अब लिपुलेक शुरुङमार्ग बहसको बिषय बन्नु पर्छ

प्रधानमन्त्रीलाई खुलापत्र

श्री सम्माननीय प्रधानमंत्री शेर बहादुर देउवा ज्यु!
नेपाल सरकार तथा प्रधानमन्त्रीको सचिवालय सिंह दरबार काठमाण्डौ!

बिषय:- लिपुलेक शुरुंग मार्ग निर्माण सम्बन्धि पत्र!

नमस्कार, म राजेन्द्र कुँवर दार्चुलाको अतिक्रमित भुमि ब्यास गाउपालिका स्थित हुति ६ को बासिन्दा हाल काठमाण्डौ तिनकुने बाट जिल्लाको उत्तरी भेग तिंकर भन्सारको बिषयमा स्मरण गराउन चाहन्छु। हजारौ वर्ष देखि नेपाल-तिब्बत सिमानामा रहेका स्थानीयलबासी बीच चल्दै आएको पारम्परिक ब्यापार व्यवशाय धरापमा पर्ने अवस्था रहेको छ १ लामो समय देखि अध्यागमन सुचारुका लागि स्थानीयले नेपाल सरकार संग पटक पटक अनुरोध गर्दा पनि भन्सार नाका खुल्ला नगरीदिदा म लगायत सम्पुर्ण दार्चुलेली जनता लाइ ब्यापारका साथै आवागमनमा समेत समस्या भएको अवगत गराउन चाहन्छु। कैयौ पटक भन्सार नाका खोलिदिन अनुरोध गर्दै व्यासका जनता दार्चुला बाट सिंह दरबार पुगेकै हुन् तर पटक पटक हजारौ किमि सकसपूर्ण यात्रा गरेर माइतिघर मण्डलामा आन्दोलन गर्न सक्दैनन् र ल्याकत पनि छैन। उसो त् २०४७ साल ताका चुनावको प्रचार गर्न ब्यास क्षेत्रमा पुग्नु भएकैले पनि यहाको बारेमा थोरबहुत जानकार नहुने कुरा भएन। समय समयमा लिपुलेक, लिम्पिप्याधुरा र कालापानीको बिषयमा चर्चा हुदा मात्रै दार्चुलाको नाम देश-बिदेशमा रहेका नेपाली सबैको जिब्रोमा झुण्डिरहनछ। सामाजिक संजाल देखि मुलधारका सबै समाचारमा बहस हुनेगर्छ तर यस क्षेत्रको बिकाशको बिषयमा बहस भएको भने कमै सुनेको मेरो तितो अनुभव छ।

प्रधानमन्त्री ज्यु, समय परिवर्तनशिल छ समय संगै मान्छेका इच्छा र आकांक्षा बढ्दैजानु प्राकृतिक नियम हो र यो कसैले चाहेर पनि रोक्न सक्दैन त्यसैले बिकासका लागि बहस गर्नु पर्छ भन्ने म एक सच्चा नेपाली नागरिकको हैसियत बिनम्र अनुरोध गर्दछु। हामि युवा संग भएका सम्भावित गुरु योजनाले दार्चुलाले मात्रै नभएर सिंगो देशले मुहार फेर्न सक्छ जसमा सरकारले हस्ताक्षर मात्रै गरिदिए पुग्छ तब मात्रै दार्चुलेली जनताले एक स्वाभिमानी नेपालि नागरिक भएको महशुस गर्न सक्ने छ। प्रधानमंत्री ज्यु, कुरो लिपुलेक शुरुंग मार्गको हो! शुरुंगमार्ग झट्ट सुन्दा अपत्यारिलो, असहज लागे पनि भुगोल र त्यहाको वास्तविक तथ्य लाइ गहिरिएर बुझ्ने प्रयास गरेमा सजिलो, सहज र भरपर्दो देखिन्छ। काठमाण्डु बाट १००० किलोमिटरको दुरीमा रहेको तिंकर गाउ बाट चीनको स्वायक्त क्षेत्र तिब्बतको पुरांग स्थित ताक्लाकोट करिब ३५ किल्लोमिटर टाढा छ, हजारौ वर्ष देखि ब्यापार-व्यवशाय नेपाल स्थित व्यासका ब्यासी शौका समुदायले तिब्बतीय नागरिक संग सामान साटासाट अथवा पारम्परिक ब्यापार व्यवसाय गर्दैआएका छन्। आज भन्दा १२ वर्ष अगाडि म यो क्षेत्रमा ३ पटक सम्म ओहोरदोहर गरेको छु १ खास गरि त्यो बेला स्थानीय शौका समुदायको वृतचित्र ( कुंचा) बनाएको थिए । छ महिना दार्चुला सदरमुकाम र छ महिना ब्यास बस्ने शौका समुदायको आफ्नै भेषभुषा र परम्परा छ। समय थियो बैशाख महिनाको तर हिउ भने झरिरहेकै थियो । वृतचित्र बनाउने क्रममा लिपुलेक तर्फ जादै गर्दा छ्यालेक भन्दा १ किलोमिटर पर रहेको डोङ्गगाङ्ग हुदै माथि टाटा उक्लिन भने निकै समस्या भयो, दुइ पाइला अगाडि सार्दा एक पाहिला पछाडि सर्ने समस्या जाने जो कोहीलाई हुन्छ, त्यहा बाट २२ किलोमिटर हिउमा पैदल यात्राको कठिनाइ जसले भोगेको छ उसले मनमनै ५३०० मिटर उचाई छिचोल्न नसकेर कि फर्किने योजना बनाउछ नभए हिमालको फेदमा सानो प्वाल भए आधि घण्टामै ताक्लाकोट पुग्ने केटाकेटीको जस्तो सोच अवश्य राख्छ होला।

त्यहा बाट काठमाण्डू फर्किए पछि बिभिन्न मिडियामा फरक बिषय बस्तुका सामाचार संकलन गरे! काम गर्ने क्रममा काठमाण्डौका लागि तराइ बाट हुने आपूर्ति र यातायातका लागि १०१ वर्ष अगाडी चन्द्र शमशेरले देशकै पहिलो हेटौडा-अमलेखगंज शुरुंग मार्ग निर्माण गर्न लगाएका थिए। बिस १९८० को दशकमा बनेको उक्त शुरुंग मार्ग बिस २०१६ सम्म मालबाहक गाडि आवतजावत गर्थे लगायत खिम्ती र कालिगण्डकी क्रमस ७ र ९ किमि बनेका छन् त्यसो: मेलम्ची खानेपानी २७ किमि सबै भन्दा लामो शुरुंग आदि।

प्रधानमन्त्री ज्यु! पछिल्लो समय देशमा भैरहेको बिकाश र बन्दै गरेका शुरुंग मार्गको समाचार संकलनको क्रममा १२ वर्ष अगाडि लिपुलेकको हिउले ढाकिएको अप्ठ्यारो बाटोमा उक्लिदाको स्मरण भयो! म स्वयम् पनि दार्चुला ब्यास गापाको नागरिक भएकोले यसमा बढिनै घोतलिए। यदि राज्यले उपल्लो व्यासमा रहेको अन्तिम गाउ टिंकर नजिकै रहेको उक्त क्षेत्रमा शुरुंगमार्गको रेखाचित्र कोर्न सके करोडौको आमदानी गर्न सक्ने सम्भावना जीवित रहेको हुदा अबका दिनमा लिपुलेक शुरुङ्गमार्गको बहस अपरिहार्य छ। शुरुङ्गमार्गले २२ किमि हिमाली बाटो उक्लिन झनजट र हिउमा परि दुर्घटना मुक्त हुनुका साथै आधा घण्टामै नेपाल स्थित छ्यालेक बाट ताक्लाकोट पुग्न सकिन्छ। त्यतिमात्रै नभएर १ अर्व २० करोड हिन्दुहरुको धार्मिक स्थल कैलाश मानसरोवर पुग्न दार्चुला सदरमुकाम बाट सजिलो हुनुका साथै राज्यको आमदानी ह्वातै बढ्ने कुरामा दुइ मत छैन। जुन दार्चुला सदरमुकाम बाट कैलाश मानसरोवर पुग्न १०० किमि भन्दा पनि कम हुन्छ। वर्षै पिच्छे धार्मिक पैर्यटकहरु मार्फत मात्रै राज्यले अर्वौ रुपया मुनाफा कमाउन सक्छ, भने चिन बाट नेपाल हुदै भारत निर्यात हुने सामानको कर बाट नेपालले महिनैपिच्छे करोड, भारतले अर्बौ र चीनले खरबौ रुपया आमदानी गर्न सक्छ। ब्यवापार-व्यवशायमा लगानी गर्नेले मुनाफा कमाउछ भन्ने अर्थको नियम सबैले स्विकार्नु पर्छ।

भारत चीनको एसियामै सबै भन्दा ठुलो बजार हो उसको लगभग ८० प्रतिशत बजार भारतले नै धानेको छ तसर्थ चीनले पनि बैकल्पिक बाटो रोजेको छ। नेपाल १४०० किमि भूगोल चिनसंग सिमा जोडिएकोले भारतको राजधानी दिल्ली जोड्न सबै भन्दा नजिक जम्मा ८५० किमि मात्रै दुरी छ, अबको तीन वर्ष भरिमा चीनले तिब्बतको पुराङ्गस्थित ताक्लाकोट सम्म रेल पुर्याइसक्ने छ जसका लागि सरकार रेलमार्गको काम दुर्तागर्तिमा गरिरहेको छ। पछिल्लो समय सन् २०१५ मा बिबादित क्षेत्र लिपुपास लाइ यी दुवै देशले व्यापारिक नाकाको रुपमा हस्ताक्षर गर्नुको कारण पनि छोटो व्यवशायिक मार्ग बनाउने नै थियो तर पछि नेपाल आफ्नो भूमि भएको दाबि गरेपछि चिन पछाडि हटेको थियो। भारतमा सामान निर्यात गर्दा चीनले समुद्रको बाटो बाट निर्यात गर्दा लामो र खर्चिलो हुने भएकैले पनि दिल्ली सम्म पुग्न सजिलो र छोटो बाटो रोजेको प्रस्ट हुन्छ। नेपाल, भारत र चिन बिचको व्यवशायिक, राजनीतिक, सामाजिक र आर्थिक बिकासका लागि शुरुङ्गमार्ग कोशेढुङ्गा साबित हुनेछ। त्यति मात्रै नभर तिनै छिमेकी मुलुक बिचको भावनात्मक सम्बन्ध पनि शुरुङ्गमार्गले थप मजबुत बनाउने छ।

नेपाल एक सार्वभौम मुलुक भएकोले यहाको कला, संसकृति र सभ्यता लाइ अन्तरास्ट्रिय स्थरमा चिनाउन राज्यले हरेक दृष्टिकोण बाट फड्को मार्नु पर्छ। तराइ पहाड र हिमालको बनावटले दुइ शक्तिशाली रास्ट भारत र चिन संग टासिएर बसेको नेपाल ले तुलनात्मक निकै कम बिकास गरेको छ, वास्तवमा एसियामै आर्थिक क्राती तर्फ अगाडि बढेको मुलुकको माझमा रहेर उनीहरुको मात्रै बिकास कहिले सम्म टुलुटुलु हेरेर बस्ने रु छिमेकी मुलुक बाट राज्यले केहि कुरा सिक्नु पर्छ कि पर्दैन भन्ने प्रश्न पुरानो भैसकेको छ । चिन-भारत दुवै रास्ट्र संगको अन्तरसम्बन्ध थप मजबुत बनाउदै आगामी दिनमा बिकासका लागि पनि खुलारुपले सहकार्य गर्नु पर्छ। चिन संगको नेपालको सम्बन्ध आधिकारिक रुपमा ६६ वर्ष भएको भए पनि लिच्छिबिकालिन समय देखिको रहेको पाइन्छ अझ १५ सय वर्ष पुरानो सम्बन्ध रहेको इतिहासमा उल्लेख गरिएको छ। सुदूरपश्चिम प्रदेशको दार्चुलाको टिंकर नेपाल-चिन जोड्ने सबै भन्दा छोटो दुरीमा रहेको नाका को रुपमा चिनिन्छ! जिल्ला सदरमुकाम बाट १३० किमि दुरीमा रहेको कैलाश मानसरोवर नेपाल तिब्बत व्यापारिक केन्द्र ताक्लाकोट र रेशमामार्ग एसिया हुदै मध्यपुर्बी जोड्ने केन्द्रको रुपमा बिकशित गर्न सकिन्छ। हाल सदरमुकामबाट सुन्सेरा सम्म कच्ची सडक मार्ग बनिसकेको अवस्था छ। यो दुरी भनेको जम्मा ४० किमि हो र नेपाली सेनाले सडकखंड बनाइरहेको छ, अब को ४ वर्ष भित्र बाकि ४० किमि सडक-खण्ड सम्भवत: तिंकर सम्म खुलिसक्ने छ। चिन सगको भौगोलिक दुरी अबको चार वर्ष भित्रै तिंकर नजिकैको डोङ्गगाङ्ग लाइ अन्तरास्ट्रिय व्यापारिक केंन्द्रको रुपमा स्थापित गर्न सहज हुने भएकाले जिल्ला बाट प्रतिनिधि गर्ने प्रतिनिधिहरु, स्थानिय नेता र बौद्धिक व्यक्ति लगायत सुदूरपश्चिम सरकारले पहल गर्नु आवश्यकता देखिन्छ! चिन संगको नेपालको सम्बन्ध र उ संगको मित्रता आफैमा अत्यनतै महत्वपुर्ण रणनितिक छ जुन इतिहासले समेत स्थापित गरोसकेको छ। चिन संसारकै आर्थिक उदाउदो शक्ति हो, पूर्णरुपमा राजनीतिक स्थायित्व र आर्थिक अनुशाशित भएकै कारण मध्यपूर्वी सम्म रेशम मार्ग बिछ्याउने काम समेत थालिसकेको छ! सन् २०१५ को भारत-चिन बिच भएको व्यापारिक नाका लिपू पास बिबाद रहित भए पछि अब तिंकर स्थित लिपुलेक शुरुङ्ग मार्ग निर्माण गरि छ्यालेक-गागामा सुख्खा बन्दरगाह सहितको शुरुङ्ग मार्ग धारणा आउनु आजको आवश्यकता भैसकेको छ।

शुरुङ्ग मार्गका फाइदा:-
चिनले संघाईबाट भारतको कलकत्ता बनादरगाह सम्म करिव १० हजार किमि समुद्री दुरी तय गरेर सामान निर्यात गर्दछ। कलकत्ता बनादरगाह बाट राजाधान दिल्ली थप १५ सय किमि दुरी रहेको हुदा दुवै देश व्यापारिक बाटो छोटो बनाउने धुनमा सन् २०१५ मा लिपुपास लाइ व्यापारिक नाका घोषणा गर्न हतार गरेको प्रस्ट हुन्छ जुन पछि नेपालले बिरोध जनाए पछि चिन पछाडि सरेको हो। चीनको ताक्लाकोट बाट दिल्ली ८ सय ५० किमि दुरी रहेको छ। भारत विश्वमै चीनको सबै भन्दा ठुलो बजार हो! गएको वर्ष २०२० मा चिनले भारतमा लगभग ५९ खर्व नेपाली रुपया बराबरको सामान निर्यात गरेको बिबिसीको एक तथ्यांक छ। लिपुलेक शुरुंग मार्ग हुदै उक्त चिनिया सामान भारत निर्यात गर्न सकियो भने राज्यले प्रति महिना अर्बौ रुपया कर बाटै राजस्व उठाउन सक्छ।

कैलाश मानसरोवर पुग्न सदरमुकाम बाट १३५ किमि दुरी बाट घटेर ९० किमि दुरीको बाटो हुने जसले गर्दा आम मान्छे थोरै रकममा चीनको ताक्लाकोट पुग्न सक्छन। नेपाल-भारत लगायत विश्वमा रहेका हिन्दुहरुको संख्या १ अर्व २० करोड छ, सम्पुर्ण हिन्दुहरुको आस्थाको केन्द्र कैलाश मानसरोवर पुग्न छोटो दुरी सजिलो र भरपर्दो हुने हुने भएकाले वर्षेनी एक प्रतिशत मात्रै हिन्दु धर्मवालाम्बी यो बाटो भएर गए भने मात्रै पनि राज्यले प्रसस्त आमदानी गर्न सक्छ।

राजधानी नजिकै रहेर पनि बिकट गाउहरु बनेपा, धुलिखेल, मेलम्ची बजार जस्ता स-साना गाउहरु पछिलो दशकहरुमा तातोपानी नाका सुचारु भएपछी त्यहाको चहल पहलले गर्दा ब्यापारिक र पैर्यटकिय शहर बनिसकेका छन्। तिब्बत बाट आउने मालबाहक गाडि र उक्त सडक खण्डमा रहेका साना बस्ति भन्सारकै कारण फेरिकेका छन् । त्यसैले शुरुङ्गमार्गमा हुने आवागमनले सुदुरका जिल्लाहरु दार्चुला, बैतडी, डडेलधुराहरु नया शहरको रुपमा स्थापित हुनुका साथै त्यहाको जीवन स्तरमै परिवर्तन ल्याउनेछ।

सिमानामा हुने अबैध ब्यवापार रोकिनुका साथै चिन-नेपाल सीमामा चौबिसै घण्टा सुरक्षाकर्मी तैनाथ रहने हुदा सिमा सुरक्षा बलियो हुनका साथै भरपर्दो समेत हुनेछ।

चीनले हाल समुद्री बाटो भएर भारतमा सामान निर्यात गर्छ यसो गर्दा दिल्ली पुग्न निकै समय लाग्छ त्यो झन्झट बाट मुक्त हुन् दार्चुला स्थित नाका प्रयोग गर्न चाहेको हुदा सम्भावनाको ढोका खोल्न ढकढक्याउदा मात्रै पनि खुल्ने सम्भावना छ।

जिल्लाको ब्याश क्षेत्रमा पाइने बिभिन्न प्रकारका जडिबुटिको बजार सहजै तिब्बत वा भारतको बजारमा खपत हुनेछ।

 शुरुङ्ग मार्ग संगै नेपालमा थुप्रै सम्भावना बढेर जाने छन् जस्तै रोजगारी, स्थानीय स्थरमा पाइने फलफुल, तरकारी, अन्नबालि निर्यात गर्दा आत्मनिर्भर हुन् कृषकलाई आत्मा बिश्वाश बढ्नुका साथै प्रोत्साहित हुनेछन।

शुरुङ्ग मार्गले सुदुर पश्चिममा रहेका बिभिन्न धार्मिक र प्राकृतिक पैर्यटकिय स्थलहरुको केन्द्र बनाउंन ठुलो मदत पुग्नेछ। सुदुर पश्चिमको कला संसकृति देउडा र स्थानीय शौका समुदायको रंग नृत्यको प्रचार प्रसार हुनुका साथै अन्तरास्ट्रिय स्थरमा पहिचान समेत पाउनेछ।

प्रधानमन्त्री ज्यु, तपाइँ यो भुगोल संग साक्षात्कार हुनुहुन्छ भन्ने लेखिरहनु पर्दैन! तपाइको कार्यकालमा लिपुलेक शुरुङ्गमार्गको अवधारणा ले निरन्तरता पाउने हो भने तपाईको नाम इतिहासमै स्वर्णीम अक्षरले लेखिनेछ र सम्पुर्ण नेपालि जनताको मनमा बस्न सफल हुनुहुने बिश्वास समेत गरेको छु! शुरुङ्ग मार्गको लागि चिन सहमति हुनसक्ने प्रसस्त आधार मध्ये केहि बुदा उल्लेख गरिएको छन।

 शुरुङ्ग मार्गको लागि चिन सरकारले सहमति जनाउन सक्ने निकै ठुलो सम्भावना छ किनकि उ आफैमा एक ठुलो ब्यापार खोज्दै हिड्ने देश हो ब्यवापार-व्यवशायको नीतिले आज विश्वमा आफ्नो छुट्टै पहिचान बनाइसकेको छ। ताक्लाकोट बाट सिगात्से जोड्ने रेशम मार्ग नजिक छ, अझ दिल्ली बाट यो क्षेत्र ८ सय ५० किमि मात्रै दुरी हुनुका साथै झन्झटमुक्त छ त्यसैलाई आधार मानि भारत-चिन बिचको लिपुपास लाइ व्यापारिक नाकाको रुपमा सम्झौता गरेको पुष्टि हुन्छ। पछि नेपालले आफ्नो जमिन भएको दाबि गरेपछि चिन पछाडि सरेको थियो।

लिपुपास (भारतले अतिक्रमण गरेको नेपालको तर बिबादित जमिन) भएकोले आज उप्रान्त चिन उक्त बाटो प्रयोग गर्न आनाकानी गर्न सक्ने बरु नेपाली बाटो भएरै आफ्नो सामान भारत निर्यातको लागि पहल गर्न सक्छ। किनकि नेपाललाइ चिन र भारत दुवै देशले (बार) सुरक्षा रेखाको रुपमा बुझेका छन्।

