दार्चुला । दार्चुलाको अधिकासं दुर्गम बस्तिहरूको सञ्चार सेवा घामको भरमा सञ्चालित छ । अपिहिमाल, मार्मा, लेकम, दुहु, नौगाड र व्यास गाउँपालिकाका धेरैजसो बस्तिहरूमा रातिको समय सञ्चारविहिन हुनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।

अपिहिमाल गाउँपालिकामा रातिको समयमा मोबाइल नेटवर्क नहुदा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन । सौर्य उर्जाको भरमा सञ्चालित खण्डेश्वरी स्थित नेपाल टेलिकमको टावरले घाम नलागेको दिन दिउँसो समेत प्रभावकारी ढंगले काम गर्दैन । दिनभरी घाम लागेपनि राति १०-११ बजेसम्म मात्रै टावरले काम गर्ने र त्यसपछि टावर जाने गरेको अपिहिमाल गाउँपालिका वडा नम्बर ४ का स्थानीय कमलेस मन्यालले बताउनुभयो । राति गएको टावर विहान घाम लागेपछि मात्रै अर्थात हिउदको महिनाहरूमा साढे ८ देखि ९ बजेतिर आउने गरेको छ । घाम नलागे दिनभरि र घाम लागेको दिन समेत मध्यराति र विहानको समयमा सञ्चारविहिन हुनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

मोबाइलमा इन्टरनेट डाटा भने पारिलो घाम लागेको दिउँसोको समयमा मात्रै चल्ने र विहान, बेलुकी र रातिको समयमा काम नगर्ने गरेको अपिहिमालका अर्का स्थानीय सुशील रोकायले बताउनुभयो । सञ्चार समस्या समाधान गर्नका लागि पटकपटक पहल गरेपनि केही हदसम्म समस्या समाधान भएको र विद्युत अभावका कारण अझैपनि समस्या पुर्ण रूपमा समाधान गर्न नसकिएको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो । पहिलेको तुलनामा भने सञ्चारमा सुधार आएको उहाँको भनाइ छ। टावरसम्म विद्युत लाइन विस्तार गर्न सके २४ सैँ घण्टा सञ्चार समस्या समाधान हुने अध्यक्ष मन्यालले बताउनुभयो । अन्य स्थानीय तहका दुर्गम बस्तिहरूमा पनि यस्तै समस्या ब्याप्त छ । भगौलिक विकटताका कारण एउटै स्थानीय तहमा दुईरतीन वटा टावर सञ्चालनमा भएपनि ठूलो भुगोल र जनसंख्या अझैपनि सञ्चारको पहुँच बाहिर रहेको छ ।

हालसम्म अपिहिमाल गाउँपालिकामा राष्ट्रिय प्रसारणको विद्युत लाइन विस्तार भएको छैन। अपिहिमालका अधिकांश घरधुरी विजुलीविहिन अवस्थामा छन । भएका केही लघुजलविद्युतहरूबाट सिमित घरधुरीमा मात्रै बिजुली बलेको छ । निर्माणाधीन लघुजलविद्युत निर्माणसम्पन्न गर्न र राष्ट्रिय प्रसारण लाइनको विद्युत गाउँपालिकाभरी विस्तार गर्न कामहरू भइरहेको गाउँपालिकाले जनाएको छ । अपिहिमालको वडा नम्बर ५ बाहेक सबै वडामा सडक नपुगेको कारण पनि अन्य विकासका पुर्वाधार निमार्णमा समेत अवरोध भइरहेको गाउँपालिका उपाध्यक्ष उर्मिला बोहराले बताउनुभयो । सडक नगुगेका कारण ढुवानी भाडा आकाशिएकाले महंगि समेत बढ्दै गएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?