दार्चुलाबाट जनगणनाको फाराम केन्द्रमा पुर्याइयो, देशभरीमै बढी खर्च भएको अनुमान

दार्चुला । यही कार्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन भएको १२ औं राष्ट्रिय जनगणनाको फाराम दार्चुलाबाट केन्द्रीय तथ्यांक विभागको गोदाममा पुर्याइएको छ । संकलित फारामलाई ललितपुरको कुपण्डोलस्थित विभागको गोदाममा सिलसिलेवार मिलाएर राखिएको तथ्यांक कार्यालय दार्चुलाका सूचना अधिकारी जनकसिंह बोहराले रेडियो लोकदर्पणलाई जानकारी दिनुभयो । जनगणना दुइ चरणमा सम्पन्न भएको थियो । संकलित फाराममा पहिलो चरणमा लिइएको ‘घर तथा घरपरिवार सूचिकरण’ फाराम र दोस्रो चरणको ‘मुख्य प्रश्नावली’ फाराम रहेका छन् ।

विभागका अनुसार दार्चुलामा जनगणना गर्ने क्रममा छाङरु र तिकंरबाट जनगणना टोलीलाई हेलिकोप्टरमार्फत ल्याउनुपरेको र भुगोलका हिसाबले टाढा तथा विकट भएकोले देशभरीमै सबैभन्दा महगों गणना दार्चुलाको हुनसक्ने अनुमान गरिएको छ । छाङरु र तिकंरको जनगणनाका लागि भारतले बाटो नदिएपछि सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर जोखिमपूर्ण बाटो भएर व्यास गाउँपालिका वडा नम्बर १ पुगेका थिए । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराको नाबी, कुटी, गुञ्जी गाउँमा भने नेपालको प्रशासनिक निकायको उपस्थिति नभएको र भारतीय फौज तैनाथ रहेकोले जनगणनाका लागि जान सकिएन । उक्त टोलीलाई व्यासबाट फिर्ता ल्याउन उद्धार केन्द्र सुर्खेतबाट हेलिकोप्टर आएको थियो । नेपाली सेनाको हेलिकोप्टर सुर्खेतबाट व्यास, व्यासबाट खलंगा र खलंगाबाट सुर्खेतसम्म जानुपरेकोले दार्चुलामा जनगणनाको खर्च बढी हुने विभागका अधिकारीहरुले बताएका छन् । विभागका अधिकारीहरुले दार्चुलाबाट गएको टोलीलाई जोखिम मोलेर भएपनि जनगणना गर्न सफल भएको भन्दै धन्यबाद ज्ञापन गरेको सूचना अधिकारी बोहराले बताउनुभयो ।

No description available.

‘मुख्य प्रश्नावलीमा ठूलो बुक र सानो बुक रहेका छन्,’ गोदाममा खटिएका तथ्यांक सहायक अशोक न्यौपानेका अनुसार प्रत्येक बुकलाई गन्ती गरेर बुझ्ने र त्यसलाई वडागत रूपमा अलग अलग राख्ने काम भइरहेको छ । आज शुक्रबार दिउँसोसम्म दार्चुलासहित २८ जिल्लाबाट फाराम तथा विवरण संकलन भएको विभागले जनाएको छ ।

देशभर एकैसाथ सम्पन्न जनगणना तथ्यांक राजधानी काठमाडौंस्थित तथ्यांक विभागको गोदाममा संकलन गर्ने काम चलिरहेको छ । मंसिरभित्र सबैतिरको फाराम संकलन भइसक्ने र पुस पहिलो साता समीक्षा गर्ने विभागले जनाएको छ । लगत प्रशोधन कार्य थापाथलीस्थित विभाग परिसरमै गरिने छ । उक्त भवन व्यवस्थित भएसँगै ४ सयजना लगत प्रविष्टिकर्ता (डाटा इन्ट्री अपरेटर) र २ सयजना कोडर (कोडिङ गर्ने) कर्मचारी करारमा लिइने छन् । विभागको कार्यतालिका अनुसार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा तीन महिनाभित्र प्रकाशन हुनेछ ।

आर्थिक वर्ष २०७९/८० मा जनगणनाबाट संकलित तथ्यांक प्रविष्टि कार्य गर्ने, सम्पन्न जनगणनाको जाँच सर्वेक्षण गर्ने र २ देखि ३ महिनाभित्र प्राम्भिक नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको विभागले जनाएको छ । सम्पूर्ण नतिजा सार्वजनिक गर्न र विषयगत प्रतिवेदन (जनसंख्या मोनोग्राफ) तयारी तथा प्रकाशन कार्य भने वर्ष दिनभन्दा बढी लाग्नसक्ने छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?