दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो । लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत पाएका राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी हुनु भएको छ । महामन्त्रीमा उम्मेदवार दिएकी अभिनेत्री रेखा थापा भने पराजित हुनु भएको छ । बिहान सकिएको मत गणनामा अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको प्यानलमा रहेकी थापा शाहीसँग पराजित हुनु भएको हो । शाही कमल थापा पक्षकी हुनुहुन्छ । राप्रपाको निर्वाचन आयोगका अनुसार कुन्ती शाहीले २ हजार ८ मत ल्याउनु भएको छ भने रेखा थापाले १६ सय ४० मत पाउनु भएको छ ।

राप्रपाका कमल थापाले चुनावमा आफू पराजित भएको स्वीकार गर्नु भएको छ । आइतवार बिहान सकिएको मतगणनामा प्रतिस्पर्धी राजेन्द्र लिङ्देन अध्यक्षमा चुनिएसँगै उहाँले हार स्वीकार गर्नु भएको हो । सामाजिक सञ्जालमार्फत थापाले हार स्वीकार गर्दै लिङ्देनलाई बधाई तथा शुभकामना दिनु भएको छ । उहाँले लेख्नु भएको छः ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया