लेकममा चार बर्षमा ६१ किलोमिटर सडक निर्माण, सबै सडकमा स्तरोन्नती गर्नुपर्ने आवश्यकता

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले चार बर्षको अवधिमा ६१ किलोमिटर बढी सडकको ट्रर्याक खुलाएको छ । लेकम गाउँपालिका भित्रका १२ सडकखण्डमा ६१.५ किलोमिटर सडकको ट्रर्याक खुलाइएको इन्जिनियर केशबबहादुर पालले जानकारी दिनुभयो । लेकम गाउँपालिकामा चार बर्ष पहिलेसम्म कुनैपनि वडालाई सडकमार्गले छोएको थिएन् । गाउँपालिकामा जनप्रतिनिधिहरु आइसकेपछि सडक र विद्युतलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो ।

सडक निर्माण अन्तरगत गोकुलेश्वर–लाली सडकखण्डमा मात्रै २० किलोमिटर ट्रर्याक खुलाइएको छ । लेकमको वडा नम्बर ६, ५, ४ र ३ लाई जोड्ने कुल २८ किलोमिटर लम्बाइ रहेको गोकुलेश्वर लाली सडकखण्डलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको छ । अहिले उक्त सडकको त्रिशुली क्षेत्रमा काम भइरहेको छ । अझैपनि लेकमको वडा नम्बर २ र ३ मा यातायातको पहुँच पुगेको छैन् । वडा नम्बर १ सर्मोलीमा पर्ने चोचेबगड–बडिपुर सडकमा ८ किलोमिटर ट्रर्याक खुलाइएको छ । यस्तै बडीपुर दुर्काडा सडकमा १.५ किलोमिटर ट्रर्याक खुलाइएको छ । अहिले खिर्रा डोबिगाउँ हुनैनाथ सडकमा काम भइरहेको छ । वडा नम्बर २ मा ८ किलोमिटर दुरीको गराडी गिरथली रातामाटा सडक अन्तरगत लिसिनि भिरसम्म ६ किलोमिटर ट्रर्याक खुलाइएको छ । गराडीदेखि वडा नम्बर २ को कार्यालय जोड्ने २.५ किलोमिटर सडकखण्डमा १.५ किलोमिटर ट्रर्याक खुलाइएको छ । वडा नम्बर २ कै ५ किलोमिटर लम्बाइको धरमघर कुमलकाडा भाटाइजर सडकमा ३.५ किलोमिटर ट्रर्याक खुलाइएको छ ।

वडा नम्बर ३ मा रतौडा लाली सडकखण्डमा ५ किलोमिटर ट्रर्याक खुलाइएको छ । वडा नम्बर ३ र ४ मा पर्ने २२ किलोमिटर लम्बाइको वडिगाउँ पौतोली झलाती उकुमा लाली सडकमा १.५ किलोमिटर ट्रर्याक खुलाइएको इन्जिनियर पालले बताउनुभयो । वडा नम्बर ४ मा पर्ने टकना खरकडा सडकमा ६.५ किलोमिटर ट्रर्याक खुलाइएको छ । वडा नम्बर ५ मा १२ किलोमिटर लम्बाइको देवथली पिर्तोली अम्कुर गणेत सडकमा पिर्तोलीसम्म ४ किलोमिटर ट्रर्याक खुलाइएको छ । १२ किलोमिटर लम्बाइ रहेको वडा नम्बर ५ कै चौपाता गोगुना सडकमा ५ किलोमिटर ट्रर्याक खुलाइएको छ । वडा नम्बर ६ को अधिकासं गाउँलाई गोकुलेश्वर लाली सडकले जोडेको इन्जिनियर पालले बताउनुभयो । लेकम गाउँपालिकाले गाउँसभाबाट बजेट विनियोजन गरेर एक दर्जन बढी सडकखण्ड निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष परमानन्द जोशीले जानकारी दिनुभयो । सुदूरपश्चि प्रदेश र केन्द्र सरकारमार्फत ऐरीछाना धनथला सडक र महाकाली करिडोर निर्माणाधिन छन् । लेकमको मध्यभाग भएर जाने ऐरीछाना धनथला सडकलाई चौपातादेखि गाउँपालिका केन्द्र रातामाटा हुँदै धनथला र सर्मोली हुँदै धनथला जोड्ने गरी दुई खडकखण्डमा विभाजित गरेर काम भइरहेको अध्यक्ष जोशीले बताउनुभयो । महाकाली करिडोर अन्तरगत वडा नम्बर २ मा सडक निर्माणको काम भएको छ । उक्त करिडोर लेकमको वडा नम्बर ३ हुँदै दार्चुला सदरमुकाम खलंगासम्म जोड्ने लक्ष्य रहेको छ ।

लेकम गाउँपालिकाको कार्यालय रातामाटासम्म अझैपनि सडक विस्तार भइसकेको छैन् । गोकुलेश्वर लाली सडकखण्डलाई त्रिशुलीबाट रातामाटा पुर्याएर अगाडी बढाउने योजना रहेको गाउँपालिकाले जनाएको छ । त्रिशुलीबाट करिब ३ किलोमिटर सडक काट्ने बित्तिक्कै गाउँपालिका केन्द्रसम्म सडक विस्तार भइसक्ने उहाँको भनाई छ । विभिन्न सडकखण्डमार्फत लेकमको वडा नम्बर १, ४, ५ र ६ मा यातायातका साधनहरु पुग्ने गरेका छन् । ट्रर्याक खुलाइएका सबै सडकमा स्तरोन्नती गर्नुपर्ने आवश्यकता रहेको छ । हालसम्म लेकम गाउँपालिकाको कुनैपनि वडामा पक्की सडकको पहुँच पुगेको छैन् ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?