दार्चुला । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सात बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति दार्चुलाको बैठकले सिफारिस गरे अनुसार विहिबार राती १२ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय दार्चुलाले आदेश जारी गरेको हो ।
आदेश अनुसार सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला भएर कुनै किसिमका कार्यक्रम गर्न पाइने छैन् । यस्तै माघ ७ गतेपछि सार्वजनिक स्थानमा प्रवेश गर्दा र सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड साथमा राख्नुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयो । घर बाहिर निस्किदा र सार्वजनिक स्थानमा प्रवेश गर्दा अनिवार्य मास्कको प्रयोग गर्ने र जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने आदेशमा उल्लेख गरिएको छ ।
विवाह, ब्रतबन्ध, मृत्यु संस्कारजस्ता सामाजिक कार्य गर्दा २५ जना भन्दा बढी भेला हुन नपाइने प्रजिअ उपाध्यायले बताउनुभयो । सीमा क्षेत्रमा आवतजावत गर्दा खोप कार्ड र एन्टिजेन परीक्षण अनिवार्य गरिएको छ । भारत तथा नेपालका अन्य क्षेत्रबाट जिल्लामा प्रवेश गर्ने नागरिकहरुले सम्बन्धित तहको स्वास्थ्य शाखाको समन्वयमा होम क्वारेन्टाइनमा बस्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । प्रतेक स्थानीय तहमा कम्तिमा एउटा आइसोलेसन व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।
शिक्षा मन्त्रालयको निर्णय अनुसार दार्चुलामा पनि सबै स्थानीय तहले माघ १५ गतेसम्मका लागि विद्यालयहरु बन्द गरिएको छ । आदेशको उल्लंघन गरेमा कानुन अनुसार कारवाही गरिने प्रजिअ जोशीले बताउनुभयो ।
कोरोना सङ्क्रमण बढ्दै
दार्चुलामा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । खलंगा पूलघाटमा गरिएको एन्टिजेन परीक्षणमा भारतबाट आएका ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो ।
मंगलवारदेखि दैनिक रुपमा कोरोना सङ्क्रमित भेटिन थालेको उहाँले बताउनुभयो । जिल्लामा दर्जन बढी संक्रिय संक्रमित छन् । पछिल्लो समय भारतबाट आउनेहरुमा दिनहु जसो सङ्क्रमण देखिन थालेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया