दार्चुला । दार्चुला लगायत देशभर कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो केहि दिन यता दार्चुलामा सक्रिय संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । आज दिउँसोसम्मको तथ्यांक अनुसार दार्चुलामा ३५ जना संक्रिय संक्रमित छन् ।
स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख एबं जनस्वास्थ्य अधिकृत जयराज भट्टका अनुसार मंगलबार (आज) मात्रै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खलंगा पुलघाटमा तीन जना, जोलजिवि नाकामा दुई जना र गोकुलेश्वर अस्पतालमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार (हिजो) सम्म २९ जना सक्रिय संक्रमित रहेकोमा आज ६ जना थपिएसंगै दार्चुलामा सक्रिय कोरोना संक्रमितको संख्या ३५ पुगेको उहाँले बताउनुभयो ।
दार्चुलामा हालसम्म ७८ प्रतिषत १८ बर्ष माथिका नागरिकले पहिलो मात्रा कोरोना भाइरस विरुद्धको खोप पाएका छन् । छुट भएका नागरिक र बालबालिकालाई खोप लगाउने अभियान जारी छ । खलंगा पुलघाट, जिल्ला अस्पताल दार्चुला, गोकुलेश्वर अस्पताल र मालिकार्जुनको पस्तीमा खोप लगाइदैछ । खोप नपाएकाहरुको तथ्यांक संकलन गर्न स्थानीय तहहरुलाई अनुरोध गरिएको जनस्वास्थ्य अधिकृत भट्टले बताउनुभयो । बुस्टर डोज माग भएपनि अहिलेसम्म आइनपुगेको उहाँले बताउनुभयो ।
भारतबाट फर्किनेहरुमध्ये अधिकासंमा कोरोना संक्रमण पुष्टि भइरहेको बताइएको छ । भारतसँग सीमा जोडिएका दार्चुलाको पुलघाट र जौलजिवीमा अहिले कोरोना परीक्षणको व्यवस्था गरिएको छ । दत्तु र लाली सीमा पुलमा समेत आजदेखि कोरोना परीक्षण थालिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
यसैबिच कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सात बुँदे आदेश जारी गरेको छ । आदेश अनुसार सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला भएर कुनै किसिमका कार्यक्रम गर्न पाइने छैन् । यस्तै माघ ७ गतेपछि सार्वजनिक स्थानमा प्रवेश गर्दा र सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड साथमा राख्नुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । घर बाहिर निस्किदा र सार्वजनिक स्थानमा प्रवेश गर्दा अनिवार्य मास्कको प्रयोग गर्ने र जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने आदेशमा उल्लेख गरिएको छ ।
विवाह, ब्रतबन्ध, मृत्यु संस्कारजस्ता सामाजिक कार्य गर्दा २५ जना भन्दा बढी भेला हुन नपाइने प्रजिअ उपाध्यायले बताउनुभयो । सीमा क्षेत्रमा आवतजावत गर्दा खोप कार्ड र एन्टिजेन परीक्षण अनिवार्य गरिएको छ । भारत तथा नेपालका अन्य क्षेत्रबाट जिल्लामा प्रवेश गर्ने नागरिकहरुले सम्बन्धित तहको स्वास्थ्य शाखाको समन्वयमा होम क्वारेन्टाइनमा बस्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । प्रतेक स्थानीय तहमा कम्तिमा एउटा आइसोलेसन व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।
शिक्षा मन्त्रालयको निर्णय अनुसार दार्चुलामा पनि सबै स्थानीय तहले माघ १५ गतेसम्मका लागि विद्यालयहरु बन्द गरिएको छ । आदेशको उल्लंघन गरेमा कानुन अनुसार कारवाही गरिने प्रजिअ जोशीले बताउनुभयो ।
दार्चुलामा स्थानीय प्रशासनले सार्वजनिक स्थान र यातायातमा खोप कार्ड अनिवार्य हेर्न आदेश गरे पनि जिल्लामा २२ प्रतिषत नागरिकले कोरोनाविरुद्धको खोप पाएका छैनन । अधिकासं नागरिकले खोप पाइसकेको र खोप पाउन बाँकी नागरिकलाई समेत छिट्टै खोपको व्यवस्था गरिने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
सुदूरपश्चिममा ४८८ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा आज थप ४ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ५३६ जनाको कोरोना परीक्षण गर्दा ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो।
आज संक्रमण पुष्टि भएकामध्ये १०१ जना आजै भारतबाट आएका नागरिक हुन्। त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ५०, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४६ र जुलाघाटबाट फर्केका ५ जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिमका नाका भएर आज ९५५ नेपाली स्वदेश फर्केका छन्। भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने क्रम जारी छ। यस्तै सुदूरपश्चिम प्रदेशमा संक्रिय संक्रमितको संख्या झण्डै २२ सय पुगेको छ। २ हजार एक सय ९५ एक्टिभ केस रहेको निर्देशनालयले जनाएको छ।
एकै दिन १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर १० हजार दुई सय ५८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरेर २२ हजार आठ सय २८ जनाको नमूना परीक्षण गर्दा ४४ दशमलव ९३ प्रतिशत अर्थात् १० हजार दुई सय ५८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ६२ जना निको भएका छन् । योसहित कोरोना सङक्रमणमुक्त हुनेको संख्या आठ लाख १७ हजार पाँच सय ४७ जना पुगेको छ । यस्तै थप एक जना सहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय २४ जना पुगेको छ ।
अहिले नेपालमा ३९ हजार ४४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १३ हजार एक सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया