दार्चुला । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या समेट्ने तयारी गरेको छ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्न नसके पनि वैकल्पिक विधि प्रयोग गरी जनगणना गर्न लागिएको हो । विभागले जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी अहिले तयारी गरिरहेको हो । उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो ।
स्याटलाइटको माध्यमबाट उक्त क्षेत्रको घर गणना गर्ने र प्रतिघरमा औसत रूपमा बस्ने व्यक्तिको सङ्ख्या निकालेर उक्त क्षेत्रको जनगणना गर्ने योजना विभागले बनाएको विभागका उपमहानिर्देश डा. हेमराज रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार, गणकले मूल गणनाका समयमा सो क्षेत्रमा पुगेर विवरण सङ्कलन गर्न नसके पनि वैकल्पिक विधिबाट जनगणना गर्न लागिएको हो ।
विभागले जनगणनाका क्रममा कूटनीतिक रूपमा विभाग र जिल्लाबाट समेत स्थलगत रूपमै जनगणना गर्ने प्रयास गरे पनि सो स्थानमा जान नसकिएकाले अब स्थानीयवासीसँगको सहकार्यमा प्रविधि प्रयोग गरेर तथ्याङ्क सङ्कलन गरिनेछ । विभागका अनुसार उक्त क्षेत्रको कुटी, नाभी र गुञ्जी क्षेत्रमा मात्रै मानिसको बसोवास गर्दै आएका छन् । करिब तीन सय घरधुरी रहेको उक्त क्षेत्रमा सात/आठ सय जनसङ्ख्या रहेको अनुमान छ ।
चिसो मौसम दैनिक बढ्दै गएको र सो क्षेत्रका स्थानीय लेकबाट जाडो छल्न बेँसी झर्ने गरिएकाले दार्चुलाको छाङरु र तिङ्करका स्थानीयवासीसँग प्रत्यक्ष रूपमा सम्पर्क समेत गर्न सहज हुने रेग्मीले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया