दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ र ५ मा खानेपानीको समस्या भएको छ । विगत चार दिनदेखि बजार क्षेत्रमा पानीको आपूर्ती बन्द भएपछि खानेपानीको हाहाकार भएको हो ।
सडक निर्माणका क्रममा मालबेला क्षेत्रमा खानेपानीको लाईन अवरुद्ध भएको भएपनि अहिलेसम्म मर्मत नगरिदा खानेपानी आपुर्ती बन्द भएको स्थानीय एबं नेकपा एमाले दार्चुलाका उपसचिव खडक बडालले जानकारी दिनुभयो । पाँच दिनदेखि धारामा खानेपानी नआएपछि होटल व्यवसायीका साथै आम उपभोक्ता समस्यामा परेका छन् । महाकाली नदीबाट बोकेर होटेलमा खानेपानीको व्यवस्थापन गर्नुपरेको होटल व्यवसायीहरुले गुनासो गरेका छन् । खलंगा बजारमा विगतदेखि नै खानेपानीको समस्या भोग्नुपरेको उपभोक्ताहरुको गुनासो छ । नगरबासीले खानेपानी माग गर्दै पटकपटक नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएर ध्यानकर्षण गराएपनि खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन् । धारामा पानी आएकै दिनहरुमा समेत आपूर्ती कम भएर खानेपानीको समस्या भोग्न बाध्य सेवाग्राहीहरु चार दिनसम्म एक थोपा पानी नआउदा झनै समस्यामा परेको अर्का स्थानीय खेमराज जोशीले बताउनुभयो ।
अवरुद्ध भएको चार दिन वितिसक्दा समेत खानेपानी सूचारु गर्न महाकाली नगरपालिका लगायत सरोकारवाला निकायहरुले ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा महाकाली नगरपालिकाकै गारखु मूलबाट खानेपानी ल्याएर वितरण गरिएको छ । बजार क्षेत्रमा मात्रै डेढ हजार घरधुरीले उक्त खानेपानी उपभोग गर्दै आएका छन् । हजारौँ मानिस खानेपानीबाट बञ्चित हुने अवस्था आएपछि शनिबार स्थानीयसहित नेकपा एमाले दार्चुलाको टोली खानेपानी अवरुद्ध भएको मालुबेला क्षेत्रमा पुगेर तत्काल खानेपानी सूचारु गर्न सरोकारवालाहरुको ध्यानआकर्षण गराइएको एमाले दार्चुलाका उपसचिव खडक बडालले बताउनुभयो । छिटै खानेपानी सूचारु गर्ने जवाफ प्राप्त भएको उहाँको भनाई छ ।
खानेपानी आयोजना निर्माण हुँदै
दार्चुला सदरमुकाम खलंगामा खानेपानी समस्याको दिर्घकालिन समाधानका लागि खलंगा खानेपानी तथा सरसफाइ आयोजना निर्माणको काम भइरहेको छ । महाकाली नगरपालिका–४ र ५ का प्रत्येक घरधुरीमा चौबिसै घण्टा खानेपानीको सुविधा पु¥याउने गरी आयोजना निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । आयोजना अन्तरगत खलंगामा दुई हजार २८६ खानेपानीका धारा निर्माण गर्ने योजना छ ।
एसियाली विकास बैंकको अनुदान र नगर विकास कोषको ऋण लगानीमा खलंगा खानेपानी तथा सरसफाइ आयोजना निर्माणको काम भइरहेको हो । आयोजना अन्तर्गत गल्फै, बिच बजार र बंगाबगड क्षेत्रमा धाराहरु निर्माण हुनेछन् । एक वर्षभित्रै खलंगाका बासिन्दालाई स्वच्छ खानेपानीको पहुँचमा पु¥याउने उद्देश्यले निर्माण कार्य तीव्र गतिमा भइरहेको आयोजना निर्माणमा प्राविधिक सहयोग गरिरहेको इ–टेक नेपालका कन्सट्रक्सन सुपरिभिजनल इन्जिनियर कुबेरबहादुर सिंहले जानकारी दिनुभयो ।
२९ करोड लागतमा सम्पन्न हुने आयोजना निर्माणका लागि एसियाली विकास बैंकले कुल लागतको ७० प्रतिशत व्यहोर्ने र २५ प्रतिशत नगर विकास कोषको ऋण लगानी तथा स्थानीय जनश्रमदान पाँच प्रतिशत रहने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया