दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ गराडी गिरथलीदेखि गाउँपालिका केन्द्र रातामाटा जोड्ने सडक निर्माण कार्य अलपत्र परेको छ । गिरथलीदेखि लिसिनि भिरसम्म सडक काटिएपनि लिसिनि भिरमा कडा चट्टनी भाग लागेपछि काम रोकिएको छ । वडा नम्बर २ देखि गाउँपालिकाको केन्द्र जोड्ने सडक महिनौँदेखि अलपत्र परेको भन्दै स्थानीय प्रकाश कार्कीले गुनासो गर्नुभयो । गतबर्ष २०७७/०७८ सालमा उक्त सडकमा २५ लाख बजेट विनियोजन भएको थियो ।
उक्त बजेटमध्ये सात/आठ सय मिटर चट्टानी भाग काटेका हौँ, सडक निर्माण उपभोक्ता समिति अध्यक्ष नारायन जोशीले भन्नुभयो, त्यसको भुक्तानी तीन लाख सत्री हजार मात्रै पायौँ । चट्टानी भाग काटेको भुक्तानी यति कम किन भनेर सोध्दा गाउँपालिकाको प्राविधिक शाखाबाट माटो र चट्टान काटेको मूल्यांकन एकैनासको हुने जवाफ प्राप्त भएको र कडा चट्टानी भागमा ठूलो घाटा लाग्न थालेपछि निर्माण कार्य अगाडी बढाउन नसकिएको उपभोक्ता समिति अध्यक्ष जोशीले बताउनुभयो ।
माटोको भाग र चट्टानी भागको भ्यालुसन (मूल्याकंन) फरक हुनुपर्नेमा गाउँपालिकाको प्राविधिक शाखाले एउटै राखेका छौँ भनेको छ, उहाँले भन्नुभयो, कडा चट्टानी भूभाग रहेको लिसिनि भिरमा सोहि बजेटमा काम गर्न सकिने अवस्था छैन । उपभोक्ता समितिले पाएको म्याद सकिदा समेत सडक निर्माण सम्पन्न हुन नसकेको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् । स्टमेटमा १०० घनमिटर जाली भरानको काम पनि भएकोले उक्त काम गर्न हिजै समितिको सम्झौता म्याद थप गर्न वडाबाट सिफारिस माग्ने निर्णय गरेको उपभोक्ता समितिले जनाएको छ । उक्त सडकमा गत बर्षकै १७ लाख बढी बजेट बाँकी रहेको छ । गिरथली रातामाटा सडकमा निर्माण कार्य ठप्प किन भन्ने प्रश्नमा उपभोक्ता समिति अध्यक्ष जोशीले भन्नुभयो, लिसिनि भिरमा उल्टो सडक लागेकोले उक्त बजेटमा काम गर्न सकिने अवस्था नरहेपछि रातामाटाबाट लिसिनितर्फ सडक काट्ने सोचाइ बनाएका छौँ । हिजो मात्रै उपभोक्ता समितिको म्याद थप गर्न सिफारिस माग्ने निर्णय गरेको बताउदै म्याद थप भएमा रातामाटाबाट निर्माणकार्य थाल्ने जानकारी दिनुभयो ।
रातामाटा जोड्ने सडक बगौरा पुगेको छ । बगौराबाट एक महिनामा रातामाटा सडक पुगिसक्ने पालिकाबाट जानकारी पाएका छौँ, उहाँले भन्नुभयो, समितिको म्याद थप भयो भने अगामी महिनादेखि रातामाटादेखि लिसिनितर्फ सडक काट्न सकिन्छ ।
बिरसिह कार्कीको अध्यक्षतामा उपभोक्ता समितिमार्फत निर्माणको जिम्मा पाएको गराडीदेखि लेकम गाउँपालिका वडा नम्बर २ को कार्यालय जोड्ने सडकमा समेत निर्माण कार्य रोकिएको छ । गत बर्ष ३५ लाख बजेट रहेको उक्त सडकमा समेत निर्माण कार्य पुरा हुन सकेको छैन । लेकमका अधिकासं निर्माणाधिन सडकहरुमा निर्माण कार्य ठप्प रहेको स्थानीयको गुनासो छ ।
स्थानीयहरुले सडक रोकिएपछि उपभोक्ता समिति र गाउँपालिकाप्रति गुनासो तथा आक्रोश व्यक्त गरिरहेका छन । उपभोक्ता समितिले भगौलिक कठिनाइका साथै गाउँपालिकाबाट उचित आर्थिक प्राविधिक मूल्यांकन नगरिदिदा निर्माण कार्य अगाडी बढाउन नसकेको जनाएको छ । माटो र चट्टनी दुबै भागको प्राविधिक मूल्यांकन एकैनासको गरिएपछि घाटा लागेको गराडी गिरथली उपभोक्ता समिति अध्यक्ष नारायण जोशीले बताउनुभयो ।
गतबर्षदेखि केन्द्रबाटै माटो र चट्टानी भागमा कटिङको मूल्यांकन एउटै राख्ने मापदण्ड लागु भएको लेकम गाउँपालिकामा कार्यरत प्राविधिक (ओभरसियर) दिपकसिंह धामीले जानकारी दिनुभयो । हामीले पालिकाबाट मूल्यांकन घटाएका हैनौँ, उहाँले भन्नुभयो, गत बर्षसम्म हार्ड, मिडियम, सप्ट भनेर फरकफरक मूल्यांकन हुन्थ्यो तर गतबर्षदेखि हार्ड, मिडियम, सप्ट भूभागमा एउटै मापदण्ड लागु भएपछि फरक भुक्तानी दिन नसकिएको धामीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया