दार्चुला । दार्चुलामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ सङ्क्रमणको जोखिम बढेकाले उच्च सतर्कता अपनाइने भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीको अध्यक्षतामा बसेको कोभिड व्यवस्थापन समिति दार्चुलाको बैठकले खोप कार्यक्रमलाई निरन्तरता दिने र सवारी साधन, विद्यालय लगायत सार्वजनिक स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने/गराउने निर्णय गरेको हो ।
अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत तिव्र गतिमा फैलिरहेकोले दार्चुलामा पनि उच्च जोखिम हुनसक्ने भन्दै पुर्वसताकर्ता अपनाउन सबैमा अनुरोध गरिएको छ । आउदो पुस महिनाको पहिलो सातादेखि १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गरि मोडर्ना खोप लगाइने भएकाले जिल्लास्थित सबै स्थानीय तहले आ-आफनो क्षेत्रमा जानकारी गराउने तथा शिक्षा विकास तथा समन्वय एकाई कार्यालयले आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ । नेपाल-भारत सीमानाका खलंगा पुलघाटमा खोप लगाउने कार्यक्रमलाई निरन्तरता दिने र खलंगाबाहेकका सीमा नाकास्थित झोलुङ्घे पुलहरुबाट भित्रिने नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउन प्रेरित गर्न सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।
दार्चुलामा हालसम्म कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । अहिले कुनैपनि स्थानीय तहमा सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कोरोनाबारे सचेतना फैलाउन जिल्लास्थित एफ.एम. रेडियोहरुलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ । कोरोनाविरुद्धको खोप लगाए/नलगाएको विषयमा संयुक्त अनुगमन गर्ने, जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्ने र खोप कार्यक्रमलाई निरन्तरता दिदै कोभिड-१९ विरुद्ध नेपाल प्रहरी, स्थानीय तहहरु, शैक्षिक संस्थाहरु तथा सञ्चारमाध्यमहरुले सचेतना फैलाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
कोभिड व्यवस्थापन समितिले गरेका निर्णयहरु हेर्नुहोस

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया