दार्चुला । नेकपा (एमाले) दार्चुलाका जिल्ला कमिटी अध्यक्ष प्रेमसिह धामी नेतृत्वको टोलीले मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित प्रशिद्ध धाम मालिकार्जुन मन्दिरको दर्शन गर्नुका साथै कार्यकर्ता भेटघाट गरेको छ । माघे संक्रान्ति अर्थात नरहरी पर्वको अवसरमा एमाले नेताहरुले मालिकार्जुन मन्दिरको दर्शन गरेका हुन् ।
मालिकार्जुन मन्दिरमा पुजा गरेर मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मड प्रेमनगरमा रहेको स्वर्गिय प्रेमसिह धामीको शालिकमा माल्यार्पण समेत गरिएको एमाले दार्चुलाका जिल्ला कमिटी सदस्य खेमराज जोशीले जानकारी दिनुभयो । भौतडीमा रहेको लटिनाथ मन्दिरमा समेत पुजा गरिएको उहाँले बताउनुभयो । मन्दीरको दर्शन गरेपछि मालिकार्जुनका विभिन्न टोलमा कार्यकर्ता भेटघाट गरिएको जोशीले बताउनुभयो । कालापानीको मुद्धा सदनमा उठाउने राष्ट्रबादी नेता स्व. प्रेमसिह धामी हुर्केको घरमा भेटघाट तथा अवलोकन गरेर मालिकार्जुनको घट्टस्थित नेता धामी जन्मेको घरमा पुग्ने कार्यक्रम रहेको नेकपा एमाले दार्चुलाका सचिव शेरसिंह धामीले बताउनुभयो ।

नेकपा एमाले दार्चुलाको आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिले सपथ ग्रहण गरेसंगै राजनीतिक भेटघाट र गतिविधि बढाउन थालेको छ । विहिबार महाकाली नगरपालिका वडा नम्बर ८ धौकोट पुगेको एमाले दार्चुलाको टोली शनिबार मालिकार्जुन पुगेको हो । नौँ वटै स्थानीय तहमा पुगेर कार्यकर्ता भेटघाट गर्ने र अगामी योजना तय गर्ने कार्यक्रम रहेको नेताहरुले बताएका छन् । नेकपा एमालेका पूराना नेता जयसिह बिष्टसंग भेटघाट गर्न एमाले दार्चुला जिल्ला कमिटीका नेताहरु धौकोट पुगेको नेता परमानन्द जोशीले जानकारी दिनुभयो । विष्टको स्वास्थ्य लाभको कामना र सम्मान गर्नका लागि टोली धौकोट पुगेको र यो अभियान जिल्लाभरी सञ्चालन हुने उहाँको भनाई छ ।
पहिलो जिल्ला कमिटी बैठकबाट जनताको माझमा जाने, विकास र परिवर्तनमा केन्द्रीत हुने र अगामी निर्वाचनमा सबै स्थानीय तह, प्रदेश र संघमा विजय हासिल गर्दै जनताको सेवाका माध्यमबाट सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्ने संकल्प गरिएको नेताहरुले बताएका छन् । नवनिर्वाचित जिल्ला कमिटीमा युवा नेताहरु आएपछि एमालेजन उत्साहित भएका छन् । एमाले दार्चुलाको अध्यक्षमा ३९ बर्षीय प्रेमसिंह धामी निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा चरनसिंह बुढाथोकी, सचिवमा शेरसिंह धामी, उपसचिवमा खडकसिह बडाल र चन्द्रा देबी कुवर लगायत ९० सदस्यिय जिल्ला कमिटी निर्वाचित भएको एमालेले जनाएको छ ।
यसअघि केन्द्रीय महाधिवेसन चितवनमा सम्पन्न गरिसकेको एमालेले जिल्ला र प्रदेश अधिवेसन गरिरहेको छ । सुदूरपश्चिम प्रदेशका बझाङ बाहेकका आठ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । कैलाली, कञ्चनपुर, अछाम र दार्चुलामा निर्वाचन प्रक्रियाबाट तथा डडेल्धुरा, बैतडी, डोटी र बाजुरामा सर्वसम्मत रुपले नेतृत्व चयन भएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ ।
जिल्ला अधिवेशन सम्पन्न भएसँगै ८ जिल्लाले नयाँ नेतृत्व पाएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले बताउनुभयो । दार्चुलामा प्रेमसिंह धामी, बैतडीमा सुरेन्द्र पाल, डडेल्धुरामा प्रकाश साउद, डोटीमा चक्र मल्ल र बाजुरामा कालीप्रसाद शाही,
कैलालीमा रतन थापा, कञ्चनपुरमा सुरेन्द्र विष्ट र अछाममा चन्द्र बोहरा जिल्ला अध्यक्ष निर्वाचित भएका छन् । बझाङमा भने मौसम खराबका कारण निर्वाचन हुन सकेको छैन ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया