दार्चुला–तिङ्कर सडकमा सेनाले काम गर्दै, ७५ किमिमध्ये बल्ल ७५० मिटर ट्र्याक निर्माण

दार्चुला । महाकाली करिडोरअन्तर्गत दार्चुला–तिङ्कर सडकमा ७५० मिटर ट्र्याक खुलेको छ। सरकारले सेनालाई ७५ किमि ट्र्याक खोल्न जिम्मेवारी दिएकोमा गत मङ्सिर मसान्तसम्ममा चार मिटर चौडाइको सो सडक खुलाइएको हो। महाकाली नदी किनारैकिनार र केही भित्री भाग हुँदै निर्माण भएको सो सडकले स्थानीयवासीको जनजीवन सजिलो हुने अपेक्षा गरिएको छ।

सरकारले गत वर्ष वैशाख १४ गतेको मन्त्रिपरिषद् निर्णयानुसार कोठेघर–तिङ्कर सडक सेनालाई दिएको थियो। सुरुमा लम्बाइ ८७ किमि रहेकोमा सर्वेक्षणपछि ७५ किमिमात्रै भएको सेनाको विकास निर्माण निर्देशनालयका प्राविधिक सहायक रथी कमलविक्रम शाहले बताउनुभयो । सेनाले गत माघ २८ गते क्याम्प निर्माण गरेको थियो। दार्चुला सदरमुकाम खलङ्गाबाट ४० किमिमाथि सुनसरा र ६० किमिमाथि पर्ने दुम्लिङमा क्याम्प निर्माण भइसकेको निर्देशनालयले जनाएको छ। कोठेधारदेखि दुम्लिङसम्म पाँच ठाउँमा ‘कम्प्रेशर मेसिन’ प्रयोग गरी सडक खोल्ने काम भइरहेको प्राविधिक सहायक रथी शाहले बताउनुभयो । यी ठाउँमध्ये माल गाउँमा दुई, सक्नेरीमा एक, फुल्सिङमा एक र दुम्लिङमा एक रहेको छ। सडक रेखाङ्कन महाकाली नदीको किनारमा भएकाले अधिकांश स्थानमा ब्लाष्टिङ गर्दा ढुङ्गाको टुक्रा सीमापारि जानु समस्याका रुपमा रहेको उहाँले बताउनुभयो ।

कूटनीतिक रुपमा समन्वय गर्दा निर्माणअघि बढाउन सजिलो हुने उहाँको भनाइ छ। दार्चुला–तिङ्कर सडकमा पर्ने सुनसेरादेखि कोठेधार सात किमि सडक विभागबाट निर्माण भइरहेको थियो। सडक विभागले ठेक्कामार्फत ट्र्याक खुलाउन सुरु गरेकामा अहिलेसम्म तुसारपानीसम्म मात्रै ट्र्याक खोलिएको छ। तीन किमि ट्र्याक खोलिएकामा बाँकी चार किमि सडकको ट्र्याक खोल्न नेपाली सेनालाई नै दिँदा काम चाँडो गर्न सकिने प्राविधिक सहायक रथी शाहले बताउनुभयो । तुसारपानीबाट कोठेधारसम्मको खण्डमा ट्रयाक खोल्न बाँकी हुँदा सेनालाई आवश्यक सामग्री र बन्दोबस्तीका सामान ढुवानीमा गाह्रो भएको छ। उहाँले भन्नुभयो, ‘दार्चुला–टिङ्कर सडक भौगोलिक रुपमा विकट र कठिन भुवनोटका कारणले निर्माण सामग्रीको उपलब्धता र ढुवानी गर्न गाह्रो भएको छ।’

चालू आवमा सो योजनाको बजेट रु २२ करोड ५० लाख रहेको थियो। चालू आवमा नै दार्चुला व्यास गाउँपालिका–१ मा पर्ने छाङ्ग्रुमा एउटा क्याम्प स्थापना गर्ने लक्ष्य सेनाको रहेको छ। चालू आवभित्रै सात किम िनयाँ ट्र्याक खोल्ने लक्ष्य लिइएको छ। चार मिटर चौडाइको तीन किमि र ६ मिटर लम्बाइको चार किमि ट्र्याक खोल्ने लक्ष्य लिइएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले ब्रम्हदेवदेखि तिङ्करसम्म ४२५ किमि सडकमा ८७ किमि सेनालाई दिइएको बताउनुभयो । सेनाले काम गरिरहेकोबाहेक बाँकी खण्डमा विभागले ठेक्कामार्फत सडक निर्माण अघि बढाएको छ। विभागले निर्माण गरिरहेको सडक सेनालाई ८७ किमि काम गर्न पनि पहुँचमार्ग भएको र अहिलेसम्म त्यो नसकिँदा सेनालाई काममा बाधा पुगेको उहाँले बताउनुभयो । सेना आफैले ट्र्याक खोल्दा चाँडो हुने भएकाले अहिले ठेक्का तोडेर सेनालाई जिम्मेवारी दिन लागिएको छ। उहाँले भन्नुभयो, ‘मेरो टेबुलसम्म फाइल आइपुगेको छ, अब सेनालाई नै जिम्मेवारी दिने गरी निर्णय हुनेछ।’

सो सडक निर्माणका क्रममा बजेटको अभाव हुन नदिइने सचिव श्रेष्ठले बताउनुभयो । सडक सकेसम्म सरकारको योजनाअनुसार नै चौडाइ कायम गराउनुपर्नेमा उहाँको जोड छ। सडक विभागले कम्तीमा सात मिटर चौडाइ बनाएपछि सेनाले निर्माण गरिरहेका सडकमा चौडाइ कम रहेको पाइन्छ। सेनाले सडक निर्माण सकाएर गाडी गुड्न थालेपछि विस्तार यातायात अवरुद्ध गर्नुपर्ने हुँदा गार्‍हो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सेनाले नै ट्र्याक खोलेका ५९६ मिटर चौडाइमा अहिले विभागले सात मिटरमा विस्तार गरिरहेको छ।’ -रासस ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?