दार्चुला । नेपाली काँग्रेसकोे १४ औं महाधिवेशन भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ ।
संस्थापन पक्षले उम्मेदवारबारे छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार आफ्नो समूहको बैठक राखेको थियो भने संस्थापन इतर पक्षले बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड र दिउँसो ठमेलस्थित नेता प्रकाशमान सिंहको निवासमा बैठक राखेको थियो । तर, संस्थापन र इतर दुवैतर्फको बैठक उम्मेदवारबारे कुनै टुंगो नै नलगाई बिनानिष्कर्ष सकिएको हो ।
संस्थापन समूहको बैठकमा सभापतिले पार्टीका लागि पदाधिकारी बन्न चाहनेहरूको राय लिएका थिए भने इतर पक्षको बैठकमा सभापतिका उम्मेदवारमा दाबी गर्दै आएका नेतात्रय रामचन्द्र पौडले, प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच सहमति खोज्ने प्रयास भएको थियो ।
संस्थापन पक्षको बैठकले भने पदाधिकारी र सदस्य बन्न चाहने उम्मेदवारको राय लिएपछि आवश्यक छलफल र निर्णय गरी नाम सिफारिस गर्ने अधिकार सातै प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूलाई जिम्मा दिएको छ ।
यो समूहबाट सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला आकांक्षी रहनुभएको छ । यद्यपि सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले यसअघि नै बताइसक्नुभएको छ । यस्तै वरिष्ठ नेता पौडेलले पनि सहमतिका लागि त्याग गर्न तयार रहेको नेता गुरु घिमिरेले बताउनुभयो । तर, सिंह र कोइरालाले दाबी नछोडेपछि साझा उम्मेदवार छान्न चार दिनको प्रयासले सार्थकता पाउन सकेको छैन ।
नेता घिमिरेका अनुसार नेताहरुबीच आज बिहान बानेश्वरमा छलफल हुनेछ । आज सभापतिका आकांक्षीबाहेकका केन्द्रीय सदस्यबीच छलफल हुने उहाँले बताउनुभयो । बैठकले उम्मेदवार बन्ने विषयमा निर्णय गरेर सुझाव दिने बताउनुभयो । आकांक्षीहरु बाहेकको छलफल गरेर विकल्पसहितको धारणा पेस गरेपछि सहमति जुट्ने विश्वास रहेको घिमिरेको भनाइ छ ।
१४औँ महाविधेशनका लागि कांग्रेसले महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आज बिहीबार अवधारणापत्र सार्वजनिक गर्नुहुने भएको छ । नेता थापाले आज दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा समुन्नत नेपालः सम्मानित नेपाली’ संकल्पसहितको अवधारणापत्र सार्वजनिक गर्न लागेको उहाँको सचिवालयले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया