दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका एक युवकको ज्यान गएको छ । शुक्रवार दिउसो नुहाउनका लागि नदीमा गएका दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय सुवास कुँवरको उद्धार गरी प्रहरीले अस्पताल भर्ना गरेपछि अस्पतालमै ज्यान गएको हो ।
उहाँको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताउनुभयो । उद्धार गरी जिल्ला अस्पताल भर्ना गरेपछि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । कुवँरको महाकाली नदीमा बगेपछि स्थानीयबासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो ।
महाकाली नगरपालिका वडा नम्बर ४ खलंगामा कोठा भाडामा लिएर बस्दै आएका कुवँरको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ । कम्प्युटर सिक्नका लागि कुँवर ब्यासबाट खलंगा आएको पारिवारिक स्रोतले जनाएको छ । खानेपानीका कारण कुवँरको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । खलंगामा १२ दिनदेखि खानेपानी अवरुद्ध छ । पानीकै अभावमा कतिपय होटल पशलहरु बन्द भइसकेका छन् । स्थानीयले समेत बोकेर खानेपानीको जोहो गरिरहेका छन् । खानेपानी काल बनेको भन्दै आफन्तहरु आक्रोशित बनेका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया