दार्चुला । कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष जिम्मेवार बन्न नसकेको बताउनुभएको छ । दार्चुला सदरमुकाम खलंगामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नो दायित्व बिर्सेको धारणा राख्नुभयो । संसद अबरुद्ध भएका कारण कतिपय महत्तपूर्ण विधेयकहरु अगाडी बढ्न नसकेको र जनजीविकाका सवालहरु उठ्न नसकेको उहाँको भनाई छ ।
एमालेले उठाएको मुद्धा अदालतमा विचाराधिन छ, उहाँले भन्नुभयो, अदालतमा विचाराधिन मुद्दाहरुका विषयमा संसदमा छलफल हुन सक्दैन । दार्चुलाको विकासका लागि वर्तमान सरकारले विभिन्न योजनालाई प्राथमिकतामा राखेको मन्त्री बडूले बताउनुभयो ।
भारतले लिपुलेकमा बाटो अघि बढाएको सुन्नमा आयो
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा मानसरोवर जाने बाटो अघि बढाएको भन्ने कुरा बोलेको सुन्नमा आएको नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रतिक्रिया दिनुभएको छ । अतिक्रमित सीमा क्षेत्रमा भारतले धमाधम सडक निर्माण गरिरहदा समेत नेपाल सरकारका मन्त्री रहनुभएका बडूले उक्त विषयलाई नजरअन्दाज गरेर अभिब्याक्ति दिनुभएको हो ।
मोदीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले भारतलाई ध्यानाकर्षण गराएको मन्त्री बडूले बताउनुभयो । तर परराष्ट्र मन्त्रालयले मोदीको अभिव्याक्ति आएपछि अहिलेसम्म कुनै आधिकारीक प्रतिक्रिया समेत जनाएका छैनन । नेकपा एमाले र विवेकसिल साझा पार्टीले भने विज्ञप्ती निकालेर विरोध जनाएका छन् । मन्त्री बडूले भन्नुभयो, नरेन्द्र मोदी ज्यूले मानसरोवर जाने बाटो लिपुलेकमा बनाएको भन्ने सुनियो, यसमा मानसरोवर यात्राको प्रसङ्ग जोडिएको छ, प्रसङ्ग जे भएपनि त्यो हाम्रो भूमि हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित नेपाली भूमिबारे गत पुष १५ गते उत्तराखण्ड राज्यको नैनीताल जिल्लाको हल्द्वानी शहरमा आयोजित कार्यक्रममा पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिदै लिपुलेकमा सडक विस्तारको काम भइरहेको बताउनुभएको थियो । यस विषयमा नेपाल सरकारले हालसम्म आधिकारिक रुपमा कुनै धारणा सार्वजनिक गरेका छैन ।
नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्ति र नेपाल सरकार मौन रहेको बारे गम्भीर ध्यानाकर्षण भएको एमाले कांग्रेश र विवेकशील साझा पार्टीले जनाएको छ । आज एक विज्ञप्ति निकालेर विवेकशील साझाले ध्यानाकर्षण भएको जनाएको हो । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा त्यो नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ’, विज्ञप्तिमा भनिएको छ ।
केही दिन पहिले एमालेको विदेश मामिला प्रमुख राजन भट्टराइले सीमामा सडक निर्माण गर्ने भारतीय प्रधानमन्त्री मोदीको अभिव्याक्तिको विरोध गर्दै सरकारको ध्यानआकर्षण सहित ज्ञापनपत्र सार्वजनिक गर्नुभएको थियो । आज नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले लिपुलेकमा सडक निर्माण गरिरहेको सम्बन्धमा सरकारले भारतीय पक्षसँग कुरा गर्नुपर्ने बताउनु भएको छ । ज्ञवालीले भारतले नेपालको भूभागमा बलमिच्याइँ गरेको भन्दै देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुने बताउनु भएको छ । उहाँले भन्नुभयो– ‘देशको सीमाको बारेमा बोल्न सक्दैन, सार्वभौमिकताको विषयमा बोल्न सक्दैन भने त्यो सरकार, सरकार जस्तो रहँदैन । सरकारको वैधता त्यसै दिनबाट समाप्त हुन्छ । हामी चाहान्छौँ सरकारले दृढतापूर्वक यो विषयमा भारतीय पक्षसँग कुरा गरोस् । भारतले यो ढङ्गको बलमिच्याइँ पनि गर्नुहुँदैन । त्यो नेपालको भूभाग हो, त्यहाँ एकतर्फी ढङ्गले कुनै पनि संरचना बनाउन मिल्दैन । सरकारले सशक्त ढङ्गले नेपालको राष्ट्रियहितको पक्षमा आवाज उठाउनुपर्छ । कांग्रेश महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश सर्माले पनि विज्ञप्ती निकालेर विरोध जनाएका छन् ।
न्यायिक अन्तरक्रिया
गृहजिल्ला दार्चुला आएपछि मन्त्री बडूको प्रमुख आतिथ्यतामा दार्चुला सदरमुकाम खलंगास्थित भावना सभाहलमा पुस २७ गते निःशुल्क कानुनी सहायता सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । २८ गते न्यायीक समिति सम्बन्धि अभिमुखिकरण अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको मन्त्री बडूको सचिवालयले जनाएको छ । उक्त कार्यक्रममा न्यायिक समितिका पदाधिकारीसहित सरोकारवालाहरुको सहभागिता रहेको थियो । न्यायीक कार्यक्रम सम्पन्न भएपछि मन्त्री बडू राजनीतिक भेटघाटमा सहभागि हुनुभएको थियो ।

महाकाली करिडोर (लोकमार्ग) प्राथमिकतामा
दार्चुलाको विकासका लागि वर्तमान सरकारले विभिन्न योजनालाई प्राथमिकतामा राखेको मन्त्री बडूले बताउनुभयो । सरकारले महाकाली करिडोरलाई प्रमुख रुपमा हेरिरहेको छ, उहाँले भन्नुभयो, त्यसमा पनि दार्चुला तिकंर सडक महत्तपूर्ण हो । नेकपा सरकारले दार्चुला तिकंर सडकलाई करिडोरमा गाभिदिएपछि प्राथमिकता ओझेलमा परेको उहाँको भनाई छ । केहि दिन पहिले मात्रै महाकाली लोकमार्ग (करिडोर) को लागि तीन अर्ब ९७ करोड रुपियाँको फाइल स्वीकृत भएको मन्त्री बडूले बताउनुभयो ।
उक्त बजेटबाट बैतडी र डडेल्धुरामा नयाँ ट्र्याक खुलाउनुका साथै दार्चुलाको बेतबाट दक्षिणतर्फको १० किलोमिटर र खलंगादेखि हुतीसम्मको २० किलोमिटर सडक तीन बर्षभित्र कालोपत्रे गरिने मन्त्री बडूले बताउनुभयो । तिकंर सडकमा ठेकेदारले काममा ढिलासुस्ती गरेको कारण कामले गति लिन नसकेकोले तुसरपानीदेखी कोठेधारसम्मको चार किलोमिटर ठेक्का अबरुद्ध गरेर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।
जोलजिवि हुँदै लाली जोड्ने सडकको बाकु भिरमा लामो समयदेखि काम रोकिएको बताउदै उहाँले भिर फुटाउन ५०० केजि जिलेटिनको व्यवस्था गरिएको जानकारी दिनुभयो । ऐरिछाना रिठाचौपाता देखि सर्मोली हुँदै धनथला पुग्ने सडक प्रदेशमा गएपछि काम नभएकोले यो बर्ष संघीय सरकारले कार्यान्वयन गर्ने गरी तीन करोड बजेट विनियोजन गर्दै ठेक्का पक्रियामा गएको मन्त्री बडूले बताउनुभयो ।
मोटरेबल पुल महत्तपूर्ण
फरक प्रशंगमा बोल्दै मन्त्री बडूले दार्चुलामा निर्माण हुने नेपाल भारत जोड्ने मोटरेबलपुल व्यापारिक हिसाबले महत्वपूर्ण भएको बताउनुभएको छ । यस विषयमा भारतका विदेश मन्त्री आफैले विज्ञप्ती जारी गरेका छन्, उहाँले भन्नुभयो, भारतको केन्द्रिय सरकारले मोटरेबल पुल निर्माण खुला गरिसक्यो ।
दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको धार्चुला तहशिल अन्र्तगतको छारछुममा मोटरेबल पुल निर्माणका लागि भारतीय सरकारले अनुमति प्रदान गरेको छ । पहिलेको भन्दा केहि लामो बनाएर दुवैतर्फको सडकमै भएर पुल बनाइने मन्त्री बडूले बताउनुभयो ।
बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन
कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी प्रभावित क्षेत्र दुहुँको स्थलगत अवलोकन गर्नुभएको छ । मन्त्री बडूले दुहुँ गाउँपालिका–४ र ५ अन्तर्गतका नरोली, बत्थोली, गरमोरा लगायत क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको हो । गत भदौ १३ गते आएको बाढी तथा पहिरोले दुहुँमा ठूलो जनधनको क्षति गरेको थियो ।
क्षतिकै आधारमा सरकारले गत मंसिर महिनामा दुहुँ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र समेत घोषणा गरेको छ । बाढी पहिरोले निम्त्याएको भौतिक क्षतिलाई पुर्ननिर्माण, पुनःस्थापन गर्न र पीडितहरुलाई उचित राहतको व्यवस्था गर्न पहल थालिएको मन्त्री बडूले बताउनुभयो । घर जमिन पूर्ण रुपमा क्षति भएका परिवारलाई जमिन किन्नको लागि ३ लाख र घर निर्माण गर्नका लागि ५ लाख रुपैयाँ दिइने बताइएको छ ।
गोकुलेश्वरमा कांग्रेशको क्षेत्रीय कार्यालय उद्घाटन
दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा नेपाली कांग्रेशको क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । प्रदेश सभा क्षेत्र (ख) को पार्टी कार्यालय गोकुलेश्वरमा शुक्रबार उद्घाटन गरिएको नेबिसंघ दार्चुलाका सदस्य कृष्णसिह रावलले जानकारी दिनुभयो । प्रदेश क्षेत्र (ख) का कांग्रेश सभापति केशव बहादुर सिंहको अध्यक्षतामा सञ्चालित कार्यक्रममा कांग्रेश केन्द्रीय सदस्य एबं कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यता रहेको थियो ।
केहि दिन यता गृहजिल्ला भ्रमणमा रहनुभएका मन्त्री बडू शुक्रबार गोकुलेश्वरमा नेपाली कांग्रेशको क्षेत्रीय कार्यालय उद्घाटन गर्दै राजधानीतर्फ प्रस्थान गर्नुभएको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया