दार्चुला । फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रम अन्तर्गत दार्चुलामा हालसम्म ८४ हजार बढीको नाम दर्ता भएको छ । हालसम्म ८४ हजार बढी नागरिकले आफ्नो नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदिपसिह धामीले जानकारी दिनुभयो ।
२०७४ सालको निर्वाचनमा दार्चुलामा ७८ हजार ५१५ मतदाता रहेकोमा चार बर्षको अवधिमा ६ हजार बढी मतदाता बढेको पाइएको छ । निर्वाचन कार्यालय दार्चुलाका प्रमुख धामीका अनुसार विसं २०७७ पुस ५ सम्म मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या दार्चुला जिल्लाभरी ८३ हजार १९४ पुगेको थियो । त्यसपछि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत नयाँ मतदाताहरुले नाम दर्ता गराएका छन् । हाल पालिकास्तरमा सञ्चालन भइरहेको विशेष कार्यक्रमअन्तर्गत चार पालिकामा ७९१ जना मतदाता थप भएका छन् ।
मतदाता नामावली दर्ता अभियान अन्तरगत पहिलो चरणमा शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको छ । यहि मंसिर १७ देखि २६ सम्म सञ्चालन भएको अभियान अन्तरगत शैल्यशिखर नगरपालिकामा ३२६ जना, लेकम गाउँपालिकामा ३१५ जना, व्यास गाउँपालिकामा १०३ जना र अपिहिमाल गाउँपालिकामा ४७ जनाले गरी कुल ७९१ नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । धेरै युवायुवतीहरु नागरिकता प्रमाणपत्र नबनाएको कारणबाट पालिकामा नाम दर्ता गराउनबाट बञ्चित भएका छन् ।
यस्तै यहि मंसिर २९ गतेदेखि पुष ९ गतेसम्म दुहु, नौगाड, मार्मा र मालिकार्जुन गाउँपालिकामा मतदाता नामावलीमा नाम दर्ता अभियान सञ्चालन हुने निर्वाचन कार्यालय प्रमुख धामीले बताउनुभयो । निर्वाचन आयोगले अगामी निर्वाचनलाई लक्षित गरी देशभरिका स्थानीय तहका केन्द्रमा फोटोसहितको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गरिरहेको हो । आफ्नो मताधिकार सुनिश्चित गर्न छुट भएका सबै नागरिकलाई नामावलीमा नाम दर्ता गराउन अनुरोध गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया