दार्चुला । चिसो ह्वात्तै बढेको छ भने दार्चुला सहित देशका हिमाली क्षेत्रमा हिमपातको उच्च सम्भावना छ । देशको पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम, प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि भारी हिमपातको सम्भावना रहेको छ। त्यस्तै, मंगलवार राती देशभर आँशिक बदली रहने छ।
नेपालको पूर्वी भूभागमा ब़ंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा चिसो बढ्ने क्रम जारी रहेकाले सोही अनुसार सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन पर्ने महाशाखाको भनाइ छ ।
दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ र अपिहिमालको समेत उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमाली क्षेत्रमा चिसो ह्वात्तै बढेकोले जनजीवन कष्टकर बनेको स्थानीयहरुले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया