दार्चुला । स्थानीयले रोजगारी नपाएको गुनासो बढिरहे पनि दार्चुलाका विकास निर्माणका योजना र सदरमुकाम क्षेत्रका व्यक्तिगत काममा भने भारतीय कामदारको संख्या बढ्दो छ । स्थानीयस्तरमा दक्ष कामदार कम हुँदा मुख्य मिस्त्री र कामदारको रुपमा भारतीय श्रमिकले बढी काम पाएका हुन । तर रोजगारीको खोजीमा अधिकांश स्थानीय भने भारततिर जाने गरेका छन् ।
महाकाली नगरपालिका–३ मा नरेन्द्र बडूको घर निर्माणमा भारतीय कामदार लागिपरेका छन । स्थानीय कामदारले राम्रो ‘फिनिसिङ’ गर्न नसक्ने हुँदा भारतीय कामदार बोलाउनु परेको बडूले बताउनुभयो । ‘नेपाली कामदारले उनीहरूको तुलनामा दक्षता कम भएर होला कमै काम गर्न सक्छन । नेपाली राम्रो मिस्त्रीलाई काममा लगाउनुपर्दा पारिश्रमिक पनि बढी भन्छन्,’ उहाँले भन्नुभयो, महाकाली–४ खलंगामा विगत ३ वर्षदेखि भावना कम्प्लेक्स निर्माणाधीन अवस्थामा छ । उक्त भवनको अधिकांश निर्माण कार्यमा भारतीय श्रमिकले काम पाए । राम्रो ज्याला पाइएकोले घरमा प्लास्टर, रंगरोगन, फिनिसिङको काम भारतीय कामदारले गर्दै आएका छन । व्यवसायी राजेन्द्र बडूका अनुसार पिलर मिलान, छतको भराईलगायत काममा स्थानीयभन्दा भारतीय कामदारले राम्रो गर्छन ।
स्थानीय कामदार दक्ष नहुँदा जिल्लामा निर्माण भइरहेका विकासे आयोजनामा पनि भारतीय कामदार प्रयोग भइरहेका छन । कतिपय योजनामा कर्णाली प्रदेश तथा सुदूरपश्चिमकै तराईका जिल्लाबाट पनि कामदार आएर काम गरिरहेका छन । नेपाली कामदार रोजगारीका लागि विदेश जाँदै गर्दा यहाँ भने भारतबाट धेरै जनशक्ति भित्रिरहेको महाकाली–३ का अध्यक्ष पदमसिंह महराले बताउनुभयो । स्थानीय तहका योजनाभन्दा नेपाल सरकारबाट निर्मित विकास निर्माणका आयोजनामा प्रायजसो जिल्लाबाहिरका कामदारले मजदुरी गरिरहेका छन् । विगत ५ वर्षदेखि निर्माणाधीन ठूलो आयोजना महाकाली तटबन्धमा स्थानीय कामदारले मजदुरीमा इच्छा नदेखाएपछि जिल्ला बाहिरबाट कामदार खोजेर ल्याइएको निर्माण व्यवसायी दानसिंह तिंकरीले बताउनुभयो । उहाँका अनुसार आयोजनास्थल आसपासका त परै जाओस्, जिल्लाका कुनै पनि ठाउँका मानिसले मजदुरी गर्न मानेनन ।
स्थानीयस्तरमा मजदुरी गर्न लाज मान्ने प्रवृत्तिले अन्य जिल्ला वा सीमापारि भारतबाट कामदार खोजेर जिल्लामा ठूला विकास निर्माणका आयोजना निर्माण भइरहेको उहाँको भनाइ छ । स्थानीय कामदारले मन लगाएर काम नगर्ने हुँदा निर्माण कार्यमा प्रभाव पर्दा बाहिरबाट कामदार ल्याउनुपर्ने स्थिति रहेको निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्ष महेशसिंह धामीले बताउनुभयो । सडक, जलविद्युत्, सरकारी भवन, व्यक्तिगत घर, पुललगायत निर्माणमा अझै पनि कामदार अभावको समस्या झेलिरहेको निर्माण व्यवसायीहरू बताउछन् ।
नेपाली कामदारहरु भारत तथा तेस्रो मुलुकमा गएर सहजै मजदुरी गर्ने भएपनि आफ्नै जिल्लामा काम गर्न अपठेरो मान्ने गरेकोले पनि स्थानीय रोजगारी सिर्जना समेत हुन सकेको छैन भने कामजार अभावमा बाहिरबाट मानिसहरु काममा लगाउनुपर्ने बाध्यता रहेको धामीले बताउनुभयो । कान्तिपुरबाट मनोज बडूको समाचार ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया