दार्चुला । राष्ट्रिय योजना आयोगको टोली दार्चुलामा विकास निर्माण बारे सरोकारवालाहरुसंग छलफल गर्नुका साथै केही महत्तपूर्ण योजनाहरुको अनुमगन गरेर फर्किएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल र नेपाली काग्रेसका केन्द्रीय सदस्य नैनसिह महर लगायतको टोलीले महाकाली लोकमार्ग अन्तरगत निर्माणाधीन दार्चुला–तिङ्कर सडक खण्ड र महाकाली तटबन्धको स्थलगत अनुगमन गरेको कांग्रेश दार्चुलाका नेता हरक बिष्टले जानकारी दिनुभयो ।
कञ्चनपुरको ब्रह्मदेव देखि दार्चुलाको तिङ्करसम्म जोड्ने निर्माणाधीन लोकमार्ग अन्तरगत यो वर्ष बहुवर्षीय ठेक्का लगाउने गरी फाइल अर्थ मन्त्रालयमा पेश गरिएको छ । अहिलेसम्म भएको काम, बहुवर्षीय ठेक्का र अगामी योजना लगायतको बारेमा जानकारी लिन टोलीले स्थलगत निरीक्षण गरेको दार्चुला–तिङ्कर सडक योजना प्रमुख आयुतोषकुमार कर्णले जानकारी दिनुभयो । दार्चुला सदरमुकाम खलंगादेखि व्यास गाउँपालिकाको केन्द्र सुनसेरासम्मको ३४ किलोमिटर सडक खण्ड स्तरोन्नती गर्ने गरि फाइल मन्त्रालयमा पेश गरिएको योजना प्रमुख कर्णले बताउनुभयो ।
दार्चुला–तिङ्कर जोड्ने गरी निर्माण भइरहेको सडकमा विगतदेखि ढिलाई भएका कारण व्यास गाउँपालिका–२ कोठेधारदेखि ८७ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । महाकाली लोकमार्ग दार्चुला–तिङ्कर सडक खण्डमा लामो समयदेखि ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीको ठेक्का तोड्न सिफारिस गरिएको छ । सुन्सेरादेखि कोठेधारसम्मको ७ किलोमिटर सडक खण्डमा काम नगर्ने अमर सूर्य जेभीको ठेक्का तोड्न सिफारिस गरिएको सडक योजना प्रमुख कर्णले बताउनुभयो ।
२०७० सालदेखि ७ किलोमिटर सडक खण्डको ट्रयाक खुलाउन ६ पटक म्याद थप गरिदिदा पनि काम गर्न नसकेपछि निर्माण कम्पनीलाई कालोसूचीमा राख्न समेत सिफारिस गरिएको उहाँले बताउनुभयो । उक्त कम्पनीले निर्माणको जिम्मा पाएको ७ किलोमिटरमध्ये ३ किलोमिटर सडकको मात्रै ट्रर्याक खुलाएको सडक योजनाले जनाएको छ ।
यसैबिच राष्ट्रिय योजना आयोगको टोलीले दार्चुलामा सञ्चालन भएका योजना तथा आयोजनाहरुको बारेमा जनप्रतिनिधि, कर्मचारी र सुरक्षा अधिकारीसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार नेपाली कांग्रेशको पार्टी कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लामा निर्माणाधीन योजना, आयोजनाको बारेमा छलफल भएको नेताहरुले बताएका छन् । अन्तरक्रिया कार्यक्रममा दार्चुलाका जनप्रतिनिधिहरुले जिल्लाभरी विद्युतीकरण, दार्चुला तिङ्कर सडक लगायत अन्य महत्वपूर्ण सडकहरु, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन लगायतका विषयमा योजना बनाउन माग गरेका छन् । प्रदेशका ९ वटै जिल्लामा पुगेर योजनाको खाका बनाउने अभियान अन्तर्गत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल नेतृत्वको टोली दार्चुलामा सुझाब संकलन गरेर फर्किएको बताइएको छ । उक्त टोली आज बझांग पुगेको छ ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया