बैतडी । बैतडीबाट धनगढीका लागि हुने हवाई सेवा बन्द भएको छ । यात्रु नपाएपछि गएको एक महिना यता बैतडी –धनगढी उडान भएको छैन् । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो । तर पछिल्लो एक महिना यता यात्रुको अभावले हवाई सेवा बन्द भएको नागरिक उड्डयन कार्यालय, पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘ यात्रु भएमा उडान गर्ने भन्ने तयारी गरिरहेका छौं । तर यात्रु नहुँदा समस्या भएको छ ।’
१८ यात्रु क्षमताको समिट एयरको जहाजका लागि समेत यात्रु नहुँदा समस्या भएको छ । पछिल्लो समय मौसमको कारणले गर्दा ढिलो हुने र उडान नहुने चिन्ताले यात्रु नआउने गरेका हुन सक्ने भट्टले बताउनुभयो । दैनिक ५÷७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेको उहाँले बताउनुभयो । १४÷१५ जनासम्म पुगेपछि उडान सुचारु गर्न सकिने उहाँले बताउनुभयो ।
बैतडीदेखि धनगढीसम्मको हवाई भाडा ४ हजार १ सय रुपैयाँ छ । १७ मिनेटमा पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीयहरुले बताएका छन् । हवाई भाडा निकै महंगो भएको स्थानीयहरुको भनाई छ ।
यता समिट एयरका बैतडी पाटन विमानस्थल हेर्ने कृष्ण भट्ट भने यात्रु अभाव नभई मौसम खराबीले उडान हुन नसकेको दाबी गरेका छन् । मौसम खराबी कारणले उडान भर्न नसकेको उहाँको भनाई छ ।
शुरुमा ३ हजार ८ सय ५० रुपैयाँ भाडा भएपनि इन्धनको मूल्य बढेपछि भाडा बढेको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया