बताउनुभयो । छाङरु र भारतको गरब्याङ गाउँ जोड्ने सीतापुल नाकामा पनि जनगणनाको समयमा पहिलेको भन्दा तेब्बर सुरक्षाकर्मी परिचालन गरेको पाइएको उहाँको भनाइ छ ।

छाङरु र तिंकरमा जनगणना गर्नका लागि भारतीय सडक भएर जान जिल्ला प्रशासन कार्यालयले गत २६ कात्तिकमा भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिलसँग अनुमति मागेको थियो । तर भारतीय प्रशासनले अनुमति नदिँदा जनगणना प्रभावित हुन सक्ने भन्दै जनगणना कार्यालयले स्वदेशबाटै जनगणना टोली पठाएको थियो । अतिक्रमित भूमि बाहेक सबै क्षेत्रको जनगणना सम्पन्न भइसकेको भएपनि विशेष कारणवश गणनामा सहभागी हुन कोही छुटेको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सकिने विभागले जनाएको छ । मंसिर मसान्तसम्ममा सबै जिल्लाबाट जनगणनासहितको विवरण भरिएको प्रश्नावली केन्द्रमा पठाइनेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?