दार्चुलासहित सुदूरपश्चिममा माघी ‘नरहरी’ पर्वको रौनक

दार्चुला । दार्चुला, बैतडी सहित सुदूरपश्चिममा नरहरी पर्वको रौनकता छाएको छ । मकर सक्रान्तिलाई दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा नरहरी सक्रान्तिको रुपमा मनाउने गरिएको छ । पौष मसान्तको राती मिठोमसिनो खाने चलन रही आएको छ भने माघे सक्रान्तिको बिहानै नुवाईधुवाई गरेर कागलाई खानेकुरा दिने चलन रही आएको छ ।

सुदूरपश्चिममा नरहरी पर्वको समयमा चामलको रोटी (माडा, सेल, झुनमुने), पुरी लगायतका परिकार बनाएर खाने चलन छ । ती परिकारहरु माघे सक्रान्तिको बिहानै कागलाई समेत दिने चलन रही आएको लेकमका स्थानीय दुर्गादत्त जोशीले बताउनुभयो । शनिबार विहानैदेखि नुहाइधुवाइ गरेर काग बोलाउन थालिएको छ । कागलाई खबर आदानप्रदान गर्ने पंक्षिको रुपमा चिन्ने गरिएको छ ।

यसका साथै नरहरीको समयमा तरुल खाने चलन रही आएको छ भने विवाहित छोरीबैनीहरु माइत जाने चलन समेत रही आएको छ । नरहरीका लागि वन तरुल खन्ने कार्यमा स्थानीयहरु व्यस्त रहेका छन् । हिजो राती र आज दिउँसो मिठो मसिनो खाने चलन रही आएको स्थानीय संस्कृतिका जानकारहरु बताउछन् । आजदेखि नै माघस्नान गर्ने चलन समेत रही आएको छ ।

नरहरीको दिन गाउँका सबै भेला भएर खेलहरु खेल्ने, भलाकुसाली गर्ने र समुहमा रमाउने चलन समेत रहेको छ । आज दिनभरी बस्नका लागि आजकै दिन गाइबस्नुका लागि स्याउला सोत्तरको व्यवस्था गर्ने गरिएको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा माघी पर्व र नरहरीको अवसरमा थप एक दिन बिदा दिइएको छ । संघीय सरकारले माघ १ गते सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले माघ २ गते पनि माघीको अवसरमा बिदा दिएको हो ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण सुरु भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।

आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो।

तरुल पुसको अन्तिम दिनमा पकाएर राखेर माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाक्य, माघमा खाक्य’ भन्ने उखानका रुपमासमेत प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले माघे सङ्क्रान्ति र माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै कोभिड–१९ महामारीको वर्तमान अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आ–आफ्नो स्वास्थ्यको ख्याल गरी पर्व मनाउन सबैमा आह्वान पनि गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?