 लिपुपासको उचाइ ५००० मिटर उचाइ रहेको छ भने लिपुलेकको ५३०० मिटर उचाइको छ १ उचाइ लगभग उस्तै भएकैले ३ महिना थप हिउ पर्दा आवागमनको लागि असहज हुने तर ब्याश स्थित लिपुलेक तर्फ शुरुङ्ग मार्ग निर्माण गर्दा सिजनको सम्पुर्ण समय चिन बाट सामान निर्यात गर्न र आवागमनको लागि सजिलो हुने भएकोले सहकार्य गर्न सक्ने अत्यधिक सम्भावना देखिन्छ।

शुरुङ्ग मार्ग हुदै सामान आयात(निर्यात गर्दा महिने पिच्छे नेपाललाई करोडौ को मुनाफा हुनेछ! नेपाल-भारत बिचको ब्यापार ब्यवाशायाले भारतलाई अर्बौको फायदा हुनेछ भने चिन लाइ खर्बौ रुपयाको मुनाफा हुने निश्चित छ! त्यसैले दुवै रास्ट्र चिन-भारत उक्त परियोजना सहजै स्विकार्न सक्छन।

तिन्करको छ्यालेक बाट तिब्बतको ज्युज्यु खोला पुग्न २२ किमि को दुरी तय गर्न १२ घण्टा भन्दा बढि लाग्छ भने शुरुन्गा मार्गले आधा घन्टामै ताक्लाकोट पुर्याउन मदत गर्ने छ।

तातोपानी भन्सार बाट पछिलो वर्ष नेपाल भित्रिने सामान बाट १ अर्व ५० करोड रुपया राजस्व संकलन भएको थियो! चिन बाट भारत निर्यात हुने समान ८० प्रतिशतको हाराहारीमा छ जुन समुद्री बाटो भएर दिल्ली सम्म पुर्याउदा उसलाई ढुवानीमा अत्यधिक खर्च भार हुन्छ! त्यहि समान चीनलाई ताक्लाकोट बाट शुरुङ्ग मार्ग हुदै दिल्ली पुर्याउअदा निकै कम खर्च हुनेछ! ठुलो मात्रामा नेपाल हुदै चाइनिज समान निर्यात गर्दा प्रति महिना करोडौ डलर राजस्व स्वरुप राज्यले आमदानी गर्नेछ यो अबधारणा नेपालको लागि ठुलो मात्रामा आमदानीको माध्यम हुनेछ।

प्रधानमन्त्री ज्यु! केहि साता अगाडि नागढुङ्गा-नौबिसे शुरुङ्ग मार्ग आयोजना कार्यालय ज्वागल, ललितपुरमा आयोजना प्रमुख लाइ भेटेको थिए त्यति बेला उनलाई तिंकर स्थित भूगोलको फेहरस्ती बताउदा उत्साहित मुद्रामा देखिएका थिए। नागढुङ्गा-नौबिसे शुरुङ्गमार्गका वरिष्ठ इन्जिनियर तथा आयोजनाका प्रमुख नरेश मान शाक्य साढे ४ किमि देखि ५ किमि लम्बाई लिपुलेक शुरुङ्गमार्ग लाइ पूर्णरुपले बनाउदा सुख्खा बन्दरगाह बाहेक लाग्ने हालको अनुमानित बजेट लगभग १५ अर्ब ७५ करोड देखि १७ अर्ब रुपया सम्म खर्च हुनसक्ने बताउछन। उनका अनुसार लिपुलेक क्षेत्र हिमाली क्षेत्र भएकोले त्यहा शुरुङ्गमार्ग निर्माण कार्य नागढुंगा-नौबिसे शुरुङ्गमार्ग भन्दा सजिलो हुनेछ। रक चट्टान भएको ठाउमा अहिले प्रति दिनकै १२ मिटर शुरुङ्ग खन्न सकिएको बताउछन भने कहिले काही सफ्ट रक भेटिन्छ त्यसो हुदा दुइ दिनमा आधा मिटर मात्रै खन्न सकिएको अनुभव सुनाउछन। लिपुलेक शुरुङ्गमार्ग साढे ४ किमि देखि ५ किमि लम्बाई हुनेछ भने यसको चौडाइ साढे ९ मिटर र १८ मिटर उचाइ हुनेछ १ शुरुङ्गमार्गको मुख चिन तर्फ पुरांगको ताल्क्लाकोट स्थित ज्युज्यु खोलामा हुनेछ भने नेपाल तर्फ बाट छयालेक संगै जोडिएको भाग डोङ्गगाङ्गमा रहने छ ।

शाक्यका अनुसार नागढुंगा-नौबिसे शुरुङ्गमार्ग नेपालीको लागि नया भएकोले यो सिकाइको बिषय समेत रहेको बताउछन, त्यतिमात्रै नभएर भविष्यमा निर्माण गरिने शुरुङ्गमार्ग निर्माणको लागि दक्ष इन्जिनियर उत्पादन भैसकेकाले अब देशमा बिकाशका लागी हुने कुनै पनि प्रकारको यस्ता शुरुङ्गमार्ग सजिलै बनाउन सक्ने बताउछन! नागढुंगा-नौबिसे शुरुंग मार्गमा स्थानीय ७ सय जनाले रोजगारी पाइरहेकोले लिपुलेक शुरुङ्गमार्ग निर्माणकार्य शुरु हुने बितिकै हजारौ स्थानीय युवाले रोजगारी पाउनुका साथै त्यहाको जीवन स्थरनै परिवर्तन हुनेछ। लिपुलेक शुरुङ्गमार्गको अबधारणा निकै आकर्षण छ किन भने यो त्रोदेशिया नाका भएकै कारण चीनले भारत निर्यात गर्ने सामान बाट मात्रै उठ्ने कर बाट देश सम्पन्न हुने निश्चित छ! उसो त् अरबौको संख्यामा रहेका नेपाल-भारतका हिन्दु धर्मावालामिको आस्थाको केन्द्र कैलाशमान सरोवर पुग्न सजिलो समेत हुने हुदा धार्मिक पर्यटनका लागि प्रमुख स्थलमार्ग बन्ने कुरामा दुइ मत छैन। त्यति मात्रै नभई अपिहिमाल आरोहण गर्न चाहनेहरुको पनि घुइचो लाग्नुका साथै अपि-नाम्पा संरक्षण क्षेत्रको सम्बर्धन समेत हुनेछ। त्यति मात्रै नभएर निकट भविष्यमा समय सापेक्ष यसै शुरुङ्ग मार्ग बाट रेल सेवा बिस्तार गर्न समेत सकिने आंकलन गर्न सकिन्छ! यो देशमा यस्ता यस्तै भिजन र एजेण्डा अनुसार काम कार्यान्वयन हुने हो भने नेपाल संसारकै धनि र सम्पन्न देश हुन् लामो समय कुर्नु पर्दैन।

यदि शुरुंग मार्ग निर्माण कार्य साच्चै सम्पन्न हुने हो भने बिकासको सुर्योदय सुदूरपश्चिमको दार्चुला बाट हुनेछ र पहिलो किरण सुदूरपश्चिम बस्तिहरुमा झुल्किनेछ। भोगाइ र अनुभवले धारणा बनाउछ, धारणाले कल्पना बिकसित गर्छ र अन्तिममा त्यहि कल्पनाले एउटा आकार पाउछ। असम्भव केहि हुदैन केवल प्रयाश गर्न इच्छाशक्तिको आवश्यकता पर्छ। एक युवा भएको नाताले सबैले केहि नया सोच्नु पर्दछ! यसले नेपाल भारत र चिन बिचको सम्बन्ध थप प्रगाढ हुनुका साथै सुदुर पश्चिम प्रदेश लगायत देशका नया पुस्ता सस्तो, सजिलो र तरिकाले ब्यवापार-व्यवशाय गरि आत्मसम्मान सहितको जीवन बाच्न पाउनेछन। जनताको प्रतक्ष जीवन संग जोडिएका यस्ता बिषयहरुलाई प्रोत्साहन गर्न देशका सम्बन्धित विज्ञहरु, नागरिक समाज, राजनीतिकर्मीले यस्ता कार्य संसथागत गर्न पहल गर्नुका साथै राज्यले चिन सरकार संग व्यापारिक नाकाका रुपमा सम्झौता गर्ने माहोल बनाउन वर्तमान समयमा अपरिहार्य देखिन्छ।
प्रधानमन्त्री ज्युको जो आदेश!

पत्रबाहक:-
राजेन्द्र कुँवर
ब्यास गाउपालिका-६ हुति
दार्चुला, सुदुरपश्चिम प्रदेश!

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?