दार्चुला। प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहिद भएकाहरुको सत्य–तथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिनु भएको छ ।
आज शहिद दिवसको अवसरमा लैनचौरमा आयोजना भएको एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिक आन्दोलनमा शहिद भएकाहरुको सत्य–तथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताउनु भएको हो ।
शहिद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा शहीद सम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको बताउदै उहाँले सो विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिनु भएको छ ।
उहाँले शहिदको योगदानलाई चिरस्थायी बनाउन सरकारले शहिदका परिवारलाई सहयोग गर्ने तथा शहिदहरुको बारेमा युवा पुस्तालाई जागरुक बनाउनु पर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले शहिदहरुले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेको भन्दै शहिदहरुको परिकल्पना अनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी,अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनु पर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री देउवाले अब देशको गन्तव्य आर्थिक रुपान्तरण र सुशासन भएकोले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै र लोकतन्त्र संघीय शासन व्यवस्थालाई बलियो बनाएर मुलुकलाई चाँडै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रुपान्तरण गर्नुपर्ने बताउनु भयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